+
+
Shares

सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउनेगरी काम हुँदैछ : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १५:०१

१० मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सिसडोलको फोहोरलाई अब दैनिक तीन हजार किलो हटाउने गरी काम सुरु गर्ने योजना बनाएको जानकारी दिएका छन् ।

बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठूलो रहेको पनि बताए ।

महानगरले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने गरी काम गर्नुपर्ने बताए ।

‘बञ्चरे डाँडामा फोहोरलाई यो पटक हामी तीन हजार किलो हटाउँदैछौं दैनिक । विस्तारै यसलाई स्केलअप गरेर एक दिन एउटा सपना हामी पनि के देख्यौं भन्दा काठमाडौं महानगरले आफ्नो एक किलो फोहोर पनि कतै पनि ल्याण्डफिल्ड साइटमा लगेर प्रदुषित गर्दैन भन्ने एउटा सपना हामी पनि देख्न सक्छौं,’ मन्त्री श्रेष्ठले भने ।

एलपीजी मुक्त स्थानीय सरकार भन्ने सरकारको उद्देश्यलाई यो कामले पूरा गर्ने उनको भनाइ छ । यसका लागि नीतिगत अस्पष्टता रहेको भएपनि आवश्यक छलफल र समन्वय गरेर अघि बढ्ने जानकारी पनि उनले दिए ।

‘एलपीजी मुक्त स्थानीय तह घोषणा गर्दा एके पटक त हुँदैन तर शुरुवात कहीँबाट भयो भने यो कार्यक्रमले सम्बोधन गर्नेछ । यसमा आम नागरिकमा जनचेतना अभिवृद्धि र सक्रियता आवश्यक छ । घरबाटै फोहोर वर्गीकरणका लागि काठमाडौं महानगरपालिकाले केही कार्यक्रम ल्याउनैपर्छ,’ उनले भने ।

मन्त्री श्रेष्ठले अन्तर स्थानीय सरकारसँग पनि समन्वय गरेर अघि बढ्न काठमाडौं महानगरपालिकालाई आग्रह पनि गरे ।

महानगरपालिकाले अघि सारेको तीन कार्यक्रममध्ये काठमाडौंलाई रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास निकाल्ने काम पूरा भएको उनले बताए । काठमाडौंको फोहोरबाट १४ किलोवाट विद्युत् उत्पादन हुने अनुमान गरिएको भएपनि अहिले उपकरण बिग्रिएकाले केही समय सम्भव नरहेको बताए । तर विद्युत् उत्पादनका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रलाई उपकरण बनाउने काममा लाग्न निर्देशन दिइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?