News Summary
Generated by OK AI. Editorially reviewed.- स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट बाँकी खेल खेल्ने भएका छन्।
- मन्सेले यसअघि एनपीएलको दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए, र सुदूरका अर्का स्कटिश खेलाडी ब्रान्डन म्याकमुलेन फर्किसकेका छन्।
- मन्सेले स्कटल्यान्डका लागि ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेल्दै एकदिवसीयमा २ हजार ७७७ रन र टी–२० मा २ हजार ५९८ रन बनाएका छन्।
३० कात्तिक, काठमाडौं । स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मन्सेले यसअघि दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए।
सुदूरले उनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको जानकारी दिएको हो । सुदूरका अर्का स्कटिश खेलाडी ब्रान्डन म्याकमुलेन भने फर्किसकेका छन् ।
ओपनिङ ब्याटर मन्से स्कटल्यान्डका भरपर्दा सीमित ओभरका खेलाडी हुन्। उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा आक्रामक ब्याटिङका लागि पहिचान बनाएका छन्। सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध स्कटल्यान्डको ऐतिहासिक पहिलो एकदिवसीय जितमा ५५ रन बनाउँदै उनी चर्चामा आएका थिए।
सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन बनाउनु उनको टी–२० करिअरको उल्लेखनीय प्रदर्शन हो। उक्त खेलमा उनले काइल कोएत्जरसँग पहिलो विकेटका लागि २०० रनको साझेदारी गरेका थिए। स्कटल्यान्डले त्यस खेलमा २५२ रन बनाएको थियो, जुन टोलीको अहिलेसम्मकै उच्च टी–२० अन्तर्राष्ट्रिय योगफल हो।
त्यस्तै, सन् २०२५ मा नेदरल्यान्ड्सविरुद्ध १५० बलमा १९१ रन बनाउँदै मन्सेले एसोसिएट राष्ट्रका ब्याटरमध्ये एकदिवसीयमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान बनाएका थिए। सन् २०२२ को टी–२० विश्वकपमा वेस्ट इन्डिजविरुद्ध अविजित ६६ रन बनाएका उनले सन् २०२६ को संस्करणमा इटालीविरुद्ध ८४ रन बनाउँदै टोलीको जितमा योगदान दिएका थिए।
मन्सेले स्कटल्यान्डका लागि ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीयमा उनले २ हजार ७७७ रन बनाउँदा तीन शतक र १९ अर्धशतक प्रहार गरेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २ हजार ५९८ रन छ। यस क्रममा उनले तीन शतक र १४ अर्धशतक बनाएका छन्।
समग्र टी–२० करिअरमा मन्सेले १३३ खेलबाट ३ हजार ६९८ रन बनाएका छन्।
प्रतिक्रिया 4