News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरको ‘पिजफायर रेस्टुरेन्ट’ का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीस्थित धारापानी जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
- जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खत्रीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ र मृत्युको यकिन कारण खुल्न बाँकी छ।
- विदेशबाट फर्किएर खत्रीले विराटनगर, काठमाडौं र विराटचोकमा पिजफायर शाखा सञ्चालन गरेका थिए।
८ असोज, विराटनगर । विराटनगरको ‘पिजफायर रेस्टुरेन्ट’ का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीमा मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, केराबारी गाउँपालिकास्थित धारापानी जंगलको बीचमा रुखमा झुण्डिएको अवस्थामा शनिबार अपरान्ह मृत फेला परेका हुन् ।
विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ ।
कहिलेकाही केराबारीसम्म पुग्ने गरेको खुलेपनि मृत्युको यकिन कारण भने हालसम्म खुल्न बाँकी रहेको उनले बताए । उनको शव फेला पर्दा परिवारका सदस्य भने भारत थिए । आफन्तले शनिबार राति शवको पहिचान गरेको प्रहरीले जनाएको छ ।
लामो समय रोजगारीको सिलसिलामा विदेशमा बिताएका खत्रीले स्वदेश फर्किएर विराटनगरको सेन्ट्रल मलबाट पिजफायर सुरु गरेका थिए । त्यसपछि काठमाडौं र मोरङको विराटचोकमा पनि पिजफायरको शाखा सुरु गरेका थिए ।
पछिल्लो समय भने विराटनगरको पिपल चोक र गोल्छा चोकमा ‘पिजफायर रेस्टुरेन्ट’ सञ्चालन गर्दै आएका थिए ।
विराटनगरमा आधुनिक ‘पिज्जा कल्चर’ भित्र्याउन र लोकप्रिय बनाउन खत्रीको योगदान रहेको व्यवसायीहरू बताउँछन् ।
प्रतिक्रिया 4