Comments Add Comment

फिल्मी रिलिजको संकारः ‘आफ्नालाई मार्ने, पराइलाई पोस्ने’

बलिउड र हलिउडसँग डराएर आफैलाई सक्छन् निर्माता

नेपाली चलचित्रको सबैभन्दा ठूलो दुश्मन को ? बलिउड कि हलिउड चलचित्र ? धेरै चलचित्रकर्मीको जवाफ ‘बलिउड’तर्फ बढी सोझिन्छ । तर, के नेपाली चलचित्रको सबैभन्दा ठूलो दुश्मनी बलिउडसँग छ ? के बलिउडकै कारणले हाम्रा चलचित्र पछि परेका हुन् त ?

हामीलाई हामीसँग प्रतिस्पर्धा गर्न सहज लाग्छ । आफू सकिएर त केही भएन, आफ्नै देशमा बनेको अर्को चलचित्रलाई सक्नका लागि तछाडमछाड गर्छौ । अनी भन्छौ, बलिउडले गर्दा हामी उठ्नै सकेनौ । साच्चै, यो कमजोर मानसिकताको उपज हो ।

एउटा निर्माताको चलचित्र डुब्दा त्यो निर्माता मात्र डुब्दैन, उठ्दै गरेको चलचित्रको पिल्लरबाट एउटा इट्टा भूँइमा झर्छ । अनी, त्यो इट्टालाई फेरि पिल्लरमा अड्याउन ठूलै परिश्रम गर्नुपर्छ । रोचक कुरा त के छ भने, एकैसाथ रिलिज भएका चलचित्रका निर्मातासँग कमाइको आँकडा वुझ्ने हो भने जवाफ आउँछ–‘हामीसँगै रिलिज भएका अरुको भन्दा माथि छ ।’ यो भन्दा दयनिय मानसिकता अरु के होला ? अर्को डुब्यो भन्दा मख्ख पर्नेहरु आफू किन डुबे भनेर कहिले विश्लेषण गर्दैनन् । बरु, बच्नका लागि भनिदिन्छन्–‘हाम्रो मात्र होइन, अर्को निर्माताको चलचित्र पनि चलेन ।’ कठै गरिब सोच ।

आफूले ३२ ल्याएर फेल हुँदा पश्चाताप गर्न नसक्नेहरु अरुले ३४ ल्याएर पास मात्र हुँदा रमाउँछन् ।

अब, यहाँ उल्लेख गर्न लागिएको मुख्य कुरोमा प्रवेश गरौ । वैशाखको १३ गतेलाई चलचित्रको छायांकनदेखि प्रदर्शन मिति पक्का गरेर बसेको चलचित्र ‘दाल भात तरकारी’ एक साता पछि सरिदियो । यो चलचित्र वैशाख २० मा पुग्छ भनेर चलचित्रकर्मीले सोचेका थिएनन् । तर, वैशाख १३ मा रिलिज हुन लागेको हलिउड चलचित्र ‘एभेन्जर’को डरले ‘दाल भात तरकारी’ जस्तो शक्तिशाली मानिएको चलचित्र पनि अछुतो रहेन । हुनत, यो चलचित्रको निर्माण टिमले हलिउड चलचित्र नभई आफ्नै चलचित्रको काम नसकिएको जानकारी दिदै आएको छ । ‘एभेन्जर’लाई देशभरका हल खाली गर्दै मह संचारले बनाएको शक्तिशाली मानिएको चलचित्र एक साता पछि सर्यो ।

यो चलचित्र एकसाता पछि सर्दा यसले चलचित्र रिलिजको क्यालेन्डरलाई भद्रगोल मात्र पारिदिएको छैन, चलचित्र क्षेत्रमा नै निराशा छाइदिएको छ । यो चलचित्रलाई २ साता सम्मानका लागि छाड्ने भन्दै वैशाख २७ गतेलाई रिलिज मिति पक्का गरेको चलचित्र ‘जात्रै जात्रा’को रिलिज मिति एक साता पछि धकेलियो । तर, जानकारहरु भन्छन्–‘दाल भात तरकारी’को प्रभाव यसलाई परेको होइन । बलिउडको ठूलो मानिएको चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’को हेजिमोनी यो चलचित्रमा परेको हो ।

‘जात्रै जात्रा’को टिमले बलिउड चलचित्रलाई बाटो छाडेर आफ्नै देशका निर्माताको कठालो समात्यो । यो मितिमा पहिले नै ‘विर विक्रम २’ले प्रदर्शन मिति तय गरेको थियो । अब, यी दुई चलचित्र जुध्दा असर दुबैलाई पर्छ । त्यो भन्दा पनि मानसिक रुपमा ‘विर विक्रम २’मा लगानी गर्ने निर्मातामाथि तनाव बढ्छ । हुनत, ‘विर विक्रम २’ले पनि ‘प्रेमदिवस’ चलचित्रसँग आफूलाई भिडाएको हो । अहिले ‘प्रेमदिवस’का निर्माता रिलिज डेट खोजेर पछि पछि पुगेका छन् ।

साच्चै, हामी कुन संकारमा हिडिरहेका छौ । ‘दाल भात तरकारी, जात्रै जात्रा’ जस्ता शक्तिशाली चलचित्र पनि बलिउड र हलिउडको हेजोमोनीमा काँप्ने हो भने, ५२ हप्ताको एक बर्षमा आफू आफू जुधेर विदेशीलाई बाटो स्पष्ट छोडिदिने हो ?
के हामीसँग बलिउडका कलाकारसँग जुधेर अगाडि बढ्ने हिम्मत पनि हराएको हो ?

के यो संकारले नेपाली चलचित्रमा लगानी गर्ने वातावरण बन्ला ? के यसले निर्मातालाई मानसिक रुपमा कमजोर बनाउँदैन ? साच्चै, चलचित्र क्षेत्र भद्रगोल नै भद्रगोल अवस्थामा कुँदिरहेको छ । यसलाई सम्हाल्ने कसले ? चलचित्र निर्माता संघ एकिकरण गरेर चलचित्र संघसँग ६० र ४० प्रतिशतको शेयरको बार्गेनिङ गर्ने बुँदा तयार गरेर मख्ख छ । तर, चलचित्रले हलबाट पैसा नकमाएपछि ६० र ४० त के पूर्ण शेयर दिएर पनि कुनै अर्थ छैन ।

आफूले आफूलाई मार्ने तर अरुसँग भाग्ने प्रथा बन्द गर्ने कि यसरी नै चल्ने हो ? चलचित्र क्षेत्रको यो भद्रगोल अवस्था कहिले सुध्रिएला ? साच्चै, यतिबेला ‘चलचित्र क्षेत्रले एउटा नेतृत्व क्षमता भएको मानिस खोजिरहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment