News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली टुरिज्म मिट-२०२६ वीरेन्द्रनगरमा सुरु भएको छ जसले कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने अपेक्षा राखेको छ।
- कर्णाली प्रदेशका मन्त्री सुरेश अधिकारीले कर्णालीलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको पर्यटन विकासले नेपालको आर्थिक समृद्धिमा योगदान दिने बताए।
- पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले कर्णालीलाई नेपाली सभ्यता, हिमाली संस्कृति र जैविक विविधताको जीवन्त संग्रहालय भनेका छन्।
८ जेठ, काठमाडौं । ‘अन द ल्याप अफ नेचर एन्ड कल्चर’ अर्थात् ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित ‘कर्णाली टुरिज्म मिट-२०२६’ सुरु भएको छ ।
यो कार्यक्रमले कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने अपेक्षा आयोजकको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेत, दुल्लु नगरपालिका गुराँस गाउँपालिकाको समन्वयमा बिहीबार वीरेन्द्रनगरमा सुरु भएको सम्मेलनमा कर्णालीको पर्यटन सम्भावना, सांस्कृतिक वैभव र दिगो पर्यटन विकासबारे बहस गरिएको छ ।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कार्यक्रम उद्घाटन गरेका हुन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बीसी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जग्दिश्वर उपाध्याय, नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके शाखा प्रमुख तथा प्रतिनिधि, कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन व्यवसायी, भारतीय पर्यटन व्यवसायी, निजी क्षेत्रका व्यवसायी तथा पर्यटनकर्मी सहभागी थिए ।
कार्यक्रममा कर्णाली प्रदेशका पर्यटनमन्त्री अधिकारीले कर्णाली विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यहाँको पर्यटन विकासले समग्र नेपालको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
उनले कर्णालीलाई विगतदेखि नै भौगोलिक विकटताका रूपमा हेरिएको भए पनि अहिले अथाह पर्यटकीय सम्भावना बोकेको भूमिका रूपमा परिचित भइरहेको उल्लेख गरे ।
‘कर्णाली घुम्नेमात्र होइन, अनुभूति गर्ने भूमि हो,’ उनले भने, ‘यहाँको संस्कृति, प्रकृति र समुदाय नै यसको वास्तविक शक्ति हो ।’
उनले कर्णालीका रारा, शे फोक्सुन्डो, काँक्रेविहार, गुराँसे, हुम्ला र डोल्पाजस्ता गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न आवश्यक रहेको उल्लेख गरे ।
पर्यटनसचिव निरौलाले कर्णाली नेपालको पश्चिम भूगोलको एउटा प्रदेशमात्र नभई नेपाली सभ्यता, हिमाली संस्कृति, जैविक विविधता र मौलिक जीवनशैलीको जीवन्त संग्रहालय भएको बताए ।
बोर्डका कार्यवाहक कार्यकारी प्रमुख ऐरले भारत नेपालको लागि विशाल पर्यटन बजार रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अहिले भारतीय पर्यटकका लागि अत्यन्त उपयुक्त गन्तव्य भएको बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख ढकालले कर्णालीमा अथाह पर्यटन सम्भावना भए पनि यसको प्रभावकारी प्रचारप्रसार हुन नसकेको बताइन् ।
गुराँस गाउँपालिका अध्यक्ष बीसीले स्थानीय तहले पर्यटनलाई उद्योगका रूपमा स्वीकार गर्दै समुदायस्तरमा पर्यटनबारे जनचेतना विस्तार गरिरहेको बताए ।
कार्यक्रममा कर्णालीको मौलिक हुड्के नाच, देउडा प्रस्तुति तथा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रम १० जेठमा सकिने छ ।
प्रतिक्रिया 4