+
+
Shares

महाधिवेशनउन्मुख रास्वपा : सातै प्रदेशमा कस्तो बन्दैछ संगठन ?

पहिलो महाधिवेशनको मिति तय गरेको रास्वपाले तहगत अधिवेशन गर्न संगठन निर्माणको कार्यलाई प्राथमिकता दिएको छ । चुनावअघि भन्दा संगठन निर्माण चुनावपछि सहज भएको रास्वता नेताहरूको बुझाइ छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ जेठ ८ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ देखि ९ गते प्रथम महाधिवेशन गर्ने मिति तय गरी संगठन विस्तारका लागि तहगत अधिवेशन तीव्र बनाएको छ।
  • प्रदेशगत रुपमा रास्वपाको संगठन बागमती र गण्डकीमा बढी बलियो छ भने मधेसमा बारामा संगठन गतिरोधमा छ।
  • कर्णालीमा रास्वपाले ५०० भन्दा बढी वडामा अधिवेशन सकाएको र स्थानीय तहमा पहिलो पार्टी बन्ने लक्ष्य राखेको छ।

८ जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव लगत्तै संगठन विस्तारमा जोड दिएको छ । असार ७ देखि ९ गते हुने गरी प्रथम महाधिवेशनको मिति तय गरेको रास्वपाले तहगत अधिवेशन गर्न संगठन निर्माणलाई तीव्रता दिएको छ ।

तदर्थ समिति बनेका स्थानमा वडा अधिवशेन र संगठन नभएका ठाउँमा भेला बोलाइएको छ । तदर्थ समिति गठन नभएका वडाको भेला जेठ २ गते बोलाइएको थियो भने पालिका संरचना नबनेका स्थानको भेला भोलि (जेठ ९ गते) बोलाइएको छ ।

तदर्थ समिति बनेका स्थानहरूमा धमाधम वडा अधिवेशनहरू भइरहेको रास्वपाले जानकारी गराएको छ । रास्वपाका नेताहरूका अनुसार प्रदेशगत रुपमा वडा अधिवेशन बढी हुनेमा बागमती र गण्डकी अघि छन् ।

कुनै पालिकाभित्रका ३० प्रतिशत वडाको अधिवेशन सकिए पालिकाको अधिवेशन गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, जिल्लाभरका पालिका मध्ये ३० प्रतिशतमा अधिवेशन सकिएको अवस्थामा जिल्लाको अधिवेशन गर्न सक्ने निर्णय गरिएको छ ।

वडा तहको अधिवशेनको कार्यतालिका जेठ ३ र १७ गतेको लागि बनाइएको छ । निर्धारित मिति भन्दा फरक समयमा समेत आफ्नो अनुकूलता अनुसार मातहतका संरचनाले अधिवेशन गरेर नयाँ समिति चयन गरेका छन् ।

पालिका अधिवेशन पनि दुई चरणमा गर्ने गरी मिति निश्चित गरिएको छ । जेठ १० र १७ गतेका लागि पालिका अधिवेशन गर्नेगरी कार्यतालिका बनाइएको छ । विधान अनुसार सदस्य संख्या अपुग भई अधिवेशन गर्न असम्भव रहेको स्थानमा तदर्थ समिति मात्रै गठन गर्ने नीति बनाइएको छ ।

भेला, तदर्थ समिति गठन, तहगत अधिवेशनका लागि सहजीकरण र समन्वय गर्ने गरी केन्द्रीय नेताहरू खटाइएको छ ।

कोशीमा झापा अघि

कोशी प्रदेशका १४ जिल्ला मध्ये सांगठनिक रुपमा बलियो झापा बनेको छ । कोशीका कार्यवाहक सभापति सरिन तामाङका अनुसार सांगठनिक रुपमा रास्वपा कोशीमा सर्वाधिक बलियो झापामा बनेको छ भने त्यसपछि क्रमशः सुनसरी, उदयपुर र मोरङ छन् ।

कोशीमा तराई–मधेसका जिल्लाको तुलनामा पहाडी जिल्लामा रास्वपाको संगठन कमजोर रहेको जानकारी गराइएको छ ।

धनकुटा, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङमा तुलनात्मक रुपमा संगठन कमजोर रहेको बताइएको छ । तदर्थ समिति बनेका स्थानमा वडा अधिवेशन जारी रहेको र तदर्थ समिति बन्न नसकेका ठाउँमा संगठन निर्माणको कार्य तीव्र गतिमा भइरहेको तामाङले जानकारी गराइन् ।

‘१७ गतेभित्र वडा र पालिका अधिवेशन सक्छौं । तदर्थलाई अद्यावधिक गरेर समिति बनाएका छौं,’ तामाङले अनलाइनखबरसँग भनिन्,‘समिति बन्न नसकेका स्थानमा संयोजक मात्रै तोकेर पनि संगठन बनाएका छौं । वडा र पालिकामा ३० प्रतिशतको मात्रै अधिवेशन गरेपछि हुने हुँदा हामीलाई सजिलो भएको छ ।’

पहाडी जिल्लाहरूमा तदर्थ समिति गठन र अधिवेशन गर्न कठिनाई भएको तामाङको अनुभव छ । ती जिल्लाहरूमा पनि ५० प्रतिशत वडाको अधिवेशन सक्ने लक्ष्य राखिएको छ । तामाङले भनिन्, ‘अहिले नै ठ्याक्कै यति वडा र पालिकाको अधिवेशन भयो भन्ने अवस्था छैन । अधिवेशनहरू भइरहेको छ । जेठ १७ गते अधिवेशन सकिएपछि निश्चित आंकडा आउँछ ।’

मधेसमा बारामा गतिरोध, अरु जिल्लामा तीव्रता

मधेसका ८ जिल्ला मध्ये बारामा सांगठनिक गतिविधि अघि बढ्न सकेको छैन । बारा समिति भंग गरिएको छ भने सभापति चन्दन स्वर्णकारलाई पार्टीबाट निस्कासन गरिएको छ ।

मधेसका संगठन विभाग प्रमुख कामिनी चौधरीले सदस्यता वितरण बाहेक अधिवेशनका कामहरू रोक्न परिपत्र गरेकी छन् ।

जेठ ९ गते ( भोलि) जिल्लाको विस्तारित बैठक बोलाइएको छ । केन्द्रबाट नेता खटाएर बारामा नयाँ समिति गठन गर्न लागिएको छ ।

अन्य जिल्लाको हकमा वडा अधिवेशनहरू निरन्तर भइरहेको मधेस प्रदेश संगठन विभाग प्रमुख चौधरीले जानकारी गराइन् ।

‘रफ्तारमै कामहरू भइरहेको छ । यति नै वडाको अधिवेशन भएको भनेर अहिले यकिन भइसकेको छैन,’ चौधरीले अनलाइनखबरसँग भनिन् ।

मधेसका आठ जिल्ला मध्ये तुलनात्मक रुपमा सप्तरीमा सांगठनिक रुपमा अघि रहेको रास्वपाले जानकारी गराएको छ । मधेसमा वडा र पालिकाहरुको अधिवेशन ६० प्रतिशत भन्दा बढीमा हुने प्रदेशको संगठन विभाग प्रमुख चौधरीले जानकारी गराइन् ।

बागमतीमा चितवन अघि, रसुवामा सांगठनिक गति लिँदै

बागमतीका एक हजार २१ वडामा एक हजार बढी वडामा अधिवेशन गराउने गरी तयारी गरिएको छ । यस बीचमा ७५० वडाको अधिवेशन सकिएको बागमतीका महामन्त्री सुरेन्द्र भट्टले जानकारी गराए ।

११९ पालिकामध्ये १०५ वटामा तदर्थ समिति गठन गरिएको छ । पालिका अधिवेशन ३० पालिकामा सकिएको छ । भट्टका अनुसार बागमतीमा थप ७० वटा पालिकाको अधिवेशन हुने क्रममा छन् । काठमाडौं महानगरका ३२ वडामा एउटाको मात्रै अधिवेशन बाँकी छ ।

जेठ १८ गतेका लागि काठमाडौं महानगरको अधिवेशनको मिति तोकिएको छ । जेठ १७ गते सभापति रवि लामिछानेको उपस्थितिमा भरतपुर महानगरको महाधिवेशन हुने भएको छ । ‘बागमतीका वडा र पालिकाहरूको अधिवेशन समग्रमा ८५ देखि ९० प्रतिशत ठाउँमा हुन्छ होला,’ भट्टले भने ।

प्रदेश महामन्त्री भट्टका अनुसार बागमतीका १३ जिल्लामा सांगठनिक रुपमा सर्वाधिक बलियो जिल्ला चितवन हो । चितवनमा भरतपुर बाहेक सबै पालिको अधिवेशन भइसकेको छ । सांगठनिक रुपमा तुलनात्मक रुपमा कमजोर रसुवा छ ।

रसुवामा नयाँ नेतृत्व यही महिनामा चयन गरिएको छ । काठमाडौंका सबै पालिकाको अधिवेशन गर्ने तयारी गरिएको छ ।

गण्डकीका मनाङ र मुस्ताङमा अधिवशेन नहुने

गण्डकी ११ जिल्ला मध्ये हिमाली दुई जिल्ला मनाङ र मुस्ताङमा रास्वपाले अधिवेशन नगर्ने भएको छ । ती दुई जिल्लामा तदर्थ समिति बनेपनि वडा र पालिकाको अधिवेशन नहुने भएको छ ।

मनाङ र मुस्ताङमा वडा, पालिका र जिल्लाका अधिवेशन नगर्ने । ती दुई जिल्लामा अधिवेशन नगर्ने कारण बारे बागमतीका महामन्त्री नवीन त्रिपाठीले भने,‘मनाङ र मुस्ताङमा अहिले हामी अधिवेशनको प्रक्रिया गर्दै गर्दैनौं । सदस्य संख्या हेर्दै गर्दा त्यहाँको फरक अवस्था छ ।’

गण्डकीमा आठ वटा पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । जेठ १७ गतेसम्ममा थप ५२ वटा पालिकाको अधिवेशन हुने जानकारी गराइएको छ । महामन्त्री त्रिपाठीका अनुसार ४३० वडाको अधिवेशन भइसकेको छ भने थप १७० वडाको अधिवेशन गर्ने तयारी छ । ४९ पालिकामा तदर्थ समिति बनेको छ ।

गण्डकीमा सांगठनिक रुपमा राम्रो अवस्थामा रहेका जिल्लाहरूमा नवलपुर, कास्की, स्याङ्जा, बागलुङ, गोरखा लगायत रहेको प्रदेश समितिले जानकारी गराएको छ । ‘पर्वत र म्याग्दी पनि सोचेभन्दा राम्रो भएको छ । म्याग्दी वडा र पालिकामा अधिवेशन के होला भन्ने थियो । तीन वटा पालिकाको अधिवशेन हुने भएको छ,’ महामन्त्री त्रिपाठीले भने,‘संगठन राम्रो बनेको ठाउँमा ९० प्रतिशत भन्दा माथि अधिवेशन हुन्छ । अन्य जिल्लाको हकमा वडा र पालिकाको कम्तिमा पनि ५० प्रतिशत ठाउँमा अधिवेशन सक्छौं ।’

लुम्बिनीमा रुपन्देही अघि, रोल्पामा कठिनाइ

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये रोल्पामा रास्वपा सांगठनिक रुपमा कमजोर रहेको छ । जिल्ला तदर्थ समिति बनेपनि वडा र पालिकामा सदस्य संख्या कम रहेको हुँदा अधिवेशनको प्रक्रिया अघि बढाउन कठिनाई भएको प्रदेश समितिले जानकारी गराएको छ ।

वडा र पालिका अधिवशेन गर्न रोल्पा जिल्ला बाहेक सबैमा सहज रहेको लुम्बिनीका रास्वपा उपसभापति शालिक घिमिरेले जानकारी गराए ।

महामन्त्री घिमिरेले जानकारी गराए, ‘अरु सबै जिल्लाले ५० प्रतिशत बढी हुने गरी वडा र पालिकाहरुको अधिवेशन हुन्छ । पार्टी केन्द्रले गरेको मापदण्ड पुरा हुने गरी रोल्पामा वडा र पालिका अधिवशेन गराउन अलि गाह्रो छ ।’

लुम्बिनीका जिल्लाहरूमा रुपन्देहीमा सबैभन्दा राम्रो संगठन बनेको घिमिरेले जानकारी गराए । रुपन्देहीका १६ पालिका मध्ये १२ वटामा अधिवेशन हुने र यस जिल्लामा समग्रमा ८० प्रतिशत वडा र पालिका अधिवेशन गरी निर्वाचित समिति आउने उनले बताए ।

कर्णालीमा आक्रामक शैलीमा संगठन विस्तार

प्रतिनिधि सभा निर्वाचनमा अरु प्रदेशको तुलनामा कमजोर नतिजा प्राप्त गरेको रास्वपाले कर्णालीमा ध्यान केन्द्रित गरेको छ ।

चुनावपछि महामन्त्री भूपदेव शाह सहित केन्द्रीय नेताहरू सुर्खेत पुगेर अन्य दलका नेता कार्यकर्तालाई रास्वपा भित्र्याएका छन् ।

रास्वपाले चुनावपछि मात्रै डोल्पा समिति बनाएको छ । कर्णालीका रास्वपा सभापति मदन खड्काले दुई सय बढी वडामा अधिवेशन सकिएको जानकारी गराए ।
७१८ वटा वडा मध्ये पाँच सय बढीको वडा भेला सकिएको खड्काले बताए ।

कर्णालीका ४ जिल्लामा संगठन मजबुत

कर्णाली प्रदेश १० जिल्लामा दैलेख, सुर्खेत, जुम्ला र सल्यानलाई तुलनात्मक रुपमा संगठन बलियो जिल्लाका रुपमा रास्वपाले गणना गरेको छ ।

‘म सभापति बनेर आइसकेपछि नै यी सबै समिति गठन भएका हुन् । त्यसअघि पार्टीले सबै भंग गरेको थियो,’ स्थानीय चुनावमा रास्वपाको आकलनबारे प्रदेश सभापति खड्का भन्छन्,‘स्थानीय तहको निर्वाचनमा धेरै ठाउँ जित्छौं अब हामी । पहिलो पार्टी बन्नेमा दुई मतै छैन । रास्वपा प्रवेश गर्नेको लाइन नै छ ।’

सुदूरपश्चिममा कैलाली–कञ्चनपुर अघि

सुदूरपश्चिमका ९ जिल्लामा सबैमा जिल्ला तहको अधिवेशन हुने भएको छ । वडा र पालिकाको अधिवेशन भने कञ्चनपुर र कैलालीमा अरु जिल्लाको तुलनामा बढी हुने भएको छ । ती दुई जिल्लामा वडा र पालिका तहमा शतप्रतिशत वडा र पालिकाको अधिवशेन हुने प्रदेश समितिले जानकारी गराएको छ ।

सुदूरपश्चिमका रास्वपा सभापति प्रकाश विष्टले तराईका जिल्लामा ८० प्रतिशत वडाको अधिवेशन सकिएको जानकारी गराए ।

‘अलिकति गार्‍हो हुने बझाङ र बाजुरा हो । त्यहाँ पनि वडा अधिवेशनहरू भइरहेका छन् । यति वडा र पालिकामा अधिवेशन सकियो भनेर भन्ने डाटा त छैन,’ विष्टले भने,‘अधिवेशनहरू भइरहेको छ ।’
कैलालीमा वडा र पालिकाको अधिवेशन शतप्रतिशत नै गर्ने गरी तयारी भइरहेको विष्टले जानकारी गराए । कञ्चनपुरमा सबै पालिकाको अधिवेशन हुने उनले बताए ।

पहाडी र हिमाली जिल्लामा पार्टीले बनाएको मापदण्ड ३० प्रतिशत भन्दा माथि नै हुने गरी वडा र पालिकाको अधिवेशन सकिने विष्टले जानकारी गराए ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?