७ वैशाख, काठमाडौं । भारत बंगालको यू-१९ क्रिकेट टीमका पूर्व कप्तान अंकित केसराको सोमबार मृत्यु भएको छ । शुक्रबार इस्ट बंगाल र भबानिपुरबीच भएको खेलका क्रममा क्याच लिने क्रममा आफ्नै टीमका साथी सौरभ मोण्डलसँग जुध्न पुगेका थिए ।
फिल्डमा घाइते भएको केहि समयमै उनलार्इ हस्पिटलमा पुर्याइएको थियो । तर, उपचारको क्रममा सोमबार मृत्यु भएको छ । उनका बुवा राजकुमार केसरीले चिकित्सकहरुको लापरवाहीको कारण आफ्नो छोराको मृत्यु भएको आरोप लगाएका छन् ।
बंगाल क्रिकेट एसोसिएसनको पहिलो डिभिजनको नकआउट खेलमा यो घटना भएको हो ।
उनी सन् २०१४ को यू-१९ विश्वकपको भारतीय ३० खेलाडीको भित्र पर्न सफल भएका थिए । उक्त दिन उनी वैकल्पिक फिल्डरका रुपमा मैदान प्रवेश गरेका थिए ।
मण्डलले ४४ औं ओभरमा बलिङ गरेका थिए । त्यसबेला अंकित डिप कभर क्षेत्रमा फिल्डिङ गरेका थिए ।
ब्याट्म्यानले कभरतिर प्रहार गरेको बल क्याच गर्ने प्रयास गर्दै मण्डल आफैं डिप कभरतिर दौडिए । अंकित पनि डिप कभरबाट कभर तिर आएपछि उनीहरू ठोक्किएका थिए ।
एकजना फिल्डरका अनुसार मण्डलको घुँडाले अंकितको टाउको र घाँटीमा चोट लागेको थियो । मण्डलसँग जुधेपछि अंकित सास फेर्न नसक्ने भएका थिए । साथै उनको मुखबाट पनि रगत आइरहेको थियो ।