सलमान खानको फिल्म ‘मातृभूमि–मे वार रेस्ट इन पिस’ मा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी अभिनेत्री तान्या देसाईका लागि यो ठूलो अवसर हो । भारतीय अखबार दैनिक भास्करसँगको कुराकानीमा उनले सलमानसँग काम गर्दाको अनुभव सुनाएकी छिन् । तान्याका अनुसार सलमान सेटमा सबै कलाकारलाई सहज महसुस गराउँछन् र सबैलाई समान सम्मान दिन्छन् ।
उनले फिल्ममा आफ्नो भूमिका, सलमानको फार्महाउसमा पाएको उपहार, अभिनय यात्रा र मुम्बईमा सुरुवाती दिनमा भोगेका संघर्षबारे सुनाइन् ।
सलमान खानको फिल्म ‘मातृभूमि’ मा काम गर्ने अवसर कसरी पाउनुभयो ?
फिल्मका निर्देशक अपूर्व लाखियासँग मैले यसअघि वेब सिरिज ‘क्र्याकडाउन’ मा काम गरेकी थिएँ । त्यसमा पनि मैले गर्भवती महिलाको भूमिका निर्वाह गरेकी थिएँ । त्यसयता अपूर्व सर मसँग सम्पर्कमा हुनुहुन्थ्यो । ‘मातृभूमि’ मा पनि यस्तै खालको भूमिका आवश्यक परेपछि उहाँले मलाई अडिसन दिन भन्नुभयो । अडिसन दिएँ र छनोट भएँ । यति ठूलो फिल्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पाउनु मेरा लागि निकै ठूलो कुरा हो ।
फिल्ममा तपाईंको भूमिका कस्तो छ ?
फिल्ममा म एक सैनिक अधिकृतकी श्रीमतीको भूमिकामा छु । यसमा एक सैनिक अधिकृतकी श्रीमतीले कस्ता त्याग र कठिनाइको सामना गर्नुपर्छ भन्ने देखाइएको छ । यसबारे धेरै कुरा भन्न चाहन्नँ । दर्शकले फिल्म हेरेपछि मेरो पात्रसँग जोडिन सक्नुहुनेछ ।
सलमान खानसँगको पहिलो भेट कस्तो रह्यो ?
फिल्मको रिडिङका क्रममा महबुब स्टुडियोमा पहिलो भेट भएको थियो । उहाँ सेटमा आउनासाथ छुट्टै माहोल बनेको थियो । सबै कलाकारसँग निकै राम्रोसँग भलाकुसारी गर्नुभयो । छायांकनका क्रममा पनि उहाँसँग पटक-पटक भेट्ने अवसर मिल्यो ।
उहाँले सबै कलाकारलाई सहज महसुस गराउनुहुन्छ । उहाँको घरबाट सेटमा करिब १०० देखि १५० जनाका लागि खाना आउँथ्यो । उहाँ आफैँ सबैलाई खाना खान बोलाउनुहुन्थ्यो ।
सलमान खानसँग जोडिएको सेटको कुनै सम्झनलायक घटना छ ?
एकपटक अस्पतालको दृश्य छायांकन भइरहेको थियो । दृश्य पनि गम्भीर भएकाले सेटको माहोल त्यस्तै थियो । सलमान सर बीचबीचमा आउनुहुन्थ्यो र कुनै न कुनै ठट्टा गरेर जानुहुन्थ्यो । उहाँको टाउकोमा चोट लागेको थियो । तैपनि उहाँ सबैलाई हँसाइरहनुहुन्थ्यो । उहाँको यही स्वभावले गम्भीर माहोललाई पनि रमाइलो बनाइदिन्थ्यो ।
निर्माताका रूपमा सलमान खान कस्तो लाग्यो ?
सेटमा कुनै किसिमको समस्या भएन । खानादेखि मेकअप र अन्य सुविधासम्म सबै कुरा निकै राम्रो थियो । एसकेएफको फिल्ममा काम गर्दा हरेक कुरा व्यवस्थित हुन्छ ।
फिल्मको एउटा गीतको छायांकन उहाँको फार्महाउसमा पनि भएको थियो । छायांकन सकिएपछि उहाँले कलाकारसँगै प्राविधिक टोलीका केही सदस्यलाई पनि महँगा घडी उपहार दिनुभएको थियो । यो निकै राम्रो व्यवहार थियो । मैले पनि एउटा घडी पाएकी छु र त्यसलाई सुरक्षित राखेकी छु ।
ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा के विशेष लाग्यो ?
सलमान सरले सञ्चारकर्मीलाई एकपटक मात्रै भन्नुभएको थियो– यो ट्रेलर अहिले यहाँ उपस्थित व्यक्तिहरूका लागि मात्रै हो, बाहिर जानु हुँदैन । त्यहाँ करिब १०० देखि १५० जना सञ्चारकर्मी क्यामेरा र मोबाइलसहित उपस्थित थिए । तर, कसैले पनि ट्रेलर चुहाएनन् । चार दिनपछि मात्रै सामाजिक सञ्जालमा ट्रेलर सार्वजनिक गर्ने योजना थियो । उहाँको एउटा आग्रहलाई सबैले यति धेरै सम्मान गरेको देख्दा मलाई निकै राम्रो लाग्यो ।
सलमान खानको कुन बानी सबैभन्दा मन पर्यो ?
उहाँ हरेक व्यक्तिलाई निकै ध्यान दिनुहुन्छ र सबैलाई समान सम्मान गर्नुहुन्छ । सेटमा आउँदा कसैलाई बेवास्ता गर्नुहुन्न । सबैलाई अभिवादन गर्नुहुन्छ । अर्को कुरा, उहाँले वरपरका कलाकारलाई यति सहज बनाइदिनुहुन्छ कि उहाँसँग काम गर्दा स्टारडमको दबाब महसुस हुँदैन ।
बाल्यकालदेखि नै अभिनेत्री बन्ने सपना थियो कि अरू केही बन्न चाहनुहुन्थ्यो ?
बाल्यकालमा मैले कहिल्यै अभिनेत्री बन्छु भन्ने सोचेकी थिइनँ । मेरी आमाको चाहना म सैनिक अधिकृत बनूँ भन्ने थियो । तीन वर्ष एनसीसीको तालिम पनि लिएँ र सी सर्टिफिकेट हासिल गरेँ । तर, केरलामा भएको एउटा तालिम शिविरमा रमाइलो घटना भयो । त्यतिबेला म मांसाहारी खाना र अण्डा खाँदिनथेँ । तालिमका क्रममा एक सरले ठट्टा गर्दै भन्नुभयो, ‘तिमी अण्डा र कुखुराको मासु खाँदिनौ भने युद्धमा कसरी जान्छौ ?’
उहाँको कुरा सुनेर म डराएँ । त्यही मेरो अन्तिम एनसीसी शिविर बन्यो ।
त्यसपछि अभिनय यात्रा कसरी सुरु भयो ?
१२ कक्षापछि मैले नृत्य सिक्न थालेँ । बिस्तारै नृत्य प्रशिक्षक बनेँ । त्यसपछि फिल्ममा ब्याकग्राउन्ड डान्सरका रूपमा काम गर्न थालेँ । अक्षय कुमार र सोनाक्षी सिन्हाको फिल्म ‘होलिडे’ को एउटा गीतमा मैले ब्याकग्राउन्ड डान्सरका रूपमा काम गरेकी थिएँ । उक्त फिल्ममा अक्षय र सोनाक्षी स्टेडियममा फुटबल खेलिरहेको देखिन्छन् ।
‘होलिडे’ को छायांकनका क्रममा अक्षय कुमारसँग जोडिएको कुनै घटना सम्झनुहुन्छ ?
एकपटक केही व्यक्तिले सोनाक्षी म्यामसँग दुर्व्यवहार गर्ने प्रयास गरेका थिए । त्यसबेला अक्षय सर निकै रिसाउनुभएको थियो । उहाँले सोनाक्षी म्यामलाई सुरक्षित रूपमा भ्यानिटी भ्यानसम्म पुर्याउनुभएको थियो ।
त्यतिबेला मेरो उमेर सानै थियो । ठूला कलाकारले आफूसँग काम गर्ने व्यक्तिको सुरक्षामा कति ध्यान दिँदा रहेछन् भन्ने कुरा मैले पहिलोपटक देखेकी थिएँ ।
मुम्बई आएपछिको सुरुवाती यात्रा कस्तो रह्यो ?
म सन् २०१४ को सेप्टेम्बरमा मुम्बई आएकी थिएँ । सुरुवाती दिनमा आर्थिक समस्या थियो । मसँग जम्मा ७ हजार रुपैयाँ मात्रै थियो । भाडा र अन्य खर्च तिरेपछि करिब ५०० रुपैयाँ बाँकी रहेको थियो ।म अन्य तीनजना साथीसँग एउटा सानो कोठामा बस्थेँ तर, मलाई काम गर्नु थियो । त्यसैले कठिनाइका बाबजुद अगाडि बढिरहेँ ।
मुम्बईमा पहिलो काम कसरी पाउनुभयो ?
सुरुवातमा मैले ‘सीआईडी’, ‘क्राइम अलर्ट’ र ‘सावधान इन्डिया’ जस्ता टेलिभिजन कार्यक्रममा काम पाएँ । मेरी एकजना रुममेटले केही कास्टिङ निर्देशकको नम्बर दिएकी थिइन् । मैले उनीहरूलाई म्यासेज गर्न थालेँ ।
पहिलो कामबाट २ हजार ५०० रुपैयाँ पाएकी थिएँ । त्यसपछि फायरवर्क्स प्रोडक्सनसँग मिलेर धेरै एपिसोडमा काम गरेँ । नृत्य जान्नुको फाइदा भयो र लगातार काम पाउन थालेँ । ‘सावधान इन्डिया’ बाट मैले निकै राम्रो पहिचान पाएँ । अहिले पनि धेरैले मलाई त्यही कार्यक्रमका पात्रका रूपमा चिन्नुहुन्छ ।
दक्षिण भारतीय फिल्म र वेब सिरिजसम्म कसरी पुग्नुभयो ?
म यसअघि पनि नृत्य प्रस्तुतिका लागि दक्षिण भारत जाने गर्थें । त्यही क्रममा एकजना निर्माताले मलाई सामाजिक सञ्जालमा फलो गर्नुभएको थियो । करिब एक वर्षपछि उहाँको फोन आयो र तेलुगु फिल्मको प्रस्ताव गर्नुभयो ।
कथा राम्रो लागेकाले बजेट कम भए पनि काम गर्न तयार भएँ । त्यसपछि तमिल वेब सिरिज ‘गडम्यान’मा पनि काम गरेँ । तर, त्यसको टिजर सार्वजनिक भएपछि विवाद उत्पन्न भयो र सिरिज रिलिज हुन सकेन ।
निर्देशक अपूर्व लाखियासँग कसरी भेट भयो ?
फेसबुकमार्फत अपूर्व सरसँग सम्पर्क भएको थियो । एकजना साथीले उहाँबारे बताउनुभएको थियो । त्यसपछि मैले उहाँलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ र उहाँले स्वीकार गर्नुभयो । पछि उहाँले मलाई ‘क्र्याकडाउन’ का लागि अडिसन दिन भन्नुभयो । त्यहीँबाट हाम्रो राम्रो सम्बन्ध बन्यो । उहाँ मेरो मार्गदर्शकजस्तै हुनुहुन्छ । करियरसँग सम्बन्धित निर्णयमा सधैँ सल्लाह र मार्गदर्शन दिनुहुन्छ ।
अब कस्ता भूमिका निर्वाह गर्न चाहनुहुन्छ ?
म आफूभित्र एक कलाकारका रूपमा धेरै सम्भावना रहेको विश्वास गर्छु । आफ्नो अभिनय क्षमता देखाउन पाउने खालका भूमिका निर्वाह गर्न चाहन्छु । स्टार त बन्नै छ, तर उत्कृष्ट कलाकार पनि बन्न चाहन्छु ।
दैनिक भास्करबाट
प्रतिक्रिया 4