४ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन अन्योल छ । मधेस प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शुक्रबार दिउँसो ४ बजेसम्म दिएको समयावधि सकिन अब केही समय मात्र बाँकी छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस हुने सम्भावना कम छ । नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक छन् । तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने अहिलेसम्म एमालेसँग मिलेर सरकार बनाउन मानेका छैनन् ।
यादवले मधेशमा एमालेबाहेकको सत्ता समीकरण चाहेका छन् । विगतमा एमालेबाट लुम्बिनी प्रदेशमा पाएको धोकाका कारण उनी नकारात्मक छन् ।
यादवले अग्रगामी मोर्चासँग मिलेर मधेशमा सरकार गठन गर्न चाहेका छन् । जसपा नेपालको नेतृत्वमा अग्रगामी मोर्चासहित जनमत पार्टी र नेपाली कांग्रेसको पनि साथ लिएर सरकार बनाउने उनको गृहकार्य रहेको नेताहरू बताउँछन् ।
यद्यपि, कांग्रेस भने यसबारे केही बोलेको छैन । जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतले केही दिनअघि नै जनमत सरकारमा नजाने घोषणा गरेका थिए । तथापि, अग्रगामी मोर्चाका हिसाबले सरकार बने जनमतले त्यसमा सघाउनसक्ने सम्भावना रहेको विश्लेषण भइरहेको छ ।
उता कांग्रेस र जनमत नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारमा जानसक्ने सम्भावना कम छ । संविधानको धारा १६८ को ३ मा ठूलो दलको हैसियतमा जसपा नेतृत्वको सरकार बने त्यसमा जनमत र कांग्रेस दुवैले विश्वासको मत दिनसक्ने सम्भावना समेत रहेको जसपा नेपालस्रोतले बताएको छ ।
प्रतिक्रिया 4