+
+
Shares

बालश्रमको उमेरहद १३ कि १५ ?

बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि संसदीय समितिमा सुरु भएको सैद्धान्तिक छलफलमै बालबालिकालाई श्रममा लगाउन सकिने न्यूनतम उमेर हदबारे सरकार र सांसदबीच मतभेद देखिएको छ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ मंसिर ९ गते १९:३४

९ मङ्सिर, काठमाडौँ। बालबालिकालाई कति वर्ष पुगेपछि कस्तो काम गर्न दिन सकिन्छ वा सकिँदैन ? भन्ने विषय संसदीय समितिमा उठेको छ। बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा यस्तो प्रश्न उठेको हो।

सरकारले १३ वर्ष उमेर पुगेका बालबालिकालाई अभिभावकको सहमतिमा निश्चित समय र प्रकृतिको हल्का काम गर्न दिने प्रस्ताव गरेको छ। तर विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै सांसदहरूले १५ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नहुने कानुनी व्यवस्था राख्न खोजेका छन्।

यो विधेयकमाथि बुधबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सैद्धान्तिक छलफल थियो। छलफलको सुरुमै नेकपा एमालेका सांसद कृपाराम रानाले बालबालिकाको संवैधानिक हक के–कस्ता छन् भन्ने स्मरण गराए।

‘संविधानको धारा ३९ को उपधारा ४ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा त्यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भनिएको छ। यी कुराहरू हामीले ल्याएको विधेयकमा समावेश छन् कि छैनन् ?’ रानाको प्रश्न छ।

यसपछि सांसद रानाले श्रममा लगाउन सकिने बालबालिकाको उमेर हदको विषय उठाए।

‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) महासन्धि नम्बर १३८ ले न्यूनतम उमेरको कुरा निर्धारण गरेको छ। १५ वर्ष पूरा भएको हुनुपर्ने भन्ने कुराहरू उल्लेख छ। हामीले ल्याएको विधेयकमा कति छ ?’ रानाले प्रश्न गरे।

यही १५ वर्षको उमेर हद पनि विकसित देशको हकमा बढी सान्दर्भिक हुन सक्ने उनको आग्रह छ।

‘कुनै पनि देशको बच्चाको वृद्धि र विकास त्यहाँको भूगोल, हावापानी र खानपिनमा आधारित उसको स्वास्थ्य र पारिवारिक वातावरणले सिर्जना गर्छ,’ सांसद राना भन्छन्, ‘युरोपमा बच्चाको वृद्धि–विकास जुन उमेरमा, अवस्था र किसिमको हुन्छ, त्यो वृद्धि र विकासको अवस्था हामी नेपालमा प्राप्त गर्न सक्दैनौँ। हामीले उमेरको हदमा अलि विचार गर्नुपर्छ।’

जवाफमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव बालश्रम पूर्ण रूपमा निषेध गर्ने कानुन बनाएर मात्रै समाधान दिन नसकिने बताउँछन्।

‘अहिले पनि नेपालमा ११ लाख बच्चा बालश्रममा आबद्ध छन् भनेर तथ्याङ्कले देखाइराखेको छ। त्यसलाई कसरी घटाउनेतिर हामी सोचिराखेका छौँ,’ मन्त्री यादवले भने।

बालबालिकाको शिक्षा, स्वास्थ्य, शारीरिक तथा मानसिक विकास, गरिबी, पारिवारिक अवस्था र कानुन कार्यान्वयनको क्षमता सबैलाई ख्याल गरेर सरकारले विधेयक प्रस्ताव गरेको उनको दाबी छ।

‘कार्यान्वयन नै गर्न नसकिने कानुन बनाइदियो भने त्यो फेल हुन जान्छ। त्यही भएर हामीले प्राक्टिकल र जुन कार्यान्वयन गर्न सकिने, आफ्नो स्थिति हेरेर कानुन बनाउनुपर्छ,’ उनले भने।

उनका अनुसार बालबालिकालाई काममा लगाउन पूर्ण प्रतिबन्ध लगाउने कानुन बनाउनु आदर्श कुरा हुन सक्छ, तर गरिबी, पारिवारिक अवस्था र अभिभावकविहीन बालबालिकाको संरक्षणको जिम्मेवारी राज्यले लिन नसक्ने अवस्थामा निषेध मात्रै व्यावहारिक समाधान नहुन सक्छ।

व्यावहारिक पक्षलाई देखाउँदै मन्त्री यादवले हल्का काममा लगाउन सकिने गरी १३ वर्षको उमेरहद तोकिएको बताए। साथै यो वैज्ञानिक पनि भएको उनको भनाइ छ।

‘हामीले उमेरअनुसार क्याटेगोराइज गरेका छौँ। उमेर तोक्यौँ १३ वर्ष, यो वैज्ञानिक ढंगले नै तोकिएको हो,’ मन्त्री यादवको जवाफ छ, ‘आईएलओभन्दा पनि आफ्नो देशको स्थितिअनुसार यो प्रस्ताव गरिएको हो। हामीले १३ वर्षदेखि १५ वर्षको बच्चाले कस्तो काम गर्न पाउँछ भनेर तोकेका छौं।’

विधेयकमा के छ ?

प्रस्तावित विधेयकको दफा ३ मा १५ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई बालविकाससँग सम्बन्धित कामबाहेक अन्य काममा लगाउन नहुने व्यवस्था प्रस्ताव गरिएको छ।

तर, दफा ३ को उपदफा २ मा प्रतिबन्धात्मक वाक्यांश राख्दै १३ वर्ष उमेर पूरा भएका बालबालिकालाई अभिभावकको सहमतिमा अनुसूचीमा तोकिएका हल्का काममा लगाउन सकिने व्यवस्था गर्ने प्रस्ताव छ।

जहाँ भनिएको छ, ‘…१३ वर्ष उमेर पूरा भएका बालबालिकालाई निजको शैक्षिक क्रियाकलाप तथा विकासमा असर नपर्ने गरी बालबालिका स्वयं र निजको बाबु, आमा वा संरक्षकको सहमति लिई विद्यालय समयअघि, पछि वा बिदाको समयमा अनुसूची–१ बमोजिमका हलुका किसिमका काममा लगाउन सकिनेछ।’

अनुसूची–१ मा १३ वर्ष पुगेकाले गर्न पाउने हलुका किसिमका कामको विवरण छ। हलुका किसिमका कामहरूलाई पाँच भागमा वर्गीकरण गरिएको छ :

क. कृषि तथा पशुपालनसम्बन्धी काम

  • करेसाबारीमा बीउ छर्ने, बिरुवा रोप्ने, सिँचाइ र हल्का गोडमेल गर्ने
  • फूल टिप्ने र फूलबारी सम्भार गर्ने
  • फलफूल टिप्ने (हात पुग्ने उचाइसम्म)
  • पशुलाई घाँसपात र दाना खुवाउने, दूध दुहुन सहयोग गर्ने तथा चराउने
  • अन्नबालीको रेखदेख गर्ने र सिँचाइ गर्ने

ख. घरायसी काम

  • घर बढार्ने र सरसफाइ गर्ने
  • हलुका भाँडा माझ्ने र भान्सामा सहयोग गर्ने (हल्का)
  • साना भाइबहिनीको रेखदेख र स्याहार गर्ने
  • वासिङ मेसिनबाट लुगा धुने
  • बजारबाट हलुका तौलका सामान ल्याउने
  • सामान्य कुटानी, पिसानीसम्बन्धी कार्य गर्ने
  • बाबु–आमा, अभिभावकले लाए–अह्राएका सामान्य घरायसी काम

ग. हस्तकला तथा सीपसम्बन्धी काम

  • ऊनी धागो कात्ने र बुन्ने
  • हातले टोकरी बुन्ने
  • हातले माटाको भाँडा बनाउने
  • हातले साधारण सिलाइ गर्ने तथा टाँक लगाउने
  • माला बुन्ने तथा सामान्य सजावट गर्ने

घ. व्यापारिक तथा कार्यालयसम्बन्धी काम

  • पसलमा सामान मिलाउने र सामान्य सरसफाइ गर्ने
  • कागजात फाइलिङ गर्ने र ओसारपसार गर्ने
  • सामान बिक्री–वितरण गर्ने
  • बिल काट्ने तथा हिसाब राख्ने
  • पुस्तकालय वा कार्यालयमा सहयोगी काम
  • टेलिफोन उठाउने, आगन्तुकलाई जानकारी दिनेलगायतका स्वागत (रिसेप्सन) सम्बन्धी कार्य

ङ. सामुदायिक तथा सामाजिक काम

  • सार्वजनिक बगैँचा एवं विद्यालय परिसर सरसफाइ
  • पुस्तकालयमा पुस्तक व्यवस्थापन
  • साना बालबालिकाहरूलाई ट्युसन पढाउने वा साक्षरता अभियानमा सहयोग गर्ने
  • धार्मिक/सांस्कृतिक कार्यक्रम, विद्यालयका नाटक वा सुरक्षित सञ्चारमाध्यमका कार्यक्रमहरूमा सहभागिता

यी पाँच प्रकृतिका काम १३ वर्ष उमेर पूरा भएकालाई लगाउन सकिन्छ। तर बालबालिका स्वयं र निजको बाबु, आमा वा संरक्षकको सहमति अनिवार्य लिनुपर्छ। साथै, विद्यालय समयअघि, पछि वा बिदाको समयमा मात्रै काममा लगाउन पाइन्छ।

साथै, यस्तो उमेर समूहका बालबालिकालाई दिनमा दुई घण्टा र हप्तामा १२ घण्टाभन्दा बढी काममा लगाउन नहुने प्रस्ताव गरिएको छ।

१५ वर्ष पूरा भएका र १८ वर्ष नपुगेका बालबालिकालाई लगाउन सकिने कामको विवरण पनि छ। यो उमेर समूहका बालबालिकालाई भने दिनमा ६ घण्टा र हप्तामा ३६ घण्टासम्म काममा लगाउन सकिने व्यवस्था छ।

बालबालिकालाई बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म काममा लगाउन नहुने, लगातार तीन घण्टा काम गरेपछि आधा घण्टा आराम दिनुपर्ने र हप्तामा एक दिन सवैतनिक बिदा दिनुपर्ने व्यवस्था पनि विधेयकमा छ।

रोजगारदाताले बालबालिकालाई काममा लगाउनुअघि आवश्यक तालिम दिनुपर्ने, स्वास्थ्य परीक्षण गराउनुपर्ने र स्वास्थ्य अवस्था प्रतिकूल देखिएमा काममा लगाउन नहुने व्यवस्था पनि विधेयकमा छ।

स्थानीय तहले बालबालिकालाई काममा लगाउने स्थलको कम्तीमा तीन महिनामा एकपटक निरीक्षण गर्नुपर्ने व्यवस्था विधेयकमा छ।

विपक्षीको संशोधन : १५ वर्षअघि हुन्न

प्रस्तावित विधेयकका यी व्यवस्थामाथि संशोधन प्रस्ताव राख्दै विपक्षी दलका सांसदहरूले श्रममा लगाउन सकिने १३ वर्षको उमेर हदलाई १५ वर्ष बनाउनुपर्ने र १५ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नहुने प्रस्ट कानुनी व्यवस्था खोजेका छन्।

नेपाली कांग्रेसका सांसदहरू रेखाकुमारी यादव, कालीबहादुर सहकारी, हरिनादेवी कामी र नीनुकुमारी कर्णले १५ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नहुने भनेर एकमुस्ट संशोधन राखेका छन्।

प्रस्तावित विधेयकको दफा २ र ३ लाई नै नयाँ ढङ्गले लेख्नुपर्ने उनीहरूको प्रस्ताव छ।

उनीहरूको संशोधन प्रस्तावमा भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि १५ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई कुनै पनि प्रकारको श्रम वा रोजगारमा लगाउन पूर्ण रूपमा प्रतिबन्ध रहनेछ।’

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले १३ वर्षको सट्टा १५ वर्ष राख्नुपर्ने प्रस्ताव गरेका छन्। अन्य सांसदहरूले बालबालिकाको उमेर, कामको प्रकृति र श्रमको सीमा स्पष्ट पार्नुपर्ने तथा प्रस्तावित व्यवस्थालाई बालअधिकारसँग जोडेर समीक्षा गर्नुपर्ने संशोधन दर्ता गरेका छन्।

विधेयकमाथिको छलफलमा पनि सांसदहरूले यी विषय उठाए। बालबालिकालाई उद्धार गरेपछि सुरक्षित आवास, विद्यालयमा पुनः एकीकरण र परिवारको आर्थिक अवस्था सुधार गर्ने कार्यक्रम पर्याप्त रूपमा सुनिश्चित हुनुपर्नेलगायत विषयमा पनि सरकारको ध्यानाकर्षण गरे।

कांग्रेसका सांसद कालीबहादुर सहकारीले विद्यालय, स्वास्थ्य संस्था, होटललगायत क्षेत्रमा ११/१२ वर्षका बालबालिकासमेत काम गरिरहेको वास्तविकता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। कामको समय, आराम, स्वास्थ्य, पोषण, शिक्षा र व्यक्तित्व विकासमा असर नपर्ने गरी कानुनी व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको आग्रह छ।

बालश्रम नियन्त्रणका लागि स्थानीय तह, सरकारी निकाय र गैरसरकारी संस्थाको भूमिका स्पष्ट हुनुपर्ने भन्दै उनले नियमित अनुगमनको संयन्त्र आवश्यक रहेको बताए।

नेकपा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले बालश्रम पहिले सडक र सार्वजनिक क्षेत्रमा बढी देखिने भए पनि अहिले लुकेर हुने श्रम बढिरहेको बताइन्। यसको कारण खोजेर समाधान गर्नुपर्ने उनको आग्रह छ।

गरिबी, बेरोजगारी, विपद्, अभिभावक विदेश जाने अवस्था, अभिभावक गुमाएका बालबालिका, छात्रावासबाट बाहिरिएका बालबालिका र असमान शिक्षा प्रणालीले बालश्रमको जोखिम बढाएको उनको भनाइ छ।

मनोरञ्जन क्षेत्रमा बालबालिकाको श्रमलाई पनि स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने उनले बताइन्। सांसद श्रेष्ठले भनेकी छन्, ‘दोहोरी, मेला, महोत्सव तथा अन्य मनोरञ्जनात्मक गतिविधिमा कम उमेरका बालबालिका संलग्न हुने अवस्थालाई नियन्त्रण गर्न आवश्यक छ।’

सत्तारूढ पनि सुधारको पक्षमा

रास्वपाका सांसदहरू पनि प्रस्तावित विधेयकमा रहेका कतिपय प्रावधानको प्रस्टता र सुधारको पक्षमा देखिएका छन्।

रास्वपाका सांसद सोम शर्मा बालश्रमको समस्या गरिबी, अभिभावकको संरक्षणको अभाव र परिवारको आर्थिक अवस्थासँग जोडिएको बताउँछन्। यसमा सुधारका निम्ति कानुनसँगै परिवारलाई आर्थिक सुरक्षा र रोजगारीको अवसर दिनुपर्ने उनको आग्रह छ।

उनी भन्छन्, ‘सरकारले एउटा यस्तो काम गरिदियोस् कि आर्थिक अवस्था यदि न्यून छ भने त्यस्तो परिवारले पनि आफ्ना बालबच्चालाई कहीँ पनि लगेर काममा लगाउन बाध्य नहोस्।’

उनका अनुसार पितापुर्खा घरबारविहीन भएका, बुवाआमाको संरक्षणत्वभन्दा बाहिर रहेका बालबालिकाहरू शिक्षाबाट बाहिर छन्, उनीहरू नै श्रममा छन्।

ग्रामीण क्षेत्रका अभिभावकले नै बालबच्चालाई उचित शिक्षादीक्षा दिन नसकेर आफ्नो बालबालिकालाई ‘पढाइदिनु’ भनेर सहर पठाउने गरेको उनले स्मरण गरे। यसरी पठाइएका बालबालिकाको दुरुपयोग भएको देखिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे।

‘परिवारको आर्थिक अवस्था एकदमै न्यून भएको हुनाले बच्चाहरूलाई दुई–चार रुपैयाँ भए पनि कमालान्, घरतिर पैसा पठाउलान् भनेर बालश्रममा लगाउने पनि छन्,’ उनी थप्छन्, ‘केही मान्छेहरूले बालबच्चाहरूलाई आफ्नो ढङ्गले काम गराउन सकिएला भन्ने र अरू प्राविधिक कारणले पनि श्रममा जोडेका छन्।’

रास्वपाकी सांसद प्रभा कार्की बालबालिकालाई कामबाट उद्धार गरेपछि राज्यले तत्काल संरक्षण र सुरक्षित आवासको जिम्मेवारी लिनुपर्ने कानुनी र व्यावहारिक व्यवस्थाको आवश्यकता औँल्याउँछिन्।

उजुरी गरेकै कारण रोजगारदाताबाट प्रतिशोध, हिंसा वा थप जोखिम हुन सक्ने भएकाले उद्धार गरिएका बालबालिकालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था स्पष्ट हुनुपर्ने उनको सुझाव छ।

घरेलु श्रममा संलग्न बालबालिकाको अवस्था पनि विधेयकले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने उनले बताइन्। बालश्रममुक्त घोषणा गरिएका क्षेत्र र परिवारमा बालबालिकालाई विद्यालयमा पुनः एकीकरण गराउने सुनिश्चितता हुनुपर्ने उनको जोड छ।

कार्कीका नजरमा पनि बालश्रमको मुख्य कारण गरिबी हो। यसकारण रोजगारदातालाई कारबाही गर्ने व्यवस्थासँगै गरिब परिवारको आर्थिक अवस्था सुधार गर्ने उपाय कानुनमा आउनुपर्ने उनको आग्रह छ।

उनी भन्छिन्, ‘अति विपन्न परिवारको सामाजिक सुरक्षा, अभिभावकलाई सीप तथा रोजगारी, लक्षित आर्थिक सहायता र विद्यालय उमेरका बालबालिकालाई विद्यालयमै टिकाउने कार्यक्रम आवश्यक छ।’

रास्वपा सांसद प्रकाश पाठक शरणार्थी तथा सीमापारबाट आएका बालबालिकाको श्रमसम्बन्धी विषयलाई पनि प्रस्तावित विधेयकमा समेट्नुपर्ने सुझाउँछन्। उनले भनेका छन्, ‘खुला सीमा र शरणार्थी बालबालिकाको अवस्थालाई ध्यानमा राखेर विशेष संरक्षणको व्यवस्था गर्नुपर्छ।’

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी पनि विधेयकलाई प्रगतिशील बनाउँदै बालश्रम रोजगारदाताका लागि आर्थिक रूपमा महँगो हुनुपर्ने बताउँछन्।

बालबालिकालाई काममा लगाउँदा सस्तो श्रम उपलब्ध हुने भएकाले जरिवाना, कानुनी जिम्मेवारी र पुनर्स्थापनाका प्रावधानबाट रोजगारदातालाई जिम्मेवार बनाउन आवश्यक रहेको र सरकारले पनि यही उद्देश्यका साथ विधेयक ल्याएको उनको विश्वास छ।

‘माननीय सदस्यज्यूहरूबाट आएका संशोधनहरूमा पनि उचित छलफल गरेर के संशोधन गर्नुपर्ने हो, हैन ? दफावार छलफल गर्छौँ,’ सभापति अन्सारीले भने, ‘विज्ञहरूसँगको छलफलदेखि मन्त्रालयको तर्फबाट आएका प्रस्तावसम्म सबैलाई समायोजन गर्न सकियो भने उत्कृष्ट किसिमको विधेयक तयार हुन्छ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?