४ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीमा रहेको उखुबारीमा एक युवकको शव फेला परेको छ । शुक्रबार दिउँसो शव शंकास्पद अवस्थामा फेला परेको हो ।
अन्दाजी २५–२६ वर्षका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ ।
शवको दाहिने कानमा चोट लागेको र सामान्य रगत बगेको देखिएको उनले बताए । प्रारम्भिक अवस्थाको निरीक्षणपछि हत्या गरेर उखुबारीमा फालिएको हुनसक्ने प्रहरीको आशंका छ । वन्यजन्तुको आक्रमण वा अन्य कारणबारे पनि अनुसन्धान भइरहेको छ ।
घटनास्थल पुगेर फर्किएका कटवालले तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानमा प्रयोग गरिने बताए । फरेन्सिक टोली पुगेपछि मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया 4