साहित्यकार डा. चन्द्र गिरीको उपन्यास ‘डङ्की : सपनाको कालबाटो’ को आवरण सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अमेरिकाको कोलोराडोमा भइरहेको नवौँ नेपाली साहित्य सम्मेलनको समारोहमा उक्त आवरण अनावरण गरिएको हो ।
समारोहमा विभिन्न मुलुकबाट सहभागी भएका विशिष्ट अतिथि, साहित्यानुरागी तथा स्थानीय कोलोराडोवासीसहित करिब २५० जनाको उपस्थितिका थियो । कार्यक्रममा बोल्दै साहित्यकार डा. ऋषि बस्ताकोटीले डा. गिरीको यो उपन्यास अत्यन्तै उच्च कोटीको र पठनयोग्य हुने कुरामा आफू विश्वस्त रहेको
बताए ।
आफ्नो उपन्यास केवल एउटा कथा मात्र नभएर सुन्दर सपनाको खोजीमा हिँडिरहेका असङ्ख्य प्रवासीहरूको एउटा सजीव र करुण मानवीय दस्तावेज भएको दावी लेखक डा. चन्द्र गिरीले बताए ।

आवरण सार्वजनिक कार्यक्रममा नेपाली वाङ्मयका विशिष्ट स्रष्टाहरूको विशेष उपस्थिति रहेको थियो । सम्मेलनका प्रमुख अतिथि डा. नवराज लम्साल, अन्तरास्ट्रिय नेपाल साहित्य समाज (अनेसास) का अध्यक्ष सर्बज्ञ वाग्ले, अनेसास ट्रस्टीका सभापति पदम विस्वकर्मा, मदन पुरस्कार विजेता डा. निलम कार्की निहारिका, डा. ऋषि वस्ताकोटी, डा. शरद परासर, सुरेश कुमार भट्ट, र गोविन्द अधिकारीको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
उपन्यास बुकहिल प्रकाशनले जेठ महिनाको अन्तिम साता सार्वजनिक गर्दैछ । यसले वैदेशिक सपना, विस्थापन, सङ्घर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर समकालीन नेपाली समाजको एउटा कठाङ्ग्रिँदो यथार्थलाई साहित्यिक रूप दिएको प्रकाशकको भनाइ छ ।
प्रतिक्रिया 4