+

रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

२०८३ कात्तिक  ३० गते २०:४५ २०८३ कात्तिक ३० गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले १६ वर्षपछि राष्ट्रिय टोलीबाट सन्यास लिएको घोषणा गरेका छन्।
  • ३३ वर्षीय लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन्, जसले १३५ खेलमा ९४ गोल गरेका छन्।
  • लुकाकुले इन्स्टाग्राममार्फत समर्थक, सहकर्मी र प्रशिक्षकलाई धन्यवाद दिँदै चार विश्वकप र तीन युरोपियन च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको बताएका छन्।

३० कात्तिक, काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १६ वर्ष खेलेपछि राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्।

लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टोलीबाट १३५ खेल खेल्दै ९४ गोल गरेका छन्। उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन्। उनीभन्दा अघि सुनिल क्षेत्री, अली दाइ, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डोको नाममा १४६ गोल छ।

लुकाकुले चार विश्वकपमा बेल्जियमको प्रतिनिधित्व गर्दै आठ गोल गरेका छन्। त्यस्तै, तीन युरोपियन च्याम्पियनसिपमा उनले कुल ६ गोल गरेका छन्। सन् २०२३ मा युरो २०२४ छनोटका आठ खेलमा १४ गोल गर्दै उनले युरोपियन च्याम्पियनसिप छनोटको एकै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका थिए।

इन्स्टाग्राममार्फत सन्यासको घोषणा गर्दै लुकाकुले राष्ट्रिय टोलीबाट बिताएका १६ वर्षका प्रत्येक क्षणको आनन्द लिएको बताएका छन्। उनले आफूले टोलीका लागि सक्दो योगदान दिएको र हरेक प्रकारका भावनात्मक अनुभवबाट गुज्रिएको उल्लेख गरेका छन्।

‘यी १६ वर्षमा मैले राष्ट्रिय टोलीका लागि आफ्नो सबै कुरा दिएँ। मैले सम्भव भएका सबै भावना अनुभव गरेँ,’ उनले लेखेका छन्, ‘बेल्जियमका समर्थकलाई टोलीप्रति देखाउनुभएको समर्थनका लागि धन्यवाद। चार विश्वकप र तीन युरोपियन च्याम्पियनसिपमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको छ।’

उनले आफ्नो निर्णयप्रति सन्तुष्ट रहेको उल्लेख गर्दै राष्ट्रिय टोलीसँग बिताएका क्षण कहिल्यै नबिर्सने बताएका छन्। साथै, सहकर्मी र प्रशिक्षकलाई आफूलाई विश्वास गरेको तथा टोलीका लागि योगदान गर्न प्रेरित गरेकोमा धन्यवाद दिएका छन्।

लुकाकु पछिल्लो समय हिपको चोटका कारण टर्कीविरुद्ध बेल्जियमको नेसन्स लिग खेलमा अनुपस्थित थिए। आइतबार इटालीविरुद्धको खेलमा भने उनी बेन्चमा रहे। उक्त खेलमा बेल्जियमले ४–१ को जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

लुकाकुका बेल्जियमका सहकर्मी केभिन डी ब्रुएनले पनि सामाजिक सञ्जालमार्फत उनलाई धन्यवाद दिएका छन्। उनले लुकाकुले आफू र आफ्नो देशका लागि दिएको योगदान शब्दमा वर्णन गर्न नसकिने बताएका छन्।

रोमेलु लुकाकु सन्यास घोषणा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय