१० जेठ, गुल्मी । गुल्मीमा नेवार समुदायका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको नेवारी मौलिक बाजा तालिमले स्थानीय समुदायमा सांस्कृतिक उत्साह थपेको छ ।
परम्परागत कला, संस्कृति तथा बाजागाजाको संरक्षण गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा नेवार समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा नेवा खलःको अगुवाइमा तालिम १५ दिनसम्म सञ्चालन गरिएको थियो । तालिममा सहभागीहरूलाई धिमे बाजा, बाँसुरी, ताल, लय तथा परम्परागत बाजागाजाको सांस्कृतिक महत्वबारे व्यावहारिक प्रशिक्षण दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले जानकारी दिए ।
तालिमपछि सहभागीहरूले तम्घास बजारमा नेवारी वेषभूषासहित बाजा प्रदर्शन गरेका थिए । तालिममा सिकेका सीप प्रस्तुत गर्ने उद्देश्यले गरिएको उक्त सांस्कृतिक प्रदर्शनले बजार क्षेत्र नै सांस्कृतिक माहोलमय बनेको थियो ।
दैनिक तीन चरणमा सञ्चालन गरिएको अभ्यास कार्यक्रममा प्रशिक्षार्थीहरूले नियमित रूपमा बाजा बजाउने कला सिकेका थिए । पछिल्लो समय आधुनिक संगीत र प्रविधिको प्रभावका कारण परम्परागत बाजागाजा तथा सांस्कृतिक अभ्यासहरू हराउँदै जान थालेपछि यस्ता तालिम आवश्यक भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठले बताए ।
नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृतिसँग जोड्ने, सांस्कृतिक पहिचान जोगाउने तथा सामुदायिक एकता मजबुत बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । तालिममा सहभागी अधिकांश विद्यालय उमेर समूहका बालबालिका तथा युवाहरू रहेका थिए ।
तालिममा सहभागी नानी श्रेष्ठले बाजा सिक्न पाउँदा आफू निकै उत्साहित भएको बताइन् । सहभागीहरूले आफ्नै मौलिक संस्कृतिको ज्ञान प्राप्त गर्न पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् ।
तम्घासका नेवार समुदायले भाषा, वेषभूषा, जात्रा, नाचगान तथा बाजागाजामार्फत आफ्नो मौलिक संस्कृति जोगाउँदै आएका छन् । समुदायका अग्रजहरूका अनुसार परम्परागत बाजा केवल मनोरञ्जनको माध्यम मात्र नभई सांस्कृतिक पहिचान, धार्मिक परम्परा तथा सामाजिक सम्बन्धको महत्वपूर्ण आधार पनि हो ।
विवाह, जात्रा, पूजा तथा विभिन्न सांस्कृतिक अवसरमा बजाइने बाजाले नेवार समुदायको मौलिकता झल्काउने गर्दछ । प्रशिक्षक सुदन मुनिकारले नयाँ पुस्तामा संस्कृति संरक्षणप्रति चासो बढ्दै गएको बताए ।
नियमित अभ्यास र प्रशिक्षणले बालबालिका तथा युवाहरूलाई आफ्नो संस्कृतिप्रति थप जिम्मेवार बनाएको उनको भनाइ छ । तालिम समापनपछि आयोजित सांस्कृतिक कार्यक्रममा सहभागीहरूले सिकेका बाजा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले संस्कृति संरक्षणका यस्ता कार्यक्रमले समुदायको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनले सबै जातजातिको भाष, कला संस्कृतिको महत्व रहेको उल्लेख गरे ।
गुल्मीमा सञ्चालन गरिएको नेवारी मौलिक बाजा तालिमलाई परम्परागत कला संरक्षणको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । नयाँ पुस्ताको सक्रिय सहभागिताले नेवार समुदायको मौलिक संस्कृति आगामी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण हुने विश्वास गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4