+
+
Shares

भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा सीमानाकामा भेटिएका नेपाली कामदारले प्रधानमन्त्रीको भ्रमणबाट आफ्ना दैनिक समस्या सम्बोधन हुने अपेक्षा गरेका छन् ।

जनक विष्ट जनक विष्ट
२०८३ मंसिर ४ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको गौरीफन्टा नाकामा दशैं–तिहारपछि भारततिर मजदुरी गर्न जाने नेपालीको लर्को बढेको छ।
  • सीमानाकामा भेटिएका नेपाली कामदारले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबाट आवतजावत सहज हुने र सीमा सास्ती घट्ने अपेक्षा गरेका छन्।
  • कामदारहरूले दुई देशबीचको सम्झौताले रोजगारीको अवसर नेपालमै सिर्जना होस् र विदेशिनुपर्ने बाध्यता कम होस् भन्ने माग गरेका छन्।

४ मंसिर, धनगढी । कैलालीको गौरीफन्टा नाकामा यतिबेला मजदुरी गर्न भारत जाने नेपालीको लर्को छ । दशैं र तिहार सकेर सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट दैनिक हजारौंको संख्यामा नेपालीहरू भारततिर गइरहेका छन् ।

चाडपर्व मनाउन घर आएका नेपालीहरू पुन: कर्मथलो फर्किन थालेपछि सीमा नाकामा यात्रुको चाप ह्वात्तै बढेको हो ।

आफन्तसँग चाडपर्व मनाएर परदेश फर्किन लागेका उनीहरूको मनमा घर छाड्नुपर्दाको पीडासँगै देशको अवस्था सुध्रिने आशा पनि छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा सीमानाकामा भेटिएका नेपाली कामदारले प्रधानमन्त्रीको भ्रमणबाट आफ्ना दैनिक समस्या सम्बोधन हुने अपेक्षा गरेका छन् ।

भारतको बैंगलोरमा गाडी चलाउने काम गर्दै आएका कैलाली मसुरियाका रमेश विष्ट दुई वर्षपछि घर फर्किएका थिए । एक महिना परिवारसँग बिताएर पुन: भारत जान लागेका उनले सीमानाकामा हुने सास्ती हटाउन सरकारसँग आग्रह गरेका छन् ।

‘बोर्डरको सास्ती हटोस् । आउन र जान सहज हुने व्यवस्था मिलाइदिए हुन्थ्यो,’ उनले भने, ‘हाम्रा प्रधानमन्त्रीज्यूको भारत भ्रमण राम्रो हुनेछ भन्ने विश्वास लागेको छ ।’

डडेल्धुरा आलिताल गाउँपालिका–५ का लालबहादुर गट्टी पनि रोजगारीकै सिलसिलामा भारतको बैंगलोर जाँदै थिए । पढेलेखेका भए पनि गाउँमा रोजगारी नपाएपछि ज्याला–मजदुरी गर्न भारत जानुपर्ने बाध्यता रहेको उनले सुनाए ।

‘जाने बेला दु:ख लाग्छ । पढेलेखेको मान्छे हुँ, तर गाउँमा रोजगारी छैन । त्यसैले भारतमै मजदुरी गर्न जानुपरेको छ,’ उनले भने, ‘हामी कमाएर खाने मान्छेलाई आउँदा–जाँदा दु:ख नहोस् । गलत काम गर्नेलाई कारबाही होस् र सीमानाकामा सहज वातावरण बनोस् भन्ने अपेक्षा छ ।’

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे आफू जानकार रहेको बताउँदै गट्टीले दुई देशबीच हुने सम्झौताले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता कम गर्नुपर्ने बताए । ‘युवा प्रधानमन्त्री हुनुहुन्छ, अपेक्षा पनि छ र विश्वास पनि । नेपालीका लागि केही सम्झौता होस् र रोजगारीको अवसर नेपालमै मिलोस् भन्ने चाहना छ,’ उनले भने ।

भारतमै लामो समयदेखि बस्दै आएकी पुष्पा बोहरा पनि प्रधानमन्त्रीको भ्रमणलाई नेपाली नागरिकको हितसँग जोडेर हेर्छिन् । दुई देशका प्रधानमन्त्रीबीच हुने छलफल र सम्झौताले सर्वसाधारणको जीवन सहज बनाउनुपर्ने उनको माग छ ।

१५ वर्षदेखि भारत आउने–जाने गर्दै आएका कैलाली चौमालाका हरिप्रसाद आचार्यले दुई देशबीचको सम्बन्धलाई नागरिकको सुविधासँग जोड्नुपर्ने बताए ।

‘दुई देशका प्रधानमन्त्रीले आवतजावतलाई सहज बनाउने र विकासको बाटो खोल्ने गरी काम गरिदिए हुन्थ्यो,’ उनले भने, ‘युवाले रोजगारी खोज्दै विदेश जानुपर्ने अवस्था अन्त्य भएर आफ्नै देशमा काम गर्ने वातावरण बनोस् भन्ने चाहना छ ।’

सीमानाकामा वर्षौंदेखि भोग्न परेको झन्झट अन्त्य गर्न प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्नुपर्ने उनी बताउँछन् ।

गौरीफन्टा नाकामा भेटिएका सर्वसाधारणका अपेक्षा ठूला राजनीतिक एजेन्डाभन्दा पनि दैनिक जीवनसँग जोडिएका छन् । सीमा पार गर्दा हुने झन्झट कम होस्, दु:ख गरेर कमाएको पैसा र श्रमको सम्मान होस् र आफ्नै देशमा रोजगारीको अवसर सिर्जना होस् भन्ने चाहना उनीहरूको रहेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई उनीहरूले दुई देशबीचको कूटनीतिक भेटघाटका रूपमा मात्र हेरेका छैनन् । भारतमा पसिना बगाइरहेका लाखौँ नेपाली श्रमिकको हित, सहज सीमा आवागमन र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा परोस् भन्ने अपेक्षा गरेको बताएका छन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?