१५ जेठ, काठमाडौं । भूकम्प पीडितहरुको उद्धार, राहत वितरणमा सघाउन नेपाल आएका विदेशी टोलीहरु फर्कने क्रम जारी छ । शुक्रबार भारतीय सेनाका १२८ जना स्वदेश फर्किएका छन् ।
भारतीय सेनाको ९६ जनाको टोली भने अझै नेपालमा छ । गत वैशाख १२ गते नेपालमा भूकम्प आएको ६ घण्टाभित्रै भारतीय सेनाको टोली उद्धारका लागि काठमाडौं आइपुगेको थियो ।
भूकम्प प्रभावितहरुलाई सघाउन नेपाल आएका क्यानाडाका ७१ र अमेरिकाका १४ गरी जम्मा ८५ जना विदेशी सैनिकहरु पनि हाल नेपालमै छन् । उनीहरु फिर्ता हुने क्रममा रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सक्रिय नेपाली सेना
यसैबीच नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, जोखिमयुक्त भवन भत्काउने, भग्नाबशेष हटाउने र भूकम्पबाट अवरुद्ध सडक खुलाउने कामलाई जारी राखेको छ ।
सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने काम गर्दै आएको नेपाली सेनाले शुक्रबार दोलखा, गोरखा, घादिङ र रामेछाप जिल्लाका विभिन्न स्थानहरुमा ४ हजार ७०० किलो खाद्यान्न र ७ हजार ८०० किलो राहत सामाग्री पुर्याएको छ । नेपाली सेनाले शुक्रबार पनि काठमाडौं उपत्यकाका २७ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुबाट २ लाख ५६ हजार लिटर खानेपानी वितरण गरेको छ ।
सेनाको टोलीले शुक्रबार मित्रराष्ट्र क्यानडाको टोलीसँग मिलेर काठमाडौंका शंखरापुर र साँखुमा ७० मिटर बाटो खोलेको छ ।
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले बुङमती रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर, पाटन क्षेत्र, हनुमान ढोका, विश्व निकेतन स्कुल त्रिपुरेश्वर र टेकुस्थित बमबिकटेश्वर महादेव मन्दिरको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने काम जारी राखेको छ ।