तपाइँ एप्पलको आइफोन सिक्स प्लस चलाउनुहुन्छ ? के त्यसको क्यामरामा चित्त बुझिरहेको छैन ? यदि त्यसो हो भने चिन्ता नलिनुहोस् । एप्पलले सित्तैमा तपाइँको आइफोनको क्यामरा बदलेर नयाँ क्यामरा हालिदिनेछ ।
गत वर्षको अक्टोबरमा लन्च गरेको ५.५ इन्चको आइफोन सिक्स प्लसको क्यामरामा केही गडबडी फेला परेपछि एप्पलले सित्तैमा सिक्स प्लसका क्यामरा फेरिदिन लागेको हो । यो आइफोनमा ८ मेगापिक्सेलको आइसाइट क्यामरा रहेको छ ।
सिक्स प्लसको क्यामरामा देखिएको गडबडीका कारण तस्वीरहरु धमिलो आएको भन्दै उपभोक्ताको गुनासो बढेपछि एप्पलले गुनासो सुनुवाइको नयाँ तरिका सुरु गर्न लागेको हो ।
एप्पलले भनेको छ – हामीले पत्ता लगाएका छौँ की सेप्टेम्बर, २०१४ देखि जनवरी २०१५ को बीचमा बेचिएका केही आइफोन सिक्स प्लसका क्यामरामा गडबडी देखिएको छ । जसको कारण आइफोनले खिचेका तस्वीर धमिलो देखिने गरेको छ ।
सोही समस्या समाधानका लागि त्यस्ता गडबडीयुक्त आइफोन सिक्स प्लसका क्यामरालाई सित्तैमा फेरिदिएर राम्रो क्यामरा राखिदिने काम एप्पलले सुरु गरेको हो ।
तपाइँको आइफोनको क्यामरा बदलिन्छ की नाइँ ?
एप्पलले तपाइँको आइफोनको क्यामरा बदलिदिन्छ की नाइँ भन्ने कुरा जान्नका लागि कम्पनीले एउटा वेबपेज सार्वजनिक गरेको छ । यो वेबपेजमा तपाइँले आफ्नो आइफोन सिक्स प्लसको सिरियल नम्बर हाल्नुपर्छ ।
त्यसपछि उक्त सिरियल नम्बरका आधारमा एप्पलले तपाइँको आइफोन क्यामरा फेर्नुपर्ने हो वा होइन भन्ने कुरा बताइदिन्छ । यदि फोन मर्मत गरेर क्यामरा फेर्नुपर्ने रहेछ भने मर्मत गर्नुभन्दा पहिले फोनको डाटाको ब्याकअप राख्न नभुल्नुहोला ।
कसरी थाहा पाउने सिरियल नम्बर ?
आइफोनको सेटिंग्समा गएर जनरल को अप्सन छान्नुहोस् । त्यसपछि अबाउट भन्ने अप्सन छनोट गर्नुहोस् । त्यसमा तपाइँको आइफोनको मोडेल, सिरियल नम्बर तथा आइएमइआइ नम्बर प्राप्त हुनेछ ।
यी शर्त लागू हुनेछन्
निशुल्क क्यामरा फेर्ने कार्यक्रम आइफोन किनेको ३ वर्षसम्ममा मात्र लागू हुनेछ । तपाइँको आइफोन सिक्स प्लस किनेको ३ वर्ष भित्रमा कुनै एपल सर्भिस सेन्टरमा गएर क्यामरा फेर्न सक्नुहुनेछ ।
ऐपलका अनुसार जुन देशमा आइफोन किनेको हो उहीँ देशमै मात्रै यसको क्यामरा बदल्न सकिनेछ । –बीबीसी