
८, चैत, चितवन । चितवनमा यस बर्ष हुने एसइई परीक्षामा ११ हजार २५४ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।
साधारण नियमित तर्फ ११ हजार सात सय, प्राविधिक तर्फ एक सय ५२, नयाँ ग्रेड वृद्धितर्फ ५४ र पुरानो ग्रेड वृद्धितर्फ ४१ जना विद्यार्थी परीक्षामा सहभागिता जनाउँदैछन् ।
जिल्लाका २२६ विद्यालयका ४२ वटा परीक्षा केन्द्र रहेका छन् । तीमध्ये पाँच हजार ६११ छात्र र पाँच हजार ६४३ छात्राले परीक्षामा सहभागीता जनाउने छन् । यसपटक ५२ जना विद्यार्थीहरुले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागिता जनाउन नपाउने भएका छन् ।
चैत १० गतेदेखि सुरु हुन लागेको परीक्षामा मापदण्ड पूरा नगरेकाले विद्यार्थीहरु परीक्षामा सामेल हुन नपाएका हुन् ।
७५ प्रतिशत हाजिरी नपुगेका विद्यार्थीहरुले एसइई परीक्षामा सहभागी जनाउन नपाएको शिक्षा विकास तथा समन्वय इकाई चितवनका परीक्षा शाखा नासु रघुनाथ अधिकारीले जानकारी दिए ।
परीक्षामा सामेल हुन नपाएका अधिकांश विद्यार्थी छात्रा छन् । ती मध्ये पनि धेरैजसो जनजाति समुदायका रहेको उनको भनाई छ । जसमा दुई जना चेपाङ विद्यार्थी पनि छन् ।
गत शैक्षिक सत्रमा जिल्लाका ९७ विद्यार्थीले एसइई परीक्षा दिन पाएका थिएनन् । चितवनमा ९७ वटा सामुदायिक विद्यालय, १२२ वटा संस्थागत विद्यालय र एक खुल्ला विद्यालय छन् । जिल्लाका ६ वटा सामुदायिक विद्यालयले प्राविधिक विषय पढाउँदै आएका छन् ।
प्रतिक्रिया 4