+
+
Shares

ठुलागी हिमतालले देखाएको ठूलो संकट

मनाङको ठुलागी ताल सन् २०१८ देखि २०२५ सम्म बीचका केही वर्ष उतारचढाव देखिए पनि समग्रमा ठुलागी तालको क्षेत्रफल र लम्बाइ निरन्तर विस्तार हुँदै गएको छ । सन् २०२५ सम्म आइपुग्दा ठुलागीको क्षेत्रफल १७ प्रतिशत र लम्बाइ १४ प्रतिशतले बढेको देखिन्छ ।

विनोद घिमिरे विनोद घिमिरे
२०८३ मंसिर ११ गते १०:३०
ठुलागी हिमताल ।

११ मंसिर, काठमाडौं । ‘म २०४७ सालमा शिक्षक भएर यहाँ आउँदा ठुलागी (डोना) ताल निकै सुन्दर थियो । तालको नीलो पानी, त्यसको माथि देखिने हिमनदी र हिमनदीबाट बग्ने पानीले यो ठाउँको सौन्दर्य नै छुट्टै बनाएको थियो । अहिले त्यो दृश्य छैन, हिमनदी नै हराइसकेको छ ।’

यो मनाङको नासो गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको भनाइ हो । उनका अनुसार ठुलागी केवल हिमताल होइन, तीन दशकभन्दा लामो समयको आँखै अगाडि बदलिएको भूगोल हो । उनले देखेको तालको प्राकृतिक सौन्दर्यमा ठूलो परिवर्तन आइसकेको छ । तालमाथि देखिने हिमनदी पछाडि हट्दै गएको छ, आसपासका डाँडामा हिउँ कम हुँदै गएको छ र कतिपय ठाउँमा नांगा चट्टान देखिन थालेका छन् ।

२०४७ साल वैशाखमा सरकारी विद्यालयको शिक्षक भएर सो ठाउँमा पुग्दा उनले आकर्षक गंगापूर्ण र ठुलागी देखेका थिए । नीला हिमनदीको थप आकर्षण त छँदै थिए ।

तर, समयसँगै ताल र आसपासको भूगोल बदलिँदै गयो । गुरुङका अनुसार २०७७ सालतिर तालको पानी घटेको र स्वरूप फेरिएको देखेपछि स्थानीय स्तरमा ताल पुन:स्थापना तथा संरक्षणको प्रयास थालिएको थियो । गाउँपालिकाले डोजर लगाएर ताल केही फराकिलो बनायो । ‘२०८० सालसम्म म पुन: त्यो ठाउँमा पुग्दा तालको स्वरूप केही सुधारिएको भए पनि पुरानो प्राकृतिक दृश्य फर्किएको थिएन,’ गुरुङले गत बुधबार अनलाइनखबरलाई सुनाए, ‘हिमनदी हराउँदै गएको र आसपासका क्षेत्रमा हिउँ कम भएको परिवर्तन भने स्पष्ट देखिन थालेको थियो ।’

गुरुङले देखेको यो परिवर्तन ठुलागी तालको मात्रै कथा होइन । हिमालमा तापक्रम वृद्धि, हिमनदीको तीव्र क्षय र हिमतालको विस्तारले निम्त्याइरहेको जलवायु संकटको एउटा प्रत्यक्ष संकेत हो ।

सात वर्षमा चार गुणा बढ्यो ठुलागी ताल

जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको विश्लेषणअनुसार मनाङस्थित ठुलागी (डोना) ताल पछिल्ला वर्षहरुमा तीव्र विस्तार भएको देखिएको छ ।

समुद्री सतहबाट करिब ५ हजार मिटर उचाइमा रहेको ठुलागी ताल मोरेनले थुनेर बनेको छ । सन् १९५८ मा यसको क्षेत्रफल करिब ०.२२ वर्गकिलोमिटर थियो । सन् १९९५ मा बढेर ०.७६ वर्ग किलोमिटर पुग्यो । सन् २००९ मा अझै बढेर ०.९४ वर्गकिलोमिटर पुगेको यो ताल सन् २०१८ मा भने थोरै घटेर ०.९३ वर्गकिलोमिटर अभिलेख भयो ।

केन्द्रका उपकार्यकारी निर्देशक डा. राजन भट्टराईका अनुसार ठुलागी तालको क्षेत्र सन् २०१८ को तुलनामा पुन: विस्तार हुँदै गएको छ । सन् २०१८ को तुलनामा सन् २०१९ मा यसको क्षेत्र ६ प्रतिशत र लम्बाइ एक प्रतिशतले बढेको छ ।

सन् २०२० मा ४ प्रतिशत क्षेत्र घटे पनि लम्बाइ भने २ प्रतिशतले बढेको छ । सन् २०२१ मा क्षेत्र ५ प्रतिशत र लम्बाइ २ प्रतिशत बढेको छ ।

यसैगरी सन् २०२२ मा क्षेत्र ९ प्रतिशत बढेको छ भने लम्बाइ ५ प्रतिशत यथावत छ ।

सन् २०२३ मा क्षेत्र र लम्बाइ समान ८ प्रतिशतले बढेको छ ।

सन् २०२४ मा क्षेत्र १३ प्रतिशतले र लम्बाई १२ प्रतिशतले बढेको देखिन्छ ।

सन् २०२५ मा क्षेत्र १७ प्रतिशतले र लम्बाई १४ प्रतिशतले बढेको केन्द्रको विश्लेषण छ ।

ठुलागी ताल विस्तार हुनुको मुख्य कारण जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि, ठुलागी हिमनदी पग्लिनु र हिउँ तथा बरफ पग्लिएर तालमा पानी थपिनु मुख्य कारण हो ।

सो तालको परिवर्तनलाई प्रत्यक्ष देख्दै/भोग्दै आएका नासो गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले अनलाइनखबरसँग भने, ‘यस्तै अवस्था रहीरहे ताल फुट्न धेरै वर्ष लाग्दैन । मलाई त सात वर्ष अघि नै ताल फुटिसक्छ जस्तो लाग्छ ।’

मनाङको नासो गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ

यदि ताल फुटेमा सबैभन्दा बढी जोखिम तालबाट निस्कने डोना खोला, ताल गाउँ तथा मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा हुन सक्ने अनुमान छ ।

अध्यक्ष गुरुङ ठुलागी तालको जोखिमलाई स्थानीय भूगोल र नदीको बहावसँग जोडेर हेर्छन् । उनी मनाङकै नासो गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ का क्षेत्र प्रभावित हुन सक्ने सम्भावना रहेको बताउँछन् ।

त्यस्तै, गोरखाका जगत, दोर्दी, राइनास, पालुङटार, लम्जुङको बेसीसहर र तनहुँको भानु नगरपालिकासम्म क्षति पुग्न सक्ने उनी अनुमान गर्छन् ।

‘त्यसैले तालको पानी घटाउँदै विपदको पूर्वसूचनाको संयन्त्र व्यवस्थित र विस्तार गर्न तत्काल आवश्यक छ,’ उनले भने ।

जोखिम घटाउने सरकारी प्रयास

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले गरेको अध्ययन प्रतिवेदनमा ठुलागी ताललाई उच्च जोखिमयुक्त तालको सूचीमा तेस्रो स्थानमा राखिएको छ । सूचीको पहिलो स्थानमा दोलखाको च्छो रोल्पा र दोस्रो स्थानमा सोलुखुम्बुको इम्जा ताल छन् ।

च्छो रोल्पा र इम्जा तालको पानीको सतह नेपाली सेनाको सहयोगमा घटाइसकेको सरकारले अब ठुलागीसहित थप चार हिमतालको पनि जल सतह घटाउन लागेको छ ।

नेपाल सरकार र यूएनडीपीको सहयोगमा सञ्चालन हुने ‘ग्लोफ सञ्जीवनी’ परियोजनाअन्तर्गत मनाङको ठुलागी, संखुवासभाको लोअर बरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको पानी घटाउने योजना अघि बढाइएको छ ।

योजनाअनुसार ठुलागी, लोअर बरुण र लुम्दिङ छो हिमतालको पानीको सतह करिब तीन मिटर घटाइने छ । होंगु–२ को सतह भने एक मिटर घटाउने लक्ष्य राखिएको छ । परियोजनाले हिमतालको पानी घटाउने कामसँगै तल्लो तटीय क्षेत्रमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने योजना पनि अघि सारेको छ ।

‘ग्लोफ सञ्जीवनी’ परियोजनाअन्तर्गत जलसतह घटाइने चार ताल

ग्रीन क्लाइमेट फण्डको सहयोगमा चार हिमतालको पानीको सतह घटाउने तथा मर्स्याङ्दी, अरुण, दूधकोशी र लोअर बरुण नदी क्षेत्रका जोखिमयुक्त स्थानमा पूर्वसूचना प्रणाली विस्तार गर्ने गरिने जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक डा. राजन भट्टराई बताउँछन् ।

परियोजनाको कार्यान्वयन अवधि २०२७ देखि २०३३ सम्म रहने छ । यसको कुल लागत ४९.९४ मिलियन अमेरिकी डलर छ ।

‘ग्लोफ सञ्जीवनी’ परियोजनामा यूएनडीपीको तर्फबाट मुख्य प्राविधिक अगुवा तथा समन्वयकर्ता रहेका दीपक केसीका अनुसार यस परियोजनाबाट चार लाख मानिस प्रत्यक्ष लाभान्वित हुनेछन् भने अप्रत्यक्ष लाभ २० लाख मानिसलाई हुने अनुमान छ ।

तीव्र गतिमा पछाडि हट्दै हिमनदी

हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदीहरू पछाडि हट्ने गति पछिल्लो दशकमा थप तीव्र भएको विभिन्न अध्ययनले देखाएका छन् । २०११ देखि २०२० को दशकमा हिमनदीहरू अघिल्लो दशकको तुलनामा ६५ प्रतिशत तीव्र गतिमा पछाडि हटेको केन्द्रको अध्ययनले देखाएको छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालका अनुसार हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरू निरन्तर घट्दै छन् । ठुलागी हिमनदी पनि प्रतिवर्ष करिब ३० मिटरको दरले पछाडि हटिरहेको छ ।

‘हामीले ओभरल हिन्दुकुश हिमालयमा नै मात्रै कुरा गर्दापनि प्रत्येक वर्ष ग्लेसियर्सहरू घट्दै गइरहेको छ । अघिल्लो दशकभन्दा २०११ देखि २०२० को दशकमा ६५ प्रतिशत तीव्र गति यो घटिरहेको विभिन्न अध्ययनहरूले देखाएको छ । हामीले ठुलागीलाई मात्रै हेर्ने हो भने पनि प्रतिवर्ष ३० मिटरको दरले ग्लेसियर घटिरहेको छ,’ बराल भन्छन् ।

हिमनदी पछाडि हट्नु र हिमतालको पानीको मात्रा तथा क्षेत्रफल बढ्नुले हिमाली क्षेत्रको भौगोलिक जोखिम पनि बदलिरहेको छ । हिमनदीबाट पग्लिएको पानी हिमतालमा जम्मा हुँदै जाँदा तालको आकार बढ्न सक्छ । तालको विस्तारले प्राकृतिक बाँध फुटेर वा हिमनदीका ढिक्का खसेर हिमताल विस्फोट भई बाढी आउने जोखिमसमेत बढ्छ ।

सन् १९८७ देखि २०१७ सम्म नेपालका हिमतालहरूको समग्र क्षेत्रफल २५ प्रतिशत बढेको तथ्यांकले देखाउँछ । हिमताल विस्तारको यो प्रवृत्तिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावसँगै हिमतालजन्य विपद्को जोखिमसमेत बढ्दै गएको संकेत गर्छ । नेपालमा गत भदौ १० गतेको भोटेकोशी–रसुवा बाढी, कात्तिक २५ को बूढीगण्डकीको बाढी, सोलुखुम्बुको थामे बाढीका क्षति पछिल्ला उदाहरणहरू हुन् ।

ग्लोफबाट गम्भीर क्षति

हिमताल विस्फोटबाट हुने बाढी (ग्लेसियल लेक आउटबर्स्ट – ग्लोफ) हिमाली क्षेत्रको प्रमुख विपद् जोखिममध्ये एक हो ।

सन् २०२० मा यूएनडीपी र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनले नेपाल, चीन र भारतका हिमाली क्षेत्रमा ४७ वटा सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । तीमध्ये नेपालमा २१, चीनको तिब्बतमा २५ र भारतमा एउटा रहेको अध्ययनले देखाएको छ ।

तर कहिलेकाहीँ जोखिम पहिचान नै नगरिएका ताल वा पोखरीले पनि क्षति पुर्‍याउने गरेका छन् । सोलुखुम्बुको थामे बाढी यस्तै नोटिसमै नरहेको साना पोखरीका कारण सिर्जना भएको थियो ।

इसिमोडको अध्ययन प्रतिवेदन अनुसार थामे गाउँभन्दा माथि थियाङ्बो हिमनदीको फेदीमा रहेका ५ वटा साना–ठूला हिमतालहरूमध्ये एउटाको बाँध एक्कासि फुटेर ठूलो परिमाणमा पानी र गेग्रानसहितको बाढी आएको थियो । सो बाढीले पर्यटकीय केन्द्र थामे गाउँ तहसनहस पारेको थियो ।

यसैगरी गत भदौ १० गते भोटेकोशी–रसुवा बाढी र कात्तिक २५ गतेको गोरखाको बूढीगण्डकी बाढी पनि उस्तै प्रकृतिका थिए ।

बूढीगण्डकीको तुलनामा भोटेकोशी–रसुवा बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।

भोटेकोशी बाढीबाट भएको क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी–रसुवा बाढीमा परी १ हजार ४५७ जनाको ज्यान गयो भने ५ हजार २८५ जना बेपत्ता छन् ।

प्राधिकरणको नेतृत्वमा तयार गरिएको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनअनुसार भौतिक संरचनामा १ अर्ब ८१ करोड २० लाख अमेरिकी डलर बराबरको क्षति भएको छ । त्यस्तै, आर्थिक नोक्सानी ८८ करोड ३३ लाख अमेरिकी डलर अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा पुन:स्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७७ करोड ४९ लाख अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।

यी केही प्रतिनिधि घटना हुन् । नेपाल र आसपासका हिमाली क्षेत्रमा पछिल्लो ६ दशकमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना भएका छन् ।

हिमतालको पानी घटाउनु जोखिम न्यूनीकरणको एउटा उपाय भए पनि त्यो मात्र पर्याप्त नभएको इसिमोडका ग्लोफ विज्ञ सुदन विकास महर्जन बताउँछन् । ‘हिउँ बस्ने चट्टान नै भत्किएर र हिमनदीको ढिक्का खसेर भोटेकोशी–रसुवा बाढीले अकल्पनीय रुप लिएको थियो । त्यसैले अबका दिनमा यस्ता कुराहरुमा पनि ध्यान पुर्‍याउनुपर्छ,’ महर्जनले भने, ‘हिमनदी हराउँदै जानु र हिमतालको जोखिम बढ्नु प्रकृतिको परिवर्तन मात्रै होइन, हिमालदेखि नदीको तल्लो तटीय क्षेत्रसम्मको सुरक्षा, जीविका र पूर्वाधारसँग जोडिएको संकट हो । त्यो संकट न्यूनीकरण गर्न धेरै काम गर्नुपर्ने छ ।’

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?