+
+
Shares

नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्डमा चल्न थाले गाडी

चितवनको मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाडौं सडकखण्डमा गएरातिदेखि रोकिएका सवारी साधनहरु आज बिहानैबाट सञ्चालन हुन थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ६:३४

३ साउन, चितवन । नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्डमा कतै पनि पहिरोले अवरुद्ध नभएको प्रहरीले जनाएको छ । चितवनको मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाडौं सडकखण्डमा गएरातिदेखि रोकिएका सवारी साधनहरु आज बिहानैबाट सञ्चालन हुन थालेका छन् ।

बिहान ६ बजेदेखि सवारी साधनहरु चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले अनलाइनखबरलाई जानकारी दिए ।

वर्षा, बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले गएराति १० बजेदेखि सवारी सञ्चालन गर्न रोक लगाएको थियो । राति पनि खासै पानी नपरेको र बिहानमा सावधानी अपनाएर सवारी चलाउन सकिने अवस्था देखेपछि रोकिएको सडक सञ्चालन गर्न खुला गरिएको थापाले बताए ।

मुग्लिन काठमाडौं सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा नजिकै खसेको सानो पहिरो पनि हटाइसकिएकाले दुवै खण्डमा कुनै अवरोध नरहेको थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रतीक सिंहले पनि सवारी साधनहरु चल्न थालेको बताए । ‘बाटोमा कतै अवरोध छैन,’ इन्सपेक्टर सिंहले भने, ‘धादिङको जवाङ खोलामा खसेको पहिरो पनि हटाइसकिएकाले अहिलेसम्म यात्रामा अवरोध छैन ।’

राजमार्ग बन्द गरिएपछि भरतपुरतर्फबाट जाने सवारी साधनलाई भरतपुरको केन्द्रीय बसपार्क, आँपटारी, रामनगर, जुगेडी लगायतका क्षेत्रमा रोकिएका थिए भने काठमाडौंबाट पोखरा र नारायणगढतर्फ आउने सवारी साधनलाई मुग्लिन र कुरिनटारमा रोकिएको थियो । पोखरातर्फ आउने सवारी साधनलाई तनहुँ तिर नै विभिन्न ठाउँमा रोक्न लगाइएको थियो ।

रातभर रोकिएका सवारी साधनलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाउने काम भैरहेको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख थापाले बताए ।

पूर्वी नवलपरासीतिरबाट आउने सवारी साधनलाई गैंडाकोट तथा भेँडाबारी र थुम्सी लगायतका क्षेत्रमा रोकिएका सवारीलाई पनि अगाडि बढाउने काम भैरहेको छ ।

उनले लेन अनुशासन अनुसार बसेर जिम्मेवार चालक बनेर सडक सञ्चालनमा सहयोग गरिदिन सबैमा अनुरोध पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?