News Summary
Generated by OK AI. Editorially reviewed.- बैंकहरूले मंसिरमा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्, औसत अधिकतम ब्याजदर ४.०१३ बाट ३.९०६ प्रतिशतमा झरेको छ।
- कात्तिकको तुलनामा मंसिरमा ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १४ बैंकले स्थिर राखेका छन्।
- व्यक्तिगत मुद्दतीमा सानिमा बैंकले ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ४.५ प्रतिशत ब्याजदर कायम राखेको छ।
३० कात्तिक, काठमाडौं । बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घट्ने क्रमले मंसिरमा पनि निरन्तरता पाएको छ । बैंकहरूले मंसिरका लागि सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा दर घटेको छ । यद्यपि धेरैजसो बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो । कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर ०.१०७ प्रतिशत बिन्दुले घटेको छ ।
कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.०१३ प्रतिशत रहेकोमा मंसिरमा ३.९०६ मा झरेको छ ।
केही महिनायता नै व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरूको अधिकतम ब्याजदरको औसत दर घटिरहेको छ । यस्तो दर साउनमा ४.१६७५ प्रतिशत, भदौमा ४.१३६० तथा असोजमा ४.०८९६ प्रतिशत कायम भएको थियो ।
पहिले नै लामो अवधिको मुद्दती खाता खोलेकाहरूले भने त्यतिबेलाको शर्तअनुसार सोही ब्याजदर पाउँछन् । मंसिर महिनामा खुल्ने नयाँ मुद्दती खाता तथा यो महिनामा अवधि समाप्तपछि नवीकरण हुने मुद्दतीका हकमा मात्रै नयाँ ब्याजदर कायम हुने छ ।
जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर घटाउनका लागि दबाब पुग्छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर सानिमा बैंकले ४.५ प्रतिशत कायम राखेको छ । बैंकले ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त ब्याजदर तोकेको हो ।
कात्तिकको तुलनामा मंसिरमा ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १४ ले स्थिर राखेका छन् ।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको अवस्थामा कर्जा प्रवाहको वृद्धि पनि सुस्त रहेपछि ब्याजदर घटाउँदै लगेका हुन् । राष्ट्र बैंकले छोटो अवधिका लागि निक्षेप बोलकबोलमार्फत तरलता खिचिरहेको छ ।
व्यक्तिगत मुद्दतीमा कुन बैंकको ब्याजदर कति ?
| बैंक | कात्तिकको ब्याजदर | मंसिरको ब्याजदर |
| कृषि विकास | ४.१५ | ३.६५ |
| सिटिजन्स | ३.८५ | ३.८५ |
| एभरेस्ट | ३.७५ | ३.७५ |
| ग्लोबल आईएमई | ४.०० | ४.०० |
| हिमालयन | ४.०० | ४.०० |
| इन्भेस्टमेन्ट मेगा | ३.७० | ३.७० |
| कुमारी | ३.७० | ३.६१ |
| लक्ष्मी सनराइज | ४.०० | ३.७५ |
| माछापुच्छ्रे | ४.५० | ३.५० |
| नबिल | ३.७५ | ३.७५ |
| नेपाल | ४.१५ | ४.१५ |
| नेपाल एसबीआई | ४.०० | ४.०० |
| एनआईसी एसिया | ४.०० | ४.०० |
| एनएमबी | ४.५० | ४.२५ |
| प्राइम कमर्सियल | ४.०० | ४.०० |
| प्रभु | ४.२५ | ४.२५ |
| राष्ट्रिय वाणिज्य | ४.०० | ४.०० |
| सानिमा | ४.५० | ४.५० |
| सिद्धार्थ | ३.७६ | ३.७६ |
| स्ट्यान्डर्ड चार्टर्ड | ३.७० | ३.६५ |
स्रोत – पत्रपत्रिकामा सार्वजनिक सूचना
प्रतिक्रिया 4