News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली टुरिज्म मिट–२०२६ सुर्खेतमा सम्पन्न भएको छ जसले कर्णालीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।
- भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अध्यक्ष राजेश सिन्हाले कर्णाली भ्रमण अनुभव अविस्मरणीय रहेको र यहाँको आतिथ्यता र प्राकृतिक सौन्दर्यले आफूलाई प्रभावित बनाएको बताए।
- पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोषविक्रम थापाले कर्णालीलाई धार्मिक, सांस्कृतिक र प्रकृतिमा आधारित पर्यटन केन्द्रका रूपमा विश्वसामु चिनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
१० जेठ, काठमाडौं । कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता सहित ‘कर्णाली टुरिज्म मिट-२०२६’ सम्पन्न भएको छ ।
‘प्रकृति र संस्कृतिको काखमा’ भन्ने नारासहित ८ जेठमा सुरु कर्णाली टुरिज्म मिट आइतबार सुर्खेतमा सम्पन्न भएको हो ।
नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेतको समन्वयमा भएको मिटमा भारतका विभिन्न सहरबाट करिब ५० पर्यटन व्यवसायी, पत्रकार, ब्लगर सहभागी थिए ।
समापनमा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य पदमविक्रम शाहीले सहभागीहरूले कर्णालीका ऐतिहासिक, धार्मिक र प्राकृतिक गन्तव्यको अनुभव लिएको उल्लेख गरे ।
यस कार्यक्रमले कर्णाली पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको उनको भनाइ छ । ‘कर्णाली धार्मिक रूपमा पवित्र भूमि हो, यहाँ धार्मिक तथा आध्यात्मिक पर्यटन, आरोग्य पर्यटन र प्रकृतिमा आधारित पर्यटनको अथाह सम्भावना छ,’ उनले भने, ‘कर्णाली कैलाश मानसरोवरको प्रवेशद्वार समेत हो, भारतको लखनऊबाट केही घण्टामै गुराँसेको शितलता अनुभव लिन सकिन्छ, यहाँको मौसम र प्राकृतिक सौन्दर्य पर्यटकका लागि अद्वितीय अनुभव बन्न सक्छ ।’
भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अध्यक्ष राजेश सिन्हाले कर्णाली भ्रमण अनुभव अविस्मरणीय रहेको बताए । उनले कर्णालीवासीको आतिथ्यता, स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यले आफूलाई प्रभावित बनाएको उल्लेख गरे ।
‘हामीले यहाँ अत्यन्त आत्मीय स्वागत पाएका छौं,’ उनले भने, ‘कर्णाली अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित हुन सक्ने ठूलो सम्भावना बोकेको क्षेत्र हो, यसको प्रवर्द्धनमा हामीले भारतीय पर्यटकलाई कर्णाली पुर्याउने विश्वास दिलाउन चाहन्छौं ।’
भारतबाट सहभागी पत्रकार बीएस परिहारले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध पर्यटन विकासको बलियो आधार बन्न सक्ने बताए ।
उनले राम–सीता, गौतम बुद्ध र हिन्दु सभ्यतासँग जोडिएका धार्मिक सर्किट मार्फत दुई देशबीच पर्यटन सहकार्य अझ विस्तार गर्न सकिने धारणा राखे ।
‘नेपाल शान्तिप्रिय राष्ट्र हो,’ उनले भने, ‘यहाँको मौसम, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता पर्यटनका लागि सबैभन्दा ठूलो आकर्षण हो, विशेषगरी कर्णालीमा रहेको असीमित प्राकृतिक सौन्दर्यले पर्यटकलाई नयाँ अनुभूति दिन्छ ।’
कर्णाली टुरिज्म मिट अन्तर्गत ९ जेठमा भारतीय पर्यटन व्यवसायी तथा सहभागीलाई दैलेखका धार्मिक तथा ऐतिहासिक गन्तव्यको परिचयात्मक भ्रमण गराइएको थियो । सहभागीलाई हिन्दु धार्मिक मान्यता अनुसार भगवान शिवले सतिदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा सतिदेवीको नाभी पतन भएको नाभिस्थान र शिर पतन भएको शिरस्थानमा शिरस्थान भ्रमण गराइएको थियो । जहाँ सहभागीलाई अनवरत बलिरहेको ज्वाला अवलोकन गराइएको थियो ।
त्यसैगरी सहभागीलाई शनिबार दैलेखमा रहेको दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले स्वागत गर्दै दैलेखको पर्यटकीय गन्तव्य समेटिएको पुस्तक हस्तान्तरण गरेका थिए ।
सहभागीले दैलेखको धार्मिक महत्त्व, प्राकृतिक सुन्दरता र सांस्कृतिक मौलिकताले आफूहरूलाई आकर्षित गरेको बताएका थिए । गुराँसे क्षेत्रमा आयोजना गरिएको अनुभव आदानप्रदान कार्यक्रममा सहभागीले कर्णालीको मौसम, पहाडी भूदृश्य र स्थानीय आतिथ्यलाई पर्यटनको मुख्य आकर्षणका रूपमा व्याख्या गरेका छन् ।
समापन समारोहमा पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोषविक्रम थापाले कर्णालीलाई केवल दुर्गम क्षेत्रका रूपमा नभई धार्मिक तथा आध्यात्मिक, सांस्कृतिक, साहसिक र प्रकृतिमा आधारित पर्यटन केन्द्रका रूपमा विश्वसामु चिनाउने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको बताए ।
सम्मेलन अवधिभरि कर्णालीको मौलिक संस्कृति झल्काउने हुड्के नाच, देउडा तथा स्थानीय सांस्कृतिको प्रस्तुति गरिएको थियो । साथै, स्थानीय मौलिक परिकार र समुदायमा आधारित पर्यटन अभ्यासले भारतीय पर्यटन व्यवसायीलाई विशेषरूपमा आकर्षित गरेको बोर्डका वरिष्ठ अधिकृत थापाले बताए ।
उनका अनुसार यस कार्यक्रमले नेपाल–भारत पर्यटन सहकार्य विस्तार, कर्णालीमा लगानी प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारसँग पहुँच विस्तार तथा कर्णालीका नयाँ गन्तव्यको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4