९ मंसिर, काठमाडौं । बजारमा सूचीकृत विभिन्न कम्पनीले हाल लाभांश घोषणा गरिरहेका छन् ।
वर्षौंदेखि कम्पनीहरूले लाभांश दिँदै आएका छन्, तर शत प्रतिशत लाभांश लगानीकर्ताले लगेका हुँदैनन् । यसरी नलगेको वा लगानीकर्ताको हातमा नपरेको लाभांश ‘लगानीकर्ता संरक्षण कोष’मा जम्मा हुने गरेको छ । यो कोष कम्पनी रजिस्ट्रार कार्यालयअन्तर्गत सञ्चालन हुँदै आएको छ ।
५ वर्षसम्म पनि लगानीकर्ताले नगद लाभांश लगेनन् भने कम्पनीहरूले यो कोषमा सो रकम जम्मा गरिदिन्छन् । यसरी जम्मा गरिएको लाभांश रकम हालसम्म १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ पुगेको छ । कुल ६३ कम्पनीहरू यो रकम जम्मा गरेका हुन् ।
‘लाभांश घोषणा गरेको तर ५ वर्षसम्म पनि लगानीकर्ताले नलगेको रकम अरू धेरै कम्पनीमा पनि हुन सक्छ, ती कम्पनीलाई पनि कोषमा ल्याउने प्रयास भइरहेको छ’ कम्पनी रजिस्ट्रार कार्यालयकी लेखा अधिकृत शर्मिला पाण्डेले भनिन् ।
बजारमा सूचीकृत सबै कम्पनीहरूलाई कार्यालयले यस्तो रकम जम्मा गर्नका लागि आग्रह गर्दै आएको छ । कोषमा सबैभन्दा बढी रकम नबिल बैंकको जम्मा भएको छ । नबिलको वितरण हुन नसकेको २३ करोड ७४ लाख रुपैयाँ नगद लाभांश कोषमा जम्मा भएको छ ।
कोषमा रकम जम्मा गर्ने कम्पनीमा सबैभन्दा महँगो सेयर भएको कम्पनी युनिलिभरदेखि बजार सञ्चालक नेप्सेसम्म छन् । अधिकांश बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू छन् । तीबाहेक विभिन्न जलविद्युत् कम्पनी, उत्पादनमूलक कम्पनी पनि छन् ।
बर्सेनि कोषमा रकम बढ्दै गएको देखिन्छ । ठिक दुई वर्षअघि मात्रै अर्थात् २०८१ असार मसान्तसम्म कोषमा जम्मा ५७ करोड ४६ लाख रुपैयाँ जम्मा भएको थियो । दुई वर्षकै अवधिमा कोषमा रकम करिब दोब्बर भएको हो ।
लगानीकर्ता संरक्षण कोषमा धेरै रकम जम्मा भएका कम्पनी
| कम्पनी | जम्मा रकम |
| नबिल बैंक | २३ करोड ७४ लाख |
| एनआईसी एसिया बैंक | १३ करोड २६ लाख |
| एनएमबी बैंक | ८ करोड ४९ लाख |
| स्ट्यान्डर्ड चार्टर्ड बैंक | ८ करोड ४६ लाख |
| कृषि विकास बैंक | ८ करोड २८ लाख |
| नेपाल एसबीआई बैंक | ८ करोड १० लाख |
| सिटिजन्स बैंक | ८ करोड ७ लाख |
| चिलिमे जलविद्युत् कम्पनी | ५ करोड ३२ लाख |
| कुमारी बैंक | ४ करोड ४४ लाख |
| सिद्धार्थ बैंक | ४ करोड २० लाख |
लगानीकर्ताले किन लगेनन् लाभांश ?
यसरी नगद लाभांश प्रदान हुन नसक्नुको प्रमुख कारण सेयर डिम्याट नहुनु हो । सीडीएस एन्ड क्लियरिङको तथ्यांकअनुसार ८४ करोड ७३ लाख कित्ता सेयर अझै डिम्याटमा आएका छैनन् । कुल सूचीकृत सेयरमध्ये डिम्याट नभएको सेयर संख्याको हिस्सा ४.०५ प्रतिशत हो ।
हाल सूचीकृत सेयर संख्या २० अर्ब ८७ करोड ५९ लाख कित्ता पुगेको छ । अर्थात् ती सेयर प्रमाणपत्रकै रूपमा छन् वा कतिपय प्रमाणपत्र हराएका वा नष्ट भएका हुन सक्छन्।
‘सेयर प्रमाणपत्र डिम्याट नभएको हकमा नगद लाभांश पनि जाँदैन’ उनले भने ‘सेयर प्रमाणपत्र डिम्याट गर्दा नै बैंक खाता पनि जोडिने भएकाले डिम्याट भएपछि मात्रै नगद लाभांश बैंक खातामा जाने गर्दछ।’
यद्यपि कम्पनीहरूले पटक–पटक सार्वजनिक सूचना जारी गर्दै सेयर प्रमाणपत्र डिम्याट गर्न र लाभांशका लागि सम्पर्कमा आउन आग्रह गर्दै आएका छन्।
‘हामीले पटक पटक सार्वजनिक सूचना जारी गर्दै सेयर डिम्याट गर्न र लाभांश लैजान सेयरधनीलाई आग्रह गर्दै आएका छौँ’ कृषि विकास बैंक सचिव हिमलाल पौड्यालले भने ‘सम्पर्क नम्बर भएका कतिपयलाई फोनबाट जानकारी गराएका हुन्छौँ, तर धेरैको हकमा सम्पर्क नम्बर उपलब्ध छैन।’
यद्यपि, आफूसँग सेयर भएको यकिन भएमा प्रमाणपत्र हराए वा नष्ट भए पनि लगानीकर्ताले पुरानो लाभांशसहित सेयर पाउने उनले स्पष्ट पारे । ‘यदि सेयर प्रमाणपत्र हराएको वा नष्ट भएको भनेर कोही आउँछ भने उसको व्यक्तिगत विवरण रुजु गरी लाभांश, बोनससहितको सेयर डिम्याट खातामा जान्छ’ उनले भने ।
कतिपय सेयरधनी अहिले पनि आउने गरेको उनले बताए । ‘हामीले पहिले गाउँगाउँमा सेयर दियौँ, कतिपयलाई डिम्याट गर्नुपर्ने जानकारी पनि छैन, प्रमाणपत्र नै राखिरहनु भएको होला वहाँहरुका हकमा नगद लाभांश दिन समस्या भएको छ’ पौड्यालले भने ।
नेपालमा २०७३ सालदेखि मात्रै डिम्याट खाता अनिवार्य गरिएको हो । त्यसअघि लाभांश लिन लगानीकर्ता आफै धाउनुपर्ने बाध्यता थियो, यही कारण पहिले वितरण नभएको लाभांश धेरै हुने गर्दथ्यो ।
‘पछिल्ला वर्ष तुलनात्मक रुपमा लगानीकर्ताले नलगेको लाभांश घटेको देखिन्छ, तर नआएकाको वर्षौंदेखि नै रहिरहेको छ’ उनले भने।
डिम्याट खाता अनिवार्य गर्नुअघि (२०७३ पहिले) लाभांश लिन कम्पनीमै धाउनुपर्ने, लाभांशभन्दा गाडी भाडा नै धेरै लाग्ने गरेकाले लगानीकर्ता थोरै लाभांश लिन जाँदैनथे । पछिल्लो समय भने एक रुपैयाँ लाभांश पनि बैंक खातामा जम्मा हुने गरेको छ ।
दाबी आए फिर्ता गरिन्छ रकम
यो रकम सम्बन्धित लगानीकर्ताले जुनसुकै समय दाबी गर्न सक्ने भएकाले यसको संरक्षण आवश्यक रहेको कम्पनी रजिस्ट्रार कार्यालयकी लेखा अधिकृत पाण्डे बताउँछिन् ।
‘यदि लगानीकर्ता सम्बन्धित कम्पनीमा गएर प्रक्रिया पूरा गरेमा कम्पनीले रकम फिर्ताका लागि सिफारिस गर्छन्, त्यो रकम कम्पनीको खातामै फिर्ता गरिन्छ, कम्पनीमार्फत फेरि लगानीकर्तामा जान्छ’ पाण्डेले भनिन्।
कतिपय लगानीकर्ता अहिले पनि सेयर डिम्याट गराउँदै लाभांश लैजाने गरेको पौड्यालले बताए । ‘त्यसरी लाभांश लिन आएपछि लगानीकर्ता संरक्षण कोषबाट रकम फिर्ता लिई लगानीकर्तालाई दिने गर्दछौं’ उनले भने ।
गत आर्थिक वर्षमा मात्रै ५५ लाख ५७ हजार रुपैयाँ रकम कोषमार्फत कम्पनीहरूलाई नै फिर्ता भएको कार्यालयको तथ्यांक छ।
ब्याज रकम कम्पनी रजिस्ट्रार कार्यालयले जथाभावी खर्च गर्छ
लगानीकर्ताले पछिबाट पुरानो लाभांश पाए पनि लाभांशबाट सिर्जित ब्याज भने पाउने छैनन् । यो कोषको ब्याजबाट आर्जित रकम लगानीकर्ताको सचेतना तथा सुरक्षामा खर्च गर्नुपर्ने उद्देश्य हो ।
तर, कम्पनी रजिस्ट्रार कार्यालयले जथाभावी खर्च गर्दै आएको छ । ‘प्राप्त ब्याजको रकम कार्यालयको खर्चमै प्रयोग हुने गरेको छ’ पाण्डेले भनिन्।
तर यो ब्याज रकम लगानीकर्ताकै हितका लागि खर्चिनुपर्ने माग हुँदै आएको छ । ‘प्राप्त रकम वास्तवमा ग्रामीण क्षेत्रमा पूँजी बजारसम्बन्धी शिक्षा, चेतना अभिवृद्धि तथा उपयोगी तालिमका लागि खर्चिनु पर्दथ्यो’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने, ‘तर एउटा सरकारी कार्यालयले दैनिक प्रयोजनमा खर्चिनु राम्रो होइन ।’
लाभांशस्वरुप जम्मा भएको साँवा रकम भने संरक्षण भइरहनुपर्ने ढकालले बताए । ‘वर्षौंपछि सेयरधनीले लाभांश दाबी गरेमा पनि पाउने व्यवस्था छ, तसर्थ साँवा रकम कोषले संरक्षण गर्नुपर्छ, ब्याज रकम लगानीकर्ताको हितमा प्रयोग हुुनुपर्छ’ उनले भने । अन्यथा लगानीकर्ताले लाभांश माग्न आएमा सोको ब्याजसहित फिर्ता हुनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया 4