+
+
Shares
विचार :

गण्डकी प्रदेशका आर्थिक अवसर

गण्डकी प्रदेशमा निक्षेप र कर्जाबीच करिब ३ खर्ब ६३ अर्ब रुपैयाँको अन्तर छ । निक्षेपको तुलनामा कर्जा परिचालन अनुपात करिब ५० प्रतिशत छ । जबकि, राष्ट्रिय स्तरमा यस्तो अनुपात करिब ७१.५ प्रतिशत छ ।

गुरुप्रसाद पौडेल गुरुप्रसाद पौडेल
२०८३ मंसिर ५ गते १२:००

आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गण्डकी प्रदेशमा पर्यटन, कृषि, जलविद्युत्, उद्योग, व्यापार तथा सेवा क्षेत्र आर्थिक गतिविधिका प्रमुख आधार हुन् । पोखरा, अन्नपूर्ण क्षेत्र, मुक्तिनाथ, मनकामना, गोरखा दरबार लगायतका पर्यटकीय तथा धार्मिक गन्तव्यले यस प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक केन्द्र बनाएका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार करिब २४ लाख ६६ हजार जनसंख्या रहेको यस प्रदेशले नेपालको कुल जनसंख्याको करिब ८.५ प्रतिशत हिस्सा ओगटेको छ ।

यस प्रदेशको समग्र आर्थिक अवस्था पनि राष्ट्रिय औसतको तुलनामा सकारात्मक देखिन्छ । आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) करिब ५ खर्ब ९३ अर्ब रुपैयाँ छ । उक्त अवधिमा नेपालको जीडीपी करिब ६६ खर्ब बराबर हो । राष्ट्रिय अर्थतन्त्रमा करिब ९ प्रतिशत योगदान गर्ने यस प्रदेशको आर्थिक वृद्धिदर ५.०१ प्रतिशत छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका सोही अवधिमा राष्ट्रिय औसत आर्थिक वृद्धि ३.८५ प्रतिशत हो । त्यसैगरी प्रतिव्यक्ति जीडीपी अमेरिकी डलर १ हजार ६ सय ५१ छ, जबकि राष्ट्रिय औसत अमेरिकी डलर १ हजार ५ सय १३ मात्र छ ।

वित्तीय पहुँच र संस्थागत उपस्थिति अवस्था

२०८३ असार मसान्तसम्म गण्डकी प्रदेशका ११ जिल्लामा बैंक तथा वित्तीय संस्थाका कुल १ हजार ३ सय ६९ शाखा सञ्चालनमा छन् । यसले बैंकिङ सेवाको भौतिक पहुँच विस्तार भएको देखाउँछ । तर, शाखा संख्यामात्र वित्तीय पहुँचको पर्याप्त मापदण्ड होइन, सेवाको उपलब्धता, भौगोलिक वितरण, कारोबार सहजता र नागरिकको वास्तविक उपयोग क्षमता समेत ध्यान दिनुपर्छ ।

२०८३ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप करिब ७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १८.७ प्रतिशत धेरै हो । यसले प्रदेशमा बचत परिचालन तथा बैंकिङ प्रणालीप्रतिको विश्वासमा सुधार आएको संकेत गर्छ ।

२०८३ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप करिब ७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १८.७ प्रतिशत धेरै हो । यसले प्रदेशमा बचत परिचालन तथा बैंकिङ प्रणालीप्रतिको विश्वासमा सुधार आएको संकेत गर्छ ।

राष्ट्रिय स्तरमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ११ अर्ब छ । यसमा गण्डकी प्रदेशको हिस्सा करिब ८.७५ प्रतिशत हुन्छ । जनसंख्याको हिस्सासँग तुलना गर्दा निक्षेप परिचालनको अवस्था सकारात्मक देखिन्छ । तर, निक्षेपमा भएको वृद्धिको तुलनामा कर्जा विस्तार भने सुस्त छ ।

यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३ खर्ब ६४ अर्ब पुगेको छ । यसरी राष्ट्रिय निक्षेपमा करिब ८.७५ प्रतिशत योगदान गर्ने प्रदेशको कर्जा परिचालनमा हिस्सा ६.१२ प्रतिशतमात्र रहनुले वित्तीय स्रोतको उपयोग र उत्पादनशील क्षेत्रमा पूँजी परिचालनका दृष्टिले थप विश्लेषण आवश्यक देखाउँछ ।

गण्डकीमा निक्षेप र कर्जाबीच करिब ३ खर्ब ६३ अर्ब रुपैयाँको अन्तर छ । निक्षेपको तुलनामा कर्जा परिचालन अनुपात करिब ५० प्रतिशत छ । जबकि, राष्ट्रिय स्तरमा यस्तो अनुपात करिब ७१.५ प्रतिशत छ । यो तथ्यांकले प्रदेशमा परिचालित वित्तीय स्रोतलाई स्थानीय उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक गतिविधिमा रूपान्तरण गर्ने पर्याप्त अवसर रहेको देखाउँछ ।

क्षेत्रगत कर्जा परिचालन र उत्पादनशील लगानीको सम्भावना

क्षेत्रगत कर्जा प्रवाह हेर्दा कृषि क्षेत्रमा करिब २३ अर्ब, औद्योगिक क्षेत्रमा २९ अर्ब १० करोड, सेवा क्षेत्रमा १ खर्ब ७ अर्ब र अन्य क्षेत्रमा करिब २ खर्ब २ अर्ब कर्जा प्रवाह भएको छ । सेवा क्षेत्रमा भएको कर्जा लगानीले प्रदेशको पर्यटन, होटल, यातायात, व्यापार तथा अन्य सेवामूलक व्यवसायको आर्थिक महत्त्वलाई प्रतिविम्बित गर्छ ।

गण्डकी प्रदेशको पर्यटन सम्भावना उल्लेखनीय भए पनि पर्यटक आगमन वृद्धिदर भने अपेक्षाकृत न्यून देखिएको छ । आव २०८१/८२ मा ९१ हजार २ सय ८८ विदेशी पर्यटक आगमन भएकोमा २०८२/८३ मा ९१ हजार ६ सय ३७ पुगेको छ ।

यसले पर्यटकीय सम्भावनालाई वास्तविक आर्थिक गतिविधिमा रूपान्तरण गर्न पूर्वाधार, सेवा गुणस्तर, अन्तर्राष्ट्रिय प्रवर्द्धन र पर्यटकीय उत्पादन विविधीकरणमा थप लगानी आवश्यक रहेको देखाउँछ । कृषि तथा औद्योगिक उत्पादनसँग जोडिएका मूल्य शृङ्खला, भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा लगानी बढाउन सके प्रदेशको आन्तरिक उत्पादन तथा रोजगारी विस्तारमा महत्त्वपूर्ण सहयोग पुग्न सक्छ ।

वित्तीय समावेशिता र डिजिटल वित्तीय सेवा विस्तार

वित्तीय समावेशिता दृष्टिले गण्डकी प्रदेशको अवस्था उत्साहजनक देखिन्छ । प्रदेशमा निक्षेप खाताको संख्या ६६ लाख ७५ हजार पुगेको छ । यद्यपि, एउटै व्यक्तिका विभिन्न संस्थामा एकभन्दा बढी खाता हुन सक्ने भएकाले खाता संख्यालाई वास्तविक निक्षेपकर्ताका रूपमा बुझ्नु हुँदैन ।

डिजिटल बैंकिङ सेवा विस्तारमा पनि प्रदेशको उपस्थिति उल्लेखनीय छ । गण्डकीमा मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या करिब ३१ लाख ६६ हजार पुगेको छ, जबकि राष्ट्रियस्तरमा यस्तो संख्या करिब ३ करोड १ लाख छ । यस आधारमा प्रदेशको हिस्सा करिब १०.५२ प्रतिशत हुन्छ ।

जनसंख्या अनुपातमा डिजिटल वित्तीय पूर्वाधार तथा सेवा उपस्थिति सकारात्मक देखिन्छ । कर्जा पहुँचका दृष्टिले प्रदेशमा करिब २ लाख २७ हजार ५ सय ८७ ऋणी छन् । बैंक तथा वित्तीय संस्थामा करिब २० लाख ३१ हजार कर्जा खाता रहेको आधारमा प्रदेशको हिस्सा करिब ११.२ प्रतिशत हुन्छ । यस प्रदेशमा महिला उद्यमी, कृषक, युवा व्यवसायी, साना तथा मझौला उद्यम र ग्रामीण समुदायमा गुणस्तरीय कर्जा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता अझै छ ।

वित्तीय पहुँचलाई अझ प्रभावकारी बनाउन मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, इन्टरनेट बैंकिङ, डिजिटल वालेट तथा एजेन्ट बैंकिङजस्ता माध्यमको विस्तार महत्त्वपूर्ण छ । विशेषगरी पर्यटन क्षेत्रका व्यवसाय तथा दुर्गम स्थानका नागरिकलाई डिजिटल भुक्तानीमा जोड्न सकेमा नगदमा निर्भरता घटाउनुका साथै वित्तीय कारोबार सहज, पारदर्शी र सुरक्षित बनाउन सकिन्छ । यससँगै डिजिटल साक्षरता, साइबर सुरक्षा, उपभोक्ता संरक्षण र वित्तीय सेवाप्रतिको विश्वास अभिवृद्धि गर्न पनि उत्तिकै आवश्यक छ ।

नगद व्यवस्थापन र विदेशी विनिमय

गण्डकी प्रदेशमा वित्तीय सेवाको सहज आपूर्ति तथा नगद व्यवस्थापन नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गर्दै आएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडका शाखामार्फत सञ्चालनमा रहेका नौ वटा नोटकोषबाट २०८२/८३ अवधिभरि करिब १२ अर्ब ४५ करोड बराबर नोट प्रदेशभरि स्थानान्तरण भएका छन । अघिल्लो वर्ष यस्तो रकम १५ अर्ब ५० करोड थियो । नोटकोष मार्फत प्रदेशका विभिन्न स्थानमा नगदको उपलब्धता तथा व्यवस्थापन सहज बनाउने काम हुँदै आएको छ ।

राष्ट्र बैंक पोखरा कार्यालय मार्फत यो वर्ष करिब २ अर्ब १४ करोड बराबर परिवर्त्य विदेशी मुद्रा सटही भएको छ । यस प्रदेशमा विदेशी मुद्रा सटही सेवा प्रदान गर्ने संस्था संख्या १ सय २४ पुगेको छ । यसले पर्यटन तथा अन्तर्राष्ट्रिय आर्थिक गतिविधिसँग सम्बन्धित वित्तीय सेवा विस्तारलाई सहयोग पुर्‍याएको छ ।

त्यसैगरी परिवर्त्य विदेशी मुद्रा कारोबारमा पनि उल्लेखनीय वृद्धि भएको छ । राष्ट्र बैंक पोखरा कार्यालय मार्फत यो वर्ष करिब २ अर्ब १४ करोड बराबर परिवर्त्य विदेशी मुद्रा सटही भएको छ । यस प्रदेशमा विदेशी मुद्रा सटही सेवा प्रदान गर्ने संस्था संख्या १ सय २४ पुगेको छ । यसले पर्यटन तथा अन्तर्राष्ट्रिय आर्थिक गतिविधिसँग सम्बन्धित वित्तीय सेवा विस्तारलाई सहयोग पुर्‍याएको छ ।

निष्कर्ष

समग्रमा गण्डकी प्रदेशको वित्तीय प्रणालीको अवस्था हेर्दा संस्थागत उपस्थिति, निक्षेप परिचालन, डिजिटल बैंकिङ तथा एटीएम सेवाको विस्तार सकारात्मक देखिन्छ । यस प्रदेशको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति जीडीपी राष्ट्रिय औसतभन्दा राम्रो हुनु प्रदेशको आर्थिक सम्भावनाको सूचक हो ।

तर, मुलुकभरिको कूल निक्षेपमा ८.७५ प्रतिशत योगदान हुँदा कर्जामा ६.१२ प्रतिशतमात्र हिस्सा रहनु, कर्जा विस्तारको न्यून वृद्धिदरले वित्तीय स्रोत परिचालनमा थप ध्यान दिनुपर्ने देखाउँछ । उपलब्ध वित्तीय स्रोतलाई पर्यटन, कृषि, उद्योग, जलविद्युत् तथा साना तथा मझौला उद्यममा परिचालन गर्न सके प्रदेशको आर्थिक सम्भावना थप प्रभावकारी उपयोग गर्न सकिन्छ ।

वित्तीय पहुँच विस्तारसँगै पूँजी निर्माण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राख्न आवश्यक छ । यसका लागि राष्ट्र बैंकको नियामकीय भूमिका, बैंक तथा वित्तीय संस्थाको व्यावसायिक रणनीति, प्रदेश सरकारको विकास प्राथमिकता र निजी क्षेत्रको उद्यमशीलताबीच प्रभावकारी समन्वय आवश्यक छ ।

(पौडेल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् ।)

लेखक
गुरुप्रसाद पौडेल

गुरुप्रसाद पौडेल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?