हिल्टनबाट सुरु गरौं ।
तिहारको झिलिमिलीमा हिल्टनको बाहिरी भाग मधुरो उज्यालोमा देखिन्थ्यो । भित्र भने अँध्यारो थियो । सुनसान । मानौं, भवन आफैं केही समयदेखि मौन छ । बाहिरबाट बालिएका बत्तीले त्यसको अस्तित्वलाई फेरि देखिने बनाएका थिए । तर, ती उज्यालोले भित्रको रिक्तता छोप्न सकेका थिएनन् । अलि अगाडि, टङ्गालतिर बढ्दै गर्दा भाटभटेनी झलमल्ल देखियो । उज्यालोको चरममा । टाढैबाट आँखा तान्ने गरी ।
हिल्टन र भाटभटेनी । दुवै भवन जेनजी आन्दोलन क्रममा आगजनीमा परेका थिए । दुवैका भित्ताले आगोको ताप सहेका थिए । तिहारको समयमा तिनै भवनमा उज्यालो फर्किएको थियो । एउटामा मधुरो, अर्कोमा भरपूर ।
केहीबेर ती दुवै दृश्य हेरिरहेँ ।
आगोले क्षति पुर्याएका भवनमा फेरि बत्ती बल्नु केवल भौतिक पुनर्निर्माणको विषय थिएन । त्यसमा सामान्य जीवनतर्फ फर्कने प्रयास थियो । मानिसहरूको श्रम, लगानी र आशा फेरि जोड्ने चाहना थियो । भत्किएको संरचना उठाउन सकिन्छ, कारोबार पुन: सुरु गर्न सकिन्छ र समयसँगै धेरै कुरा आफ्नो लयमा फर्कन सक्छन् ।
तर, समाजको सन्दर्भमा एउटा प्रश्न बाँकी रहन्छ ।
हामीले भौतिक संरचनालाई त पुनर्निर्माण गरौंला, तर ती घटनाले उजागर गरेका प्रश्नबाट के सिक्यौं ?
जेनजी आन्दोलनलाई केही भवनमा लागेको आगो, फुटेका सिसा वा सडकमा उत्रिएको भिडका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । त्यो लामो समयदेखि जम्मा हुँदै आएको असन्तुष्टि र परिवर्तनको आकांक्षाको अभिव्यक्ति थियो । अवसरको असमानता, सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वास, जवाफदेहिता अभाव र सीमित पहुँचभित्र घुमिरहेको अवसरको वितरणले युवापुस्तामा निराशा बढाएको थियो ।
आन्दोलन क्रममा भएका क्षति र त्यसको मानवीय तथा आर्थिक मूल्य पनि बिर्सन मिल्दैन । तर, क्षति चर्चा गर्दै त्यसको पृष्ठभूमिमा रहेका प्रश्न ओझेलमा पार्नु पनि उचित हुँदैन । दुवै पक्ष बुझेर अघि बढ्नु नै परिपक्व समाजको बाटो हो ।
समय सधैं एकै ठाउँमा रहँदैन । पुस्ता बदलिन्छन्, अपेक्षा बदलिन्छन्, सोच्ने तरिका बदलिन्छ । सूचना र प्रविधि पहुँचले नयाँ पुस्तालाई संसारसँग जोडेको छ । उनीहरू अब अवसर, पारदर्शिता र सम्मानका विषयमा पहिलेभन्दा फरक अपेक्षा राख्छन् । उनीहरूको प्रश्न पनि फरक छ । उनीहरूले खोजेको भविष्य पनि फरक छ ।
त्यसैले परिवर्तनको चाहनालाई केवल एउटा आन्दोलनको समयसँग जोडेर हेर्नु हुँदैन । त्यो निरन्तर चलिरहने सामाजिक प्रक्रिया हो ।
हामीकहाँ परिवर्तनको चर्चा गर्दा प्राय: पात्र र पदको कुरा धेरै हुन्छ । को आयो, को गयो, कसले नेतृत्व गर्यो भन्ने विषयले प्राथमिकता पाउँछ । तर संस्थाको कार्यशैली, निर्णय प्रक्रिया पारदर्शिता र नागरिकप्रतिको उत्तरदायित्वमा कति परिवर्तन आयो भन्ने प्रश्न अझ महत्त्वपूर्ण छ ।
नयाँ अनुहार आउनु सकारात्मक हुन सक्छ । तर। नयाँ सोच र काम गर्ने संस्कार पनि सँगसँगै आउनुपर्छ । सार्वजनिक पदलाई जिम्मेवारीका रूपमा बुझ्ने, अवसरलाई न्यायोचित ढङ्गले वितरण गर्ने र नागरिकको आवाज सुन्ने अभ्यास संस्थागत हुनुपर्छ ।
परिवर्तनको अर्थ विगतलाई अस्वीकार गर्नुमात्र होइन । विगतका अनुभवबाट सिकेर भविष्यलाई अझ राम्रो बनाउनु पनि हो ।
हामीले निर्माण गरेका संरचना, संस्थाहरू र सामाजिक सम्बन्ध सबै समय अनुसार परिमार्जन हुनुपर्छ । हिजो उपयुक्त देखिएका अभ्यास आज पर्याप्त नहुन सक्छन् । संसार अगाडि बढिरहेको छ । हाम्रो सोच, कार्यशैली र संस्थागत क्षमता पनि त्यसैअनुसार विकसित हुनुपर्छ ।
आन्दोलनपछि सामान्य अवस्थामा फर्कने चाहना स्वाभाविक हो । व्यवसाय चलुन्, रोजगारीका अवसर फर्किउन्, लगानीको वातावरण बनोस्, सार्वजनिक जीवन सहज होस् । तर, सामान्य अवस्थामा फर्कनुमात्र उपलब्धि होइन । विगतका कमजोरी सच्याएर अझ विश्वासिलो र समावेशी अवस्था निर्माण गर्नु हाम्रो लक्ष्य हुनुपर्छ ।
हामीलाई विकास चाहिएको छ, तर विकाससँगै विश्वास पनि चाहिएको छ । पूर्वाधार चाहिएको छ, तर त्यसको लाभ सबै नागरिकसम्म पुग्ने व्यवस्था पनि चाहिएको छ । आर्थिक गतिविधि बढ्नुपर्छ, तर अवसर केही सीमित घेरामा मात्र केन्द्रित हुनु हुँदैन ।
यी विषय कुनै एक पुस्ता, राजनीतिक दल वा सरकारको मात्र जिम्मेवारी होइनन् । राज्यका संस्था, निजी क्षेत्र, नागरिक समाज र आम नागरिक सबैको साझा दायित्व हुन् ।
भवन पुनर्निर्माण गर्न इँटा, सिमेन्ट, श्रम र पूँजी चाहिन्छ । तर, विश्वास पुनर्निर्माण गर्न समय, व्यवहार र निरन्तरता चाहिन्छ । त्यो एकै पटक पूरा हुने काम होइन । साना तर विश्वसनीय कामबाट त्यसको सुरुवात हुन्छ ।
सायद, अब हामीले घटनालाई मात्र सम्झिरहने होइन, त्यसबाट प्राप्त सन्देशलाई व्यवहारमा उतार्ने समय आएको छ । असहमति सुन्ने, फरक विचार सम्मान गर्ने र परिवर्तनका लागि शान्तिपूर्ण तथा संस्थागत बाटो बलियो बनाउने अभ्यास आवश्यक छ ।
समय अघि बढिसकेको छ । भवनहरू पनि आफ्नो लयमा फर्कनेछन् । व्यवसाय फेरि चल्नेछन् । नयाँ लगानी आउनेछन् । नयाँ पुस्ताले नयाँ सम्भावना खोज्ने छ । तर, यो सबैसँगै हाम्रा संस्थाहरू पनि बदलिनुपर्छ । पुराना कमजोरी दोहोर्याउँदै नयाँ भविष्य निर्माण गर्न सकिँदैन ।
हिल्टन र भाटभटेनीका दृश्यले मलाई यही सम्झाए । तिहारमा ती भवनमा देखिएको उज्यालो क्षणिक पर्वको सजावट मात्र थिएन । त्यसले भौतिक संरचनासँगै सामान्य जीवन र आशा पनि फर्कन सक्छन् भन्ने संकेत दिएको थियो । तर त्यससँगै समाजको विश्वास, संस्थाको विश्वसनीयता र भविष्यप्रतिको आशा पनि फर्कनुपर्छ ।
तिहारमा हामीले घर, आँगन र सहर उज्यालो बनायौं । अब त्यो उज्यालोको अर्थ हाम्रो व्यवहार र संस्थाहरूमा पनि देखिनुपर्छ ।
आगोपछि भवन उठाउन सकिन्छ । असहमतिपछि संवाद सुरु गर्न सकिन्छ । निराशापछि आशा पलाउन सक्छ । त्यसका लागि विगतमा अड्किरहनु भन्दा त्यसबाट सिकेर अघि बढ्न सक्नुपर्छ ।
देशलाई अब केवल पुनर्निर्माण होइन, नयाँ ढङ्गले निर्माण गर्ने सोच चाहिएको छ ।
किनकि, हामीले समयलाई पछाडि फर्काउन सक्दैनौं । तर, समयसँगै आफूलाई बदल्न अवश्य सक्छौं । अघि बढ्नु भनेको सबै कुरा बिर्सनु होइन । आवश्यक कुरा सम्झेर, कमजोरी स्वीकारेर र सुधारको बाटो रोजेर अघि बढ्नु हो ।
प्रतिक्रिया 4