+

इन्फान्टिनोको विकल्प खोज्नुपर्ने क्लोपको भनाइ, फिफा अध्यक्ष परिवर्तनको माग

२०८३ कात्तिक  ३० गते २०:४८ २०८३ कात्तिक ३० गते २०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गरी नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन्।
  • क्लोपले सेप ब्लाटरपछि पनि फिफाको अवस्था झन् खराब भएको भन्दै आर्थिक स्वार्थभन्दा फुटबलको भविष्यलाई प्राथमिकता दिने व्यक्ति अध्यक्ष हुनुपर्ने बताए।
  • इन्फान्टिनो एफएफई योजनासँग सम्बन्धित दबाबमा छन्, र आगामी मार्चको निर्वाचनअघि उम्मेदवारी दर्ताको समयसीमा बुधबारसम्म छ।

३० कात्तिक, काठमाडौं । जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले पूर्वअध्यक्ष सेप ब्लाटरपछि अवस्था झन् खराब भएको टिप्पणी गर्दै विश्व फुटबलको सर्वोच्च निकायमा नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन्।

‘ब्लाटरपछि अवस्था यति खराब हुन सक्छ भन्ने मैले सोचेको थिइनँ, तर कसैले त्योभन्दा पनि खराब बनाउन सफल भयो,’ क्लोपले भने, ‘इन्फान्टिनोको ठाउँमा आउने अर्को व्यक्तिले पक्कै राम्रो काम गर्न सक्छ।’

ब्लाटर भ्रष्टाचारसम्बन्धी विवादमा परेपछि सन् २०१५ मा फिफा अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसपछि सन् २०१६ को फेब्रुअरीमा इन्फान्टिनो फिफाको अध्यक्ष बनेका थिए। इन्फान्टिनोले आगामी मार्चमा हुने निर्वाचनमा पुनः अध्यक्ष बन्ने तयारी गरेका छन्।

तर, फिफाका प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने प्रस्ताव अघि सारेपछि उनी दबाबमा परेका छन्। फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) नाम दिइएको उक्त योजनामा विश्वकपलगायत फिफाका अन्य प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव समावेश थियो। पछि इन्फान्टिनोले फिफा काउन्सिलसँग उक्त योजनाका लागि माफी मागेका थिए। तर, एफएफईसँग सम्बन्धित सबै कागजात सार्वजनिक गरी महत्त्वपूर्ण प्रश्नको जवाफ नदिएसम्म उनी विश्व फुटबलको नेतृत्व गर्न योग्य नरहेको भन्दै दबाब बढेको थियो।

क्लोपले आर्थिक स्वार्थभन्दा फुटबलको भविष्यलाई प्राथमिकता दिने व्यक्तिले नेतृत्व लिनुपर्ने बताएका छन्। ‘फुटबलको भविष्यप्रति साँच्चिकै चिन्ता गर्ने र आर्थिक स्वार्थबाट प्रेरित नहुने मानिसहरू छन्। त्यस्तो व्यक्ति अध्यक्ष बनेमा ठूलो सुधार हुनेछ,’ उनले भने।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफए इन्फान्टिनोका आलोचकहरूमध्ये अगाडि छ। यूईएफएले पटकपटक उनको राजीनामा माग गरेको छ। एफएफई योजनासँग सम्बन्धित कागजात सार्वजनिक गराउन अमेरिकाका तीनवटा अदालतमा दाबी पेस गर्नुका साथै इन्फान्टिनोविरुद्ध आपराधिक कानुनी प्रक्रिया अघि बढाउने तयारीसमेत गरेको छ।

फिफा अध्यक्ष निर्वाचनमा इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिनेले आधिकारिक रूपमा नाम दर्ता गराउने समयसीमा बुधबारसम्म छ। यसअघि आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा विचार गरिरहेका थिए। तर, बीबीसी स्पोर्ट्सका स्रोतका अनुसार उनले उम्मेदवारी नदिने निर्णय गरेका छन्। यूईएफएले भने समयसीमा सकिनुअघि वैकल्पिक उम्मेदवार खोज्ने प्रयास जारी राखेको छ।

टोटनहमका पूर्वडिफेन्डर रामोन भेगा अक्टोबरमै उम्मेदवारी घोषणा गर्ने पहिलो व्यक्ति बनेका थिए। जापान फुटबल संघका मानार्थ अध्यक्ष कोजो तासिमाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

-बीबीसीबाट

जियानी इन्फान्टिनो योर्गन क्लोप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय