Comments Add Comment

मधेसमा ठूला जनसभा गर्ने एमालेको तयारी

१२ माघ, काठमाडौं । नेकपा एमालेले तराई मधेसका प्रमुख शहरमा पार्टीको मधेस नीतिबारे प्रष्ट पार्न ठूला जनसभा गर्ने भएको छ । केही ठाउँमा भने आन्दोलननै गर्नुपर्ने अध्यक्ष केपी ओलीको योजना छ ।

uml-1तराई मधेसबाट प्रतिनिधित्व गर्ने सभासदहरुको सुझावपछि पार्टीले तत्कालै मधेस केन्द्रित अभियान तथा जनसभा आयोजना गर्न लागेको स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बताए ।

आइतवारको संसदीय दलको बैठकमा मोरङ क्षेत्र नम्बर १ का सभासद ऋषि पोखरेलले तराईमा पार्टीका शीर्ष नेतानै गएर मधेसबारे एमालेको नीति र पाँच जिल्लाको विवादबारे प्रष्ट पार्नुपर्ने बताएका थिए ।

सभासदहरुको सुझाव पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा ठूला जनसभा र कार्यकर्ता प्रशिक्षणको कार्यक्रम राख्न पार्टीको केन्द्रीय सचिवालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

‘सप्तरी लगायतका केही ठाउँमा आन्दोलननै गर्नुपर्छ, झापा मोरङ सुनसरी र कैलाली कन्चनपूरका जनताको साथ लिएर हाम्रो अडान सहि छ भन्ने स्थापित गर्नुपर्छ’ ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो ‘मधेशमा ठूलै अभियान लिएर गएपछि सबै बढारिन्छन्’ ।

चाँडै पार्टीको स्थायी कमिटी बैठक बसेर सांगठानिक र कार्यक्रमहरुको योजना बनाइने ओलीले सभासदहरुलाई बताएका छन् । ‘तपाइहरु जिल्ला जानुस, कार्यक्रम र योजना उतै आउछ’ ओलीको भनाइ थियो ।

झापा मोरङ र सुनसरीको विवादबारे विराटनगरमा जनसभा आयोजना गर्ने एमालेको तयारीका छ । त्यस्तै सप्तरीमा प्रतिरोध सभा गरिने भएको छ ।

जनकपूर, वीरगन्ज, नेपालगन्ज, नवलपरासी र कैलालीमा पनि जनसभा आयोजना गर्ने गरि तयारी भइरहेको सचिवालयले जनाएको छ ।

जनजातिलाई पनि प्रशिक्षण

एमालेले पार्टीभित्रै पनि आदिवासी जनजाति, मधेशी लगायत समुदायको प्रतिनिधित्व गर्ने कार्यकर्तालाई प्रशिक्षण तथा राष्ट्रिय भेलामार्फत एकताबद्ध बनाउन खोजेको छ ।

‘यसबीचमा दलहरुको वार्तामै हाम्रो सबै समय गयो, दिमाग पनि त्यतै केन्दि्रत भयो, अब हामीले हामीभित्रै अझ बलियो एकता बनाउनुपर्नेछ’ नेता माधवकुमार नेपालले भने ‘अब आदिवासी जनजाति, मधेशी सबै कमरेडहरुमा रहेको केही आशंका छ भने नेतृत्व बसेर त्यसलाई प्रष्ट पार्नेछ’ ।

एमाले पोलिटव्यूरो सदस्य शेधरन राईले एमालेका आदिवासी जनजाति कार्यकर्ताहरु एकल जातीय पहिचानको पक्षमा नरहेको प्रष्ट पारे । ‘केही साथीहरुलाई कतिपय विषयमा आशंका हुन सक्छ, नेतृत्वले एउटा कार्यक्रमबाटै सबैलाई प्रष्ट पार्नेछ’ राईले भने ।

पार्टीमा प्राप्त सुझावहरुकै आधारमा मधेशी समुदाय र आदिवासी जनजाति समुदायमा एमालेको नीति अझ प्रष्ट पार्न केन्द्रीय तहबाटै कार्यक्रम तय हुन लागेको उपमहासचिव बिष्णु पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment