+
+
Shares

धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म प्रदान

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ साउन २ गते ७:३२
छथर गाउँपालिकाको केन्द्र

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको छथर गाउँपालिकाले घट्दो जन्मदरलाई सम्बोधन गर्न बालबालिकाको नाममा ५ हजारदेखि २० हजार रुपैयाँसम्म बचत गरिदिने नीति कार्यान्वयनमा ल्याएको छ ।
  • पालिकाले ज्येष्ठ नागरिक एकल पुरुष सम्मान, घरदैलो स्वास्थ्य सेवा तथा विपन्न वर्गका लागि जनता आवास र खाद्य रोजगारीजस्ता जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
  • गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले नागरिकको जन्मदेखि वृद्धावस्थासम्मको सुरक्षालाई सुनिश्चित गर्न यस्ता पृथक र नौलो कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो ।

२ साउन, तेह्रथुम । पहाडी जिल्लाका गाउँहरू अहिले एउटा साझा समस्यासँग जुधिरहेका छन । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर, गाउँ रित्तिँदै जानु, ज्येष्ठ नागरिकको संख्या बढ्नु, विपन्न परिवारको आर्थिक संकट तथा आधारभूत सेवामा सीमित पहुँचजस्ता चुनौतीबीच तेह्रथुमको छथर गाउँपालिकाले जनसंख्या वृद्धि तथा सामाजिक सुरक्षालाई लक्षित गर्दै पृथक कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाले ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ मार्फत धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म प्रोत्साहन स्वरूप बचत रकम उपलब्ध गराउने नीति अघि सारेको हो ।

गाउँपालिकाले सामाजिक सुरक्षालाई केवल भत्ता वितरणमा सीमित नराखी नागरिकको जन्मदेखि वृद्धावस्थासम्म जोडिने जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ । नवजात शिशुको भविष्य सुरक्षित गर्ने ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन, ज्येष्ठ नागरिक एकल पुरुष सम्मान, घरदैलो स्वास्थ्य उपचार, जनता आवास कार्यक्रम, मलामी खाजा सहयोग, भोका नागरिकलाई खाना कार्यक्रम तथा खाद्य रोजगारी कार्यक्रम विगत केही वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

यस अभियानको केन्द्रमा रहेको ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ २०८१ साल भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा सुरु गरिएको हो । जन्मिने प्रत्येक बालबालिकाको नाममा बचत गरी उनीहरूको भविष्यको आर्थिक आधार तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम नेपालका स्थानीय तहहरूमध्ये निकै नौलो अभ्यासका रूपमा हेरिएको छ ।

अधिकांश स्थानीय तहले जन्मदर्ता, पोषण तथा मातृ–शिशु स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरे पनि जन्मिनेबित्तिकै बालबालिकाको आर्थिक सुरक्षा सुनिश्चित गर्ने यस्तो अभ्यास भने विरलै देखिन्छ ।

आर्थिक वर्ष २०८१/०८२ मा सुरु भएको कार्यक्रममा पहिलो वर्ष ५३ जना नवजात शिशु लाभान्वित भएका थिए । कार्यक्रमप्रति अभिभावकको आकर्षण बढ्दै जाँदा आर्थिक वर्ष २०८२/०८३ मा लाभग्राहीको संख्या बढेर ७४ पुगेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रोशन कार्कीले जानकारी दिए ।

यस वर्ष गाउँपालिकाले कार्यविधिमा संशोधन गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाएको छ । संशोधित व्यवस्थाअनुसार पहिलो सन्तानका लागि ५ हजार रुपैयाँ, दोस्रोका लागि १० हजार रुपैयाँ, तेस्रोका लागि १५ हजार रुपैयाँ तथा चौथो र सोभन्दा माथिका सन्तानका लागि २० हजार रुपैयाँ बालबालिकाको नाममा बचत गरिन्छ । साथै, दुई वा सोभन्दा बढी सन्तान भएका परिवारका संरक्षकको नाममा समेत थप रकम जम्मा गर्ने व्यवस्था गरिएको छ ।

यसरी दोस्रो, तेस्रो र चौथो सन्तानका लागि क्रमश: बढी रकम उपलब्ध गराउने नीति गाउँपालिकाले पछिल्लो समय घट्दो जन्मदरलाई सम्बोधन गर्दै जनसंख्या वृद्धि गर्न प्रोत्साहनस्वरूप ल्याएको हो ।

गाउँपालिका अध्यक्ष लिम्बु भन्छन,“हामी धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्नुका साथै जन्मिने प्रत्येक बालबालिकाको भविष्य सुरक्षित गर्न चाहन्छौँ । बालबालिकाको नाममा गरिने सानो बचतले भविष्यमा शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यकतामा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

चालु आर्थिक वर्षमा पहिलो सन्तान २५ जना, दोस्रो ३३ जना, तेस्रो १० जना, चौथो ४ जना तथा पाँचौँ र छैटौँ सन्तान १–१ जना लाभान्वित भएका छन । पहिलो सन्तानकी आमा सुजता न्यौपाने भन्छिन, ‘बच्चा जन्मिनेबित्तिकै बचत सुरु हुनु राम्रो काम हो । यसले अभिभावकलाई पनि भविष्यका लागि सोच्न प्रेरित गर्छ ।’

तेस्रो सन्तानका अभिभावक भोजकुमारी सङ्ग्रौलाका अनुसार गाउँपालिकाको यो सहयोगले बालबालिकाको शिक्षा र भविष्यप्रति आशा थपेको छ । चौथो सन्तानकी आमा कमला कार्कीले पनि रकमभन्दा यसको उद्देश्य ठूलो भएको बताउँदै यस्तो कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने बताइन ।

छथर गाउँपालिकाको सामाजिक सुरक्षा अभियान यतिमै सीमित छैन । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम’ सञ्चालन गरी समाजमा ओझेलमा परेका एकल पुरुष ज्येष्ठ नागरिकलाई सम्मान तथा सहयोग प्रदान गर्दै आएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम प्राय: महिला र बालबालिकामा केन्द्रित भइरहेका बेला पालिकाले एकल पुरुष ज्येष्ठ नागरिकलाई पनि प्राथमिकतामा राखेर बार्षिक १२ हजार नगद सहित सम्मान गर्दै आएको छ ।

उमेरसँगै स्वास्थ्य समस्या बढ्ने तर अस्पतालसम्म पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार कार्यक्रम’ सञ्चालन गरेको छ ।

यसअन्तर्गत स्वास्थ्यकर्मी घर–घरमै पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण तथा स्वास्थ्य परामर्श दिने गरेका छन । दुर्गम बस्तीमा बसोबास गर्ने ज्येष्ठ नागरिकका लागि यो सेवा अस्पताल घरमै पुगेजस्तै बनेको छ ।

सुरक्षित आवास प्रत्येक नागरिकको आधारभूत आवश्यकता हो । यही सोचका साथ गाउँपालिकाले ‘जनता आवास कार्यक्रम’ मार्फत आर्थिक अवस्था कमजोर, दलित तथा आवासविहीन परिवारलाई सुरक्षित घर निर्माणमा सहयोग गरिरहेको छ । जीर्ण तथा जोखिमयुक्त घरमा बस्दै आएका परिवारका लागि यो कार्यक्रम नयाँ जीवनको आधार बनेको छ ।

मानिसको जीवनमा सबैभन्दा कठिन क्षणमध्ये एक आफन्त गुमाउनु पनि हो । आर्थिक अभावका कारण अन्तिम संस्कार गर्नसमेत कठिन हुने परिवारलाई सहयोग गर्न गाउँपालिकाले ‘मलामी खाजा सहयोग कार्यक्रम’ सञ्चालन गरेको छ  त्यसैगरी, ‘भोका नागरिकलाई खाना कार्यक्रम’ गाउँपालिकाको अर्काे कार्यक्रम हो ।

अत्यन्त विपन्न, असहाय, बेवारिसे वा आकस्मिक समस्यामा परेका नागरिकलाई तत्काल भोजन वा खाद्यान्न उपलब्ध गराइन्छ । कुनै पनि नागरिक आर्थिक अभावकै कारण भोकै बस्न नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

राहत वितरण मात्र दीर्घकालीन समाधान होइन भन्ने मान्यतासहित गाउँपालिकाले ‘खाद्य रोजगारी कार्यक्रम’ पनि सञ्चालन गरेको छ । श्रम गर्न सक्ने विपन्न नागरिकलाई स्थानीय विकास निर्माणका काममा संलग्न गराई रोजगारी सिर्जना गरिन्छ र श्रमको प्रतिफलस्वरूप खाद्यान्न वा आवश्यक सहयोग उपलब्ध गराइन्छ । यसले राहतभन्दा आत्मनिर्भरतामा जोड दिएको देखिन्छ ।

स्थानीय तहहरू प्राय: सडक, भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणका कामले चिनिने गर्छन्। तर छथर गाउँपालिकाले विकासको केन्द्रमा नागरिकलाई राखेको छ । जन्मिनेबित्तिकै बालबालिकाको भविष्य सुरक्षित गर्ने योजना, धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन, ज्येष्ठ नागरिकको सम्मान, घरदैलोमै स्वास्थ्य सेवा, सुरक्षित आवास, शोकको घडीमा साथ, भोकमरी न्यूनीकरण तथा श्रममार्फत रोजगारी सिर्जना गर्ने जस्ता कार्यक्रमहरु पालिका सञ्चालन गर्दै आएको छ ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?