महाभूकम्पमा परेर घरबार गुमाएका र पीडित बनेकाहरुका लागि नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका कलाकारहरुले गरेको कामलाई प्रशंसा गर्नैपर्छ । तर, कलाकारले गर्दै नगरेको कामलाई गर्यो भन्नु तर्कसंगत हुँदैन ।
केही दिनयता नायक राजेश हमालले नेदरल्याण्डमा पुगेर १ अर्ब उठाएको खबरले नेपाली मिडियामा खुबै चर्चा पाइरहेको छ । नायक राजेश हमालले १ अर्ब उठाएको खबर आएपछि यसले विभिन्न खालका तरंग पनि पैदा गरेको छ ।
तर, नेदरल्याण्डमा व्यक्तिगत भ्रमणका लागि पुगेका हमालले १ अर्ब रुपैयाँ आफ्नै पहलमा उठाएको भन्ने खबरलाई भने कार्यक्रममा उपस्थित तथा नेदरल्याण्डमा रहेका नेपालीले खण्डन गरेका छन् । तर, कार्यक्रममा उपस्थित भएकोमा भने नायक राजेश हमाललाई उनीहरुले धन्यवाद दिएका छन् ।
भूकम्प पीडितको सहयोगका लागि नेदरल्याण्डका सरकारी मिडिया र डच कम्यूनिटीले सञ्चालन गर्दै आएको गिरो ५५५ (खाता नम्बर ५५५) कार्यक्रममा नेपालीहरुले हमाललाई निमन्त्रणा गरेका थिए । स्थानीय मिडियासँग नेपालीहरुले उनलाई नेपालका सुपरस्टार भनेर चिनाएका थिए । यसपछि हमालले पनि स्थानीय मिडियामा केही शब्दहरु राखेका थिए ।
स्रोतले भन्यो- हमालले स्थानीय मिडियासँग नेपालमा आएको विपत्तीका बारेमा जानकारी गराउँदै सहयोग गर्न भनेका मात्र हुन्, हमालले गरेको यो काम सह्रानीय छ ।
कार्यक्रममा सहभागी एक नेपालीले आफ्नो फेसबुकमा लेखेका छन्-‘राजेश हमालले १ अर्ब उठाए भन्ने समाचार तथ्यहीन छ, यसले नेदरल्याण्डमा रहेका नेपाली र नेपाली भाषा बुझ्ने डचहरु विक्षिप्त बनेका छन् ।
गिरो ५५५ को पहलमा यो रकम उठेको थियो, रकम संकलन गर्ने कार्यक्रममा राजेश हमालले आफ्नो उपस्थिती जनाएर सहयोग मात्रै गरेका हुन् । फेसबुकमा अहिले धेरै नेपालीले राजेश हमालले यति ठूलो रकम नउठाएर कार्यक्रममा सहभागी मात्र भएको जनाएका छन् ।’
नायक हमालले पनि आफ्नो फेसबुकमा यो राहत संकलनको सम्पूर्ण श्रेय गिरो ५५५, नेदरल्याण्डमा रहेको नेपाली र डचहरुलाई जाने बताउँदै आफ्नो पहलमा सो रकम उठेको नभई आफूले कार्यक्रममा उपस्थितिमात्रै जनाएको स्पष्ट पारकेा छन् ।