१० मंसिर, गुल्मी । गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा पशु चौपायालाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाभरका खुरफट्टा जनावरलाई लक्षित गरी सञ्चालन गरिएको खोप अभियान मंसिर ३० गतेसम्म जारी रहनेछ ।
अभियानअन्तर्गत ८२ जना भ्याक्सिनेटर परिचालन गरी जिल्लाका सबै पालिकामा खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ । यस वर्ष जिल्लाभर २ लाख ८१ हजार ६४१ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ ।
गत वर्ष भने जिल्लामा २ लाख ९२ हजार १६५ वटा खुरफट्टा जनावरलाई खोप लगाइएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष खोप लगाउनुपर्ने पशु चौपायाको संख्या केही घटेको केन्द्रले जनाएको छ ।
नेपाललाई सन् २०३० सम्म खोरेतमुक्त बनाउने लक्ष्यसहित पछिल्ला केही वर्षदेखि निरन्तर रूपमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदै आएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेका अनुसार पशु चौपायालाई खोरेत रोगबाट सुरक्षित राख्ने तथा रोगको संक्रमण नियन्त्रण गर्दै नेपाललाई खोरेतमुक्त बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
खोरेत रोग गाई, भैँसी, भेडा, बाख्रालगायत खुरफट्टा जनावरमा लाग्ने संक्रामक रोग भएकाले यसको रोकथामका लागि नियमित खोप महत्त्वपूर्ण मानिन्छ ।
प्रतिक्रिया 4