News Summary
Generated by OK AI. Editorially reviewed.- मुम्बई र पुनाबाट तिहार मनाउन फर्किएका नेपालीले कैलालीको गौरीफन्टा नाकामा भारतीय सुरक्षाजाँचमा घण्टौँ सास्ती खेपेका छन्।
- भोग्नुपरेको ढिलाइबारे कैलाली उद्योग वाणिज्य संघको टोलीले एसएसबी र भारतीय कस्टम प्रमुखसँग भेटेर सहजीकरण गर्न आग्रह गरेको छ।
- एसएसबीले एउटा मात्र एक्सरे मेसिन र धेरै झोलाका कारण ढिलाइ भएको बताउँदै समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।
२२ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिका–७ देवहरियाका नरेन्द्रनारायण मगर शुक्रबार बिहान ८ बजे कैलालीस्थित गौरीफन्टा नाकामा उत्रिए । मुम्बईबाट तिहार मनाउन घर फर्किरहेका उनी दिउँसो १ बज्नै लाग्दासम्म सुरक्षा चेकजाँचका निम्ति लाइनमै थिए ।
झन्डै पाँच घण्टा कुरेर भारतीय सुरक्षाकर्मीको जाँच सकेर निस्किएका उनी नेपालतर्फको चेकजाँचको पालो पर्खिरहेका थिए । भोकभोकै सुरक्षा जाँचका निम्ति झोलाझिम्टासहित पुगेका उनी थकित थिए भने सरकारसँग आक्रोशित पनि सुनिए ।
‘हामी बिहान ८ बजे गौरीफन्टा आइपुगेका हौं । चेकजाँचमा पाँच घण्टा बिताइसक्यौं,’ मगरले भने, ‘भोकभोकै बस्नुपरेको छ । बलियो सरकार हुँदा पनि यस्तो ढिलासुस्ती किन ?’
उनले आफू जस्ता मध्यमवर्गीय नागरिकले स्वदेशमा रोजगारी नपाए पनि अर्काको देशबाट फर्किंदा सहज वातावरण बनाइदिन आग्रहसमेत गरे । ‘यो नाकालाई व्यवस्थित बनाइदिन र सहजै घर फर्किने माहोल बनाइदिन सरकारसँग माग गर्छु,’ उनी भन्छन्, ‘यस्तै तरिकाले भएन है ।’

तीन दिनको यात्रा पार गर्दै शुक्रबार बिहान मात्र पुनाबाट गौरीफन्टा नाका आइपुगेकी पवित्रा घर्तीले पनि नाकामा निकै सास्ती खेप्नुुपरेको सुनाइन् । उनले नेपालतर्फ खासै समस्या नभए पनि भारततर्फ चेकजाँचमा धेरै समय खर्च भइरहेको बताइन् ।
‘तीन दिन लगाएर बिहान मात्र यहाँ पुगेका थियौँ । तर यहाँ पनि चेकजाँचकै नाममा २–३ घण्टा बितिसक्यो,’ उनले भनिन्, ‘वारिभन्दा पारितर्फ चेकजाँचमा धेरै झन्झट ब्यहोर्नुपरेको छ ।’
भारतबाट फर्किने क्रममा सीमा क्षेत्रमा नेपालीहरूले सास्ती खेप्नुपरेको सूचना पाएपछि शुक्रबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा नेतृत्वको टोलीसमेत त्यहाँ पुगेको थियो ।
गौरीफन्टास्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रमुख विवेक यादवसहित भारतीय कस्टम प्रमुख अमर उपाध्याय लगायतसँग भेटेर त्यसबारे चासो राख्दै सहजीकरण गर्न ओझाको टोलीले आग्रह गरेको थियो ।
भारतीय एसएबसीका प्रमुख यादवले सुरक्षा जाँचका कारण केही ढिलो भएको प्रतिक्रिया दिएका थिए भने सहजीकरणका लागि आवश्यक समन्वय गर्ने बताएका थिए ।

‘चाडपर्व मनाउन भारतबाट फर्किने दाजुभाइले नाकामा सास्ती खेप्नुपरेको विषयमा हामीले उहाँहरूसँग कुरा गरेका छौँ,’ ओझाले भने, ‘चेकजाँच गर्ने एक्सरे मेसिन एउटै भएकाले केही समय लाग्ने गरेको भन्ने बुझ्यौँ । तैपनि, एसएसबीका सुरक्षा प्रमुखले सहजीकरण गर्न प्रतिबद्ध छौँ भन्नुुभएको छ ।’
उनका अनुसार भारत जाने तथा फर्किनेहरूलाई सीमा क्षेत्रमा शौचालयको अभाव देखिएको छ । कैलाली उद्योग वाणिज्य संघले चाँडै शौचालय पनि बनाइदिने उनी बताउँछन् ।
ओझासँगै वरिष्ठ उपाध्यक्ष केशवराज जोशी र सचिव प्रकाशबहादुर चन्द पनि गौरीफन्टा नाका पुगेका थिए । भारतीय सुरक्षाकर्मीको भनाइमा नाकामा एउटा मात्र एक्सरे मेसिन र एउटै व्यक्तिका धेरै झोलाहरू चेकिङमा समय लागिरहेकाले ढिलो भइरहेको हो ।
बिहीबार र शुक्रबार भारतबाट फर्किने नेपालीको चाप बढी देखिएको उनीहरू बताउँछन् ।

प्रतिक्रिया 4