+
नेपाली क्रिकेट :

विश्‍वकप छनोटमा पुग्‍न नेपाललाई प्लेअफको परीक्षा

२०८३ मंसिर  १२ गते १६:४४ २०८३ मंसिर १२ गते १६:४४

लिग २ बाट सिधै विश्वकप छनोटमा पर्न नसकेपछि अब प्लेअफबाट भएपनि विश्वकपको ढोका उघार्ने अर्को फलामे ढोका पनि खोल्नुपर्ने चुनौती नेपाली टोलीसामू छ ।

१० मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष चारभित्र पर्न नसकेको नेपालले सन् २०२७ को एकदिवसीय विश्वकप खेल्ने सम्भावना जीवित राख्न अब क्वालिफायर प्लेअफ खेल्दै छ। घरेलु मैदानमै हुने प्रतियोगितामा शीर्ष चारमा पर्न सके नेपालले विश्वकप छनोटको अर्को चरण अर्थात् ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ।

यसअघि सन् २०२३ को विश्वकप छनोटमा सिधै प्रतिस्पर्धा गरेको नेपालले यसपटक भने छनोट चरणमै पुग्न प्लेअफको बाटो तय गर्नुपरेको हो। लिग–२ मा सोचेअनुसार नतिजा निकाल्न नसक्दा नेपाल छैटौं स्थानमा सीमित बन्यो।

अनुभवी प्रशिक्षक स्टुअर्ट लको आगमनपछि नेपालले ५० ओभरको फर्म्याटमा लय समात्ने अपेक्षा गरिएपनि सुरुमा गरेको उत्साहजनक प्रदर्शनपछि नेपाली टोलीले राम्रो प्रदर्शन गर्न सकेको छैन ।

लिग २ बाट सिधै विश्वकप छनोटमा पर्न नसकेपछि अब प्लेअफबाट भएपनि विश्वकपको ढोका उघार्ने अर्को फलामे ढोका पनि खोल्नुपर्ने चुनौती ल अनि नेपाली टोलीसामू छ ।

लिग–२ का ३६ खेलमा नेपालले १४ जित, २० हार र दुई नतिजाविहीन खेलसहित ३० अंक जोड्यो। शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले सिधै ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्दा नेपालसहित पाँचौं स्थानको नामिबिया, सातौंको क्यानडा र आठौंको यूएई प्लेअफमा धकेलिए।

प्रत्यक्ष छनोटको अवसर गुमाए पनि नेपालका लागि विश्वकप यात्राको ढोका अझै खुला छ। आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुने प्लेअफमा लिग–२ का चार टोलीसँगै आईसीसी च्यालेन्ज लिगबाट आएका चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।

च्यालेन्ज लिग ‘ए’ बाट जर्सी र कुवेत तथा ‘बी’ बाट इटाली र युगान्डा प्लेअफमा छनोट भएका छन्। आठ टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन्। सात खेलको समाप्तिपछि अंकतालिकाको शीर्ष चारमा रहने टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन्।

घरेलु समर्थकमाझ खेल्ने फाइदा नेपाललाई छ। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले डिसेम्बर ४ मा इटालीको सामना गर्नेछ। नेपालका सबै सात खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।

नेपालका सात खेल

नेपालले प्लेअफमा इटालीसँग खेल्दै यात्रा सुरु गर्नेछ। त्यसपछि डिसेम्बर ६ मा युगान्डा, डिसेम्बर १० मा यूएई, डिसेम्बर १२ मा जर्सी र डिसेम्बर १४ मा क्यानडासँग खेल्नेछ।

त्यसपछि डिसेम्बर १८ मा नामिबिया र अन्तिम खेलमा डिसेम्बर २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। सबै खेल कीर्तिपुरमा हुने भएकाले घरेलु मैदान र समर्थकको साथ नेपालका लागि महत्त्वपूर्ण हुनेछ।

नेपालले सामना गर्ने टोलीमध्ये नामिबिया, क्यानडा र यूएई लिग–२ कै प्रतिद्वन्द्वी हुन्। लिग–२ मा नेपालले यी तीनै टोलीसँग प्रतिस्पर्धा गरिसकेको छ। तर च्यालेन्ज लिगबाट आएका इटाली, युगान्डा, जर्सी र कुवेतसँगको प्रतिस्पर्धा भने फरक चुनौती हुनेछ।

इटालीसँग नेपालले टी-२० विश्वकपमा पहिलोपटक खेलेको थियो । ५० ओभरको क्रिकेटमा नेपालको तेस्रो भेट हुनेछ भने ओडीआई फर्म्याटमा पहिलो भेट हुनेछ । इटालीले ओडीआई नै पहिलोपटक खेल्न लागेको हो ।

यस्तै युगान्डासँग नेपालले सातौंपटक खेल्न लागेको हो । यसअघि यी दुई टोली ५० ओभरको खेलमा ६ पटक खेलेका छन् । युगान्डाका लागि पनि अब हुने प्लेअफका खेल पहिलोपटक ओडीआई खेल्ने अवसर हो ।

यता जर्सीसँग नेपालले सन् २०१० मा नेपालमै खेलेको थियो तर त्यसबेलाको अवस्था अनि मैदानसमेत फरक थियो। नेपालले जर्सीलाई त्यसबेला हराएको थियो भने पछिल्लोपटक नेदरल्यान्ड्समा भएको लिग २ सिरिजभन्दा अघि असारमा दुई अभ्यास खेल्दा दुवै खेल जितेको थियो । ओडीआईमा भने यी दुई टोली पहिलोपटक खेल्न लागेका हुन् ।

ओडीआई विश्वकपको सपना

तीनपटक टी-२० विश्वकप खेलिसकेको नेपाली क्रिकेट टोलीले हालसम्म ओडीआई विश्वकप भने खेल्न सकेको छैन । नेपालका लागि ५० ओभरको विश्वकप सधैं सपनाको रूपमा रहँदै आएको छ ।

त्यसकारण नेपालका लागि प्लेअफ महत्त्वपूर्ण प्रतियोगिता हुनेछ । प्लेअफ पार गर्न नसके अब अर्को चार वर्ष अझै कुर्नुपर्ने छ । नेपालले प्लेअफ पार गर्न सकेमा सन् २०२७ को विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ।

१० टोली सहभागी हुने ग्लोबल क्वालिफायरमा यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले स्थान सुरक्षित गरिसकेका छन्। प्लेअफबाट शीर्ष चार टोली थपिएपछि १० टोलीको सूची पूरा हुनेछ।

ग्लोबल क्वालिफायर सन् २०२७ को फेब्रुअरी र मार्चमा आयोजना हुनेछ। १० टोलीलाई पाँच–पाँच टोलीको दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सेमिफाइनल र फाइनल खेलाइनेछ। ग्लोबल क्वालिफायरको विजेताले विश्वकपको समूह चरणमा सिधै स्थान बनाउनेछ भने दोस्रो, तेस्रो र चौथो हुने टोलीले सुपर सिरिज खेल्नेछन्। सुपर सिरिजबाट विश्वकपको समूह चरणमा पुग्ने बाँकी एक टोलीको टुंगो लाग्नेछ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर २ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ। प्रतियोगितामा १४ टोली सहभागी हुनेछन्। आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेसहित आठ टोलीले आईसीसी एकदिवसीय वरीयताका आधारमा विश्वकपमा स्थान बनाइसकेका छन्। बाँकी चार स्थानको टुंगो ग्लोबल क्वालिफायर र त्यसपछिको सुपर सिरिजबाट लाग्नेछ।

नेपालका लागि अहिलेको पहिलो लक्ष्य घरेलु मैदानमा हुने प्लेअफको शीर्ष चारमा पर्नु हो। त्यसो गर्न सके मात्र विश्वकप खेल्ने सम्भावनालाई अर्को चरणसम्म जीवित राख्न सक्नेछ।

क्रिकेट विश्वकप छनोट प्लेअफ नेपाली क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय