+

रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च

२०८३ मंसिर  १३ गते १२:५५ २०८३ मंसिर १३ गते १२:५५

१३ मंसिर, मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च कर्णालीको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ । राष्ट्रिय खेलकुदको प्रचारसँगै कर्णालीका प्राकृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको ट्रफी तथा टर्च टुर रारा पुगेको हो ।

नेपालकै ठूलो तालका रूपमा परिचित रारा समुद्री सतहबाट करिब दुई हजार ९९० मिटर उचाइमा अवस्थित छ । रारा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल प्राकृतिक सौन्दर्य र नीलो पानीका कारण कर्णालीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च रारासम्म पुर्‍याउनुले खेलकुदलाई पर्यटनसँग जोड्ने प्रयासलाई थप विस्तार गरेको छ । प्रतियोगिताको प्रचारसँगै कर्णालीका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने लक्ष्यसहित ट्रफी तथा टर्च टुर सञ्चालन गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा शुक्रबार दैलेखको श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी टुर सुरु गरिएको थियो । म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा अघि बढेको टोली कालीकोट र जुम्ला हुँदै रारा पुगेको हो ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत खेलाडी सहभागी छन् ।

यसअघि टोलीले जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा ट्रफी तथा ओलम्पिक टर्च पुर्‍याएको थियो । जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र टर्च त्यसपछि रारा लगिएको हो ।

रारामा पहिलोपटक ओलम्पिक टर्च पुर्‍याउन पाउँदा खुसी लागेको ओलम्पियन दीपक विष्टले बताए । यस प्रयासले कर्णालीको सम्भावनालाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । राष्ट्रिय खेलकुदको प्रचारलाई खेलस्थलमा मात्र सीमित नराखी प्रदेशका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यसम्म विस्तार गर्नु सकारात्मक प्रयास भएको उनले बताए ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ । प्रतियोगिताका १० खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित प्रदेश रंगशालामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।

१०औँ राष्ट्रिय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय