Comments Add Comment

सामाजिक सञ्जालले कसरी दाम्पत्य सम्बन्ध धराप पार्दैछ ?

‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।’ सामाजिक सञ्जालको प्रयोग/दुरुपयोगको प्रसंगमा यो नेपाली उखान ठ्याक्कै मिल्छ ।

अहिले अधिकांश फेसबुक, ट्वीटर, इन्टाग्राम आदिको पहुँचमा छन् । यी माध्यामहरु आफैमा खराब छैनन् । डरलाग्दा छ्रैनन् । किनभने कतिपय यही माध्याम अपनाएर सामाजिक सेवाका कामहरु गरेका छन् । कतिले जीवनदान पाएका छन् । कतिले भविष्य उज्वल बनाएका छन् । कतिले अर्थोपार्जन गरेका छन् । कतिले नेम र फेम कमाएका छन् ।

तर, अर्काथरी छन् जसले सामाजिक संजालको व्यापक दुरुपयोग गरेका छन् । यिनीहरुको विकारग्रत मनोवृत्तिलाई सामाजिक सञ्जाल ‘बाँदरलाई भर्‍याङ’ जस्तै भएको छ ।

सामाजिक सञ्जालको दुरुपयोगले हाम्रै सामाजलाई पनि नराम्ररी ध्वस्त बनाइरहेको छ । यसकै कारण कतिले आत्महत्याको बाटो रोजेका छन् भने कति समाजबाट भागेका छन् ।

दाम्पत्यमा खटपट

सामाजिक सञ्जालको साइड इफेक्ट दाम्पत्य सम्बन्धमा पनि परेको छ । हुन त कतिपय सामाजिक सञ्जालकै माध्यामबाट जोडिएका छन् । विवाह गरेका छन् । सामाजिक सञ्जालले नै उनीहरुको दुरी मेटाइदिएको छ ।

तर, कतिपय दम्पतीको सम्बन्धमा खटपट ल्याउने माध्याम पनि सामाजिक सञ्जाल नै बनेको छ ।

सामाजिक सञ्जालप्रतिको क्रेज र दुरुपयोगले कतिपय दम्पतीको सयन कक्ष चिसिदैछ । त्यतीमात्र होइन, उनीहरुको सम्बन्ध टुटेको पनि छ । जीवनभर नछुट्ने कसम खाएर जोडिएका यस्ता सम्बन्धमा सामाजिक सञ्जाल त्यस्तो विकार बनेर प्रवेश गरेको छ, जसले उनीहरुलाई फेरि कहिल्यै नभेट्नेगरी अलग गराइदिएको छ । यही कारण राम्रो घरबार, छोराछोरी, परिवार विक्षिप्त बनाइदिएको छ ।

सोशल मिडिया: संकटको बिजारोपण

अहिले धेरैजसो दम्पती शोसल मिडियामा रमाइरहेका हुन्छन् । फेसबुक, ट्वीटरमा उनीहरु आफ्नो भावना व्यक्त गरिरहेका हुन्छन् । सोशल मिडियामार्फत भर्चुअल साथीसँग अन्र्तसंवाद गरिरहेका हुन्छन् । यो क्रेज कतिसम्म छ भने उनीहरुले आफ्नो परिवार वा पार्टनरलाई समय दिन सकिरहेका छैनन् । वा आवश्यक ठानिरहेका छै्रनन् ।

सोशल मिडियाको बढ्दो क्रेजले दम्पतीको सम्बन्धलाई धरापमा पार्दै लगेको छ । यसले दाम्पत्य सम्बन्धमा दुरी पैदा गरेको छ । हालै गरिएको एक अध्ययनले पनि यसलाई थप पुष्टि गरेको छ ।

प्लोस वनमा प्रकासित रिपोर्ट अनुसार यदि तपाईं पनि शोसल मिडियामा जरुरीभन्दा बढी समय दिइरहनुभएको छ भने त्यसको सोझो असर तपाईंको दाम्पत्य जीवनमा परेको छ । यो अध्ययन कार्नेगी मेलोन युनिभर्सिटी र युनिभर्सिटी अफ कनसासका शोधकर्ताले पुरा गरेको हो ।

शोधकर्ताले भिन्न भिन्नै पाँच अध्ययनलाई एकमुष्ठ बनाएर निचोड निकालेका थिए । उक्त निचोड अनुसार शोसल मिडियामा आफ्नो सम्बन्ध बढी शेयर गर्दा पनि तपाईंको सम्बन्धमा समस्या आउन सक्छ ।

अध्ययन अनुसार शोसल मिडियामा आफ्नो वा व्यक्तिगत जानकारी धेरै पटक साझेदार गरिरहँदा पार्टनरको मनमा आशंका पैदा हुन्छ । उनमा के धारणा बन्छ भने, उनले मेरो जीवनलाई खास महत्व दिएका छैनन् । त्यही कारण तपाईंको पाटर्नर एक्लो अनुभव गर्न थाल्छन् ।

अर्थात पार्टनरले सामाजिक सञ्जालमा पोस्ट गर्ने सामाग्री, फोटो आदि पनि दाम्पत्य सम्बन्ध चिरा पार्ने कारण बनेको छ । त्यसो भए कसरी यो समस्याको हल गर्ने त ?

उक्त अध्ययनपछि अर्को निचोड निकालिएको छ कि, सामाजिक सञ्जालमा कुनैपनि सामाग्री पोस्ट गर्दा पार्टनरलाई पनि आफ्नो हिस्सा बनाउनुपर्छ । यसले केही मात्रामा भएपनि दुबैबीच विश्वासको वातावरण बन्छ ।

यदि पार्टनरले अरु कसैको फोटो शेयर गर्ने वा उनको बारेमा स्टाटस लेख्ने गर्दा पनि दम्पतीबीचको सम्बन्धमा चिसोपन आउन सक्छ ।

यद्यपी सोशल मिडियाले दाम्पत्य सम्बन्ध बलियो बनाउने वा सुमधुर राख्ने संभावना कम हुन्छ । सोशल मिडियामा लिप्त हुँदा त्यसको असर दम्पतीको सम्बन्धमा पर्छ । उनीहरुले आपसमा व्यक्तिगत समय विताउन पाउँदैनन् । त्यसैले सोशल मिडयालाई अनावश्यक रुपमा प्रयोग गर्ने र आफ्ना पार्टनर एवं परिवारलाई समय नदिने प्रवृत्तिले पारिवारिक जीवन बर्बाद हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment