+

खेलकुदमन्त्रीले फिफा अध्यक्षलाई दिएको उपहारमा के छ ?

२०८३ मंसिर  ४ गते १५:०८ २०८३ मंसिर ४ गते १५:०८

४ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहीबार अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष जियानी इन्फान्टिनो र एसियन फुटबल महासंघ (एएफसी) अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासहितका प्रतिधिनिसँग भेटवार्ता गरे ।

थाइल्यान्डको बैंककमा आयोजित एएफसी अवाड्र्समा सहभागी हुन गएका मन्त्री पोखरेलले फिफा अध्यक्ष र एएफसी अध्यक्षलाई भेटका क्रममा उपहार पनि दिए ।

मन्त्रालय स्रोतकाअनुसार मन्त्री पोखरेलले दिएको उक्त उपहारमा नेपाली मह थियो । ‘हिमालयाज ओन’ नामक उक्त मह हिमालयन महको एउटै संग्रह हो । कम्पनीकाअनुसार उक्त मह नेपालका स्वच्छ र प्राकृतिक हिमाली क्षेत्रहरूबाट संकलन गरिएको हुन्छ ।

मन्त्रीले उपहार दिनका लागि नेपालबाट मह उपहार लगेका थिए । ‘मन्त्री आफैंलाई पनि मन गर्ने र राम्रोसँग राख्यो भने लामो समयसम्म पनि नविग्रिने भएर मह उपहार दिनुभएको हो,’ सचिवालयका एक सदस्यले भने, ‘जसमा नेपालमा नै उत्पादित कुरा रोज्नुभएको हो।’

‘हिमालयाज ओन’ले सामाजिक सञ्जालमार्फत मन्त्रीले फिफा अध्यक्षलाई मह उपहार दिएको भिडियो राख्दै विश्वसामु पुर्‍याएको भन्दै धन्यवाद दिएको छ जहाँ लेखिएको छ, ‘नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने सपना बोकेर सुरु गरिएको हाम्रो अभियान आज विश्वमञ्चसम्म पुगेको छ। हाम्रो महलाई प्रिमियम उपहारका रूपमा प्रस्तुत गर्दै मह संकलकहरूको कथा, उनीहरूको साहस, किसानहरूको योगदान र हाम्रो हिमाली विरासतलाई विश्वसामु चिनाउने अवसर प्राप्त भएको छ ।’

थाइल्यान्ड पुगेका मन्त्रीले अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन फुकुवाका लागि फिफा र एएफसीका प्रतिनिधिसँग छलफलसमेत गरेका थिए । छलफलबाट निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको सहभागी नेपाली पक्षको भनाइ छ ।

नेपालको तर्फबाट खेलकुदमन्त्री पोखरेलसहित, प्रमुख सल्लाहकार सिद्दि व्यञ्जनकार र राखेप उपाध्यक्ष विशाल श्रेष्ठ सहभागी थिए ।

खेलकुदमन्त्री सस्मित पोखरेल जियानी इन्फान्टिनो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय