+
+
Shares

‘ललकारा’ का लागि आमिर खानले बदले घर, क्रिकेट प्रशिक्षण लिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १२:४०

अभिनेता आमिर खान फिल्म ‘ललकारा’ मा भारतीय क्रिकेटका दिग्गज खेलाडी लाला अमरनाथको भूमिका निर्वाह गर्ने तयारीमा छन् । यो स्पोर्ट्स ड्रामा फिल्म आशुतोष गोवारिकरको निर्देशनमा बन्दैछ ।

यो भूमिकाका लागि आमिरले आफ्ना सहकलाकार विक्रान्त मेसी, जितेन्द्र कुमार र धैर्य करवासँग क्रिकेट प्रशिक्षण सुरु गरेका छन् ।

बाँद्रास्थित घरमा पुनर्निर्माणको काम भइरहेकाले आमिर आफ्नी पार्टनर गौरी स्प्रेटसँगै दक्षिण मुम्बईको कोलाबास्थित विलासी अपार्टमेन्टमा सरेका छन् । त्यहाँबाट नजिकै क्रिकेट मैदान रहेकाले उनलाई नियमित अभ्यास गर्न सहज भएको बताइएको छ ।

रिपोर्टअनुसार आमिरसहित फिल्मका अन्य कलाकार दक्षिण मुम्बईस्थित एक प्रमुख क्रिकेट क्लबमा दुई पूर्वभारतीय क्रिकेटरको निगरानीमा प्रशिक्षण लिइरहेका छन्।

यी दुवै प्रशिक्षकले यसअघि कबिर खानको फिल्म ‘८३’ का कलाकारलाई पनि क्रिकेट प्रशिक्षण दिएका थिए । आमिरसहितका कलाकारको प्रशिक्षण नोभेम्बर र डिसेम्बरसम्म चल्ने अपेक्षा गरिएको छ ।

लाला अमरनाथको भूमिकामा आमिर खान

फिल्मका कलाकारहरूको लुक टेस्ट पूरा भइसकेको छ । निर्माण पक्षका अनुसार लाला अमरनाथको भूमिकामा आमिर खानको रूप उपयुक्त देखिएको छ ।फिल्ममा विक्रान्त मेसीले अब्दुल हफिज कारदारको भूमिका निर्वाह गर्नेछन् । जितेन्द्र कुमार र धैर्य करवा पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।

शारीरिक तयारीसँगै आमिर फिल्मको रचनात्मक पक्षमा पनि सक्रिय छन् । रिपोर्टअनुसार मध्य अक्टोबरदेखि रिडिङ सेसन सुरु भएको थियो । त्यस क्रममा आमिरले लेखक पीयूष मिश्रा र नीरज सिंहसँग कथा, पटकथा र संवादबारे पटकपटक छलफल गरेका थिए ।

२५ वर्षपछि आमिर र आशुतोषको सहकार्य

आमिर खान र निर्देशक आशुतोष गोवारिकर २५ वर्षपछि पुनः एकसाथ काम गर्न लागेकाले पनि यो फिल्म चर्चामा छ । यसअघि उनीहरूले सन् २००१ मा प्रदर्शन भएको चर्चित फिल्म ‘लगान’मा सहकार्य गरेका थिए । ‘लगान’ ले विश्वभर प्रशंसा पाउनुका साथै उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा ओस्कारमा मनोनयनसमेत भएको थियो ।

‘ललकारा’ को कथा सन् १९४७ मा भारत-पाकिस्तान विभाजन भएपछि भारत र पाकिस्तानबीच सन् १९५२ मा भएको पहिलो क्रिकेट टेस्ट शृङ्खलाको पृष्ठभूमिमा आधारित छ।

फिल्मको कथा लाला अमरनाथको वरिपरि केन्द्रित हुनेछ । उनले स्वतन्त्र भारतको पहिलो क्रिकेट टोलीको कप्तानी गरेका थिए र ऐतिहासिक टेस्ट शृङ्खलामा टोलीको नेतृत्व गरेका थिए । उक्त शृङ्खला भारतले २–१ ले जितेको थियो । यो शृङ्खला भारतीय क्रिकेट इतिहासको महत्त्वपूर्ण अध्याय मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?