News Summary
Generated by OK AI. Editorially reviewed.- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारमा विगतको लोडसेडिङ सम्झँदै देशको बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्धकार हटाउने संकल्प व्यक्त गरेका छन्।
- उनले २०७३ सालअघिका अँध्यारा दिन स्मरण गर्दै आफ्नो साथ, विश्वास र दृढ संकल्पले लोडसेडिङ अन्त्य गरी देशका अधिकांश घरमा विद्युत् पुर्याएको बताएका छन्।
- घिसिङले सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको अभियानमा नागरिकको साथ अपेक्षा गर्दै ‘हरेक घरमा खुसी, हरेक मनमा आशा र हरेक नेपालीको जीवनमा समृद्धिको उज्यालो छाओस्’ भनेका छन्।
२२ कात्तिक, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारको अवसरमा विगतको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै अब देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्धकार हटाउने संकल्प व्यक्त गरेका छन्।
तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना सन्देश जारी गर्दै घिसिङले २०७३ सालअघिका अँध्यारा दिन सम्झिएका हुन्। उनले त्यसबेला उज्यालोको पर्व तिहारसमेत अन्धकारमा मनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन्।
आफूहरूको साथ, विश्वास र दृढ संकल्पका कारण असम्भव मानिएको लोडसेडिङ अन्त्य गर्न सफल भएको उल्लेख गर्दै उनले देशका अधिकांश घरमा विद्युत् सेवा पुर्याइएको र अहिले नेपाली बिजुली विदेशसम्म पुग्न थालेको बताएका छन्।
‘हिजो बिजुलीको अँध्यारो हटायौँ, अब बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ,’ उनले सन्देशमा भनेका छन्।
चुनौती जति आए पनि आफ्नो यात्रा नरोकिने बताउँदै घिसिङले अँध्यारोलाई सरापेर मात्र नभई आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले विगतमा प्राप्त साथ र विश्वासप्रति आभार व्यक्त गर्दै सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको अभियानमा पनि नागरिकको साथ अपेक्षा गरेका छन्।
‘हरेक घरमा खुसी, हरेक मनमा आशा र हरेक नेपालीको जीवनमा समृद्धिको उज्यालो छाओस्,’ उनले शुभकामना सन्देशमा भनेका छन्।
प्रतिक्रिया 4