+
+
Shares
स्थलगत :

विनाशको बिम्ब उल्टो घर र उद्धारकर्ता रमेशको कथा

बगरमा बदलिएको सोले बजारमा उल्टिएको एउटा घरसहित केही भग्नावशेष बाँकी छन्। यो घर रमेशका बुवा शिवप्रसादले जीवनभर कमाएको सम्पत्ति थियो। नयाँ घरसहित रमेशको परिवारको छुट्टै सपना र योजना थियो। तर बाढीले परिवारको सबै सम्पत्ति खोलाको बीचमा लगेर रमिता बनाइदियो।

सइन्द्र राई सइन्द्र राई
२०८३ असोज २० गते ८:३०

१९ असोज, रसुवा (बेत्रावती) । आफ्नै घर बाढीले बगायो। परिवारको वर्षौंको कमाइ खोलाको बीचमा पुग्यो। तर उनी भने आफ्नै घरको भग्नावशेष हेरेर बस्न पाएनन्। अरूको जीवन बचाउन बाढी प्रभावित क्षेत्रमा खटिए।

बेत्रावतीको सोले बजारमा बाढीले उल्टाइदिएको एउटा घर अहिले विनाशको बिम्ब बनेको छ। सामाजिक सञ्जालमा भाइरल भएको यही घर रमेश अधिकारीको हो।

भोटेकोसीमा आएको बाढीले सोले बजारलाई बगरमा परिणत गर्‍यो। घर, पसल र सम्पत्ति बगायो। कतिपय मानिस बेपत्ता भए। बजारको बीचमा उल्टिएर अडिएको रमेशको घर भने अहिले पनि बाढीको विनाश सम्झाउने एउटा दृश्य बनेर उभिएको छ।

अनलाइनखबरको टोली सोले बजार पुग्दा यही घरले सबैभन्दा बढी ध्यान तान्थ्यो। तर त्यो घर कसको हो भन्ने थाहा पाउन केही समय लाग्यो।

असोज ६ गते बेत्रावतीमा सशस्त्र प्रहरीको उद्धार टोलीसँगै खटिरहेका रमेशसँग भेट भयो। उनी उत्तारगया गाउँपालिका, रसुवास्थित नीलकण्ठ विद्यालयको होल्डिङ सेन्टरमा खाना खान पुगेका थिए।

उद्धार टोलीका सदस्यका रूपमा भेटिएका रमेशले त्यही क्रममा बताए, सामाजिक सञ्जालमा देखिएको उल्टो घर उनकै हो।

‘घरको फिनिसिङ पोहोर मात्रै भएको हो। अझै एक–दुई लाख रुपैयाँको काम बाँकी थियो,’ उनले भने, ‘भर्खर बनेको नयाँ घरको हालत यस्तो भयो।’

घर हेर्दै उद्धार

सोले बजार, नुवाकोटको विदुर नगरपालिका–७ मा पर्छ। त्यहीँ रमेशका बुवा शिवप्रसाद अधिकारीले जीवनभरको कमाइ लगाएर तीनतले घर बनाएका थिए।

शिवप्रसाद अवकाशप्राप्त सरकारी कर्मचारी हुन्। परिवारको कमाइ घर बनाउन खर्च भयो। रमेशले पनि आफ्नो कमाइ त्यही घरमा लगाए। घर बनाउन लिएको सहकारीको ऋणसमेत तिर्न बाँकी थियो।

घर मात्रै होइन, परिवारसँग अर्को सानो घर, पशुचौपाया र करिब दुई रोपनी जग्गा पनि थियो। रमेशका अनुसार घरजग्गासहित परिवारको सम्पत्ति करिब तीन करोड रुपैयाँ बराबरको थियो।

बेत्रावती आसपासको क्षेत्र बजारका रूपमा विस्तार हुँदै थियो। केरुङ नाका जोड्ने सडक, विद्युत्, विद्यालय र बजारको पहुँचका कारण सोलेमा बस्ती बाक्लिँदै गएको थियो। परिवारले पनि त्यहीँ भविष्य बनाउने योजना बनाएको थियो।

तर भदौ १० गते भोटेकोसीमा आएको बाढीले त्यो सपना एकैपटक बगाइदियो।

त्यतिबेला रमेश धुन्चेमा थिए। त्यहाँ सशस्त्र प्रहरीको क्याम्प थियो। उनले त्यहीँबाट हाकुबेंसीतिर बाढीको अवस्था देखे। सुरुमा उनलाई ठूलो पहिरो गएको जस्तो लाग्यो। केहीबेरपछि पानी र खोलाको सतह अस्वाभाविक रूपमा बढिरहेको देखे।

उनले सबैभन्दा पहिले बुवालाई फोन गरे।

संयोगले त्यस दिन बुवा शिवप्रसाद र आमा मेनुका (५५) खेततिर गएका थिए। घरमा नभएकाले उनीहरू जोगिए।

त्यसपछि रमेशले आफन्तलाई फोन गरे। काका–काकी घाँस काट्न गएका थिए। भान्जी पनि त्यतै थिइन्। सुरुमा उनीहरूलाई अघिल्लो वर्षको लेन्डी खोलाको बाढीजस्तै होला भन्ने लागेको थियो। तर रमेशले जोखिम बढिरहेको भन्दै अग्लो ठाउँतिर जान आग्रह गरे।

उनले अरू पाँच–सात जनालाई पनि फोन गरेर तत्काल सुरक्षित ठाउँमा जान भने। उनको चेतावनीपछि भागेर ज्यान जोगाउनेहरू पनि भए।

तर बाढीको गति यति तीव्र थियो कि सबैलाई बचाउन सम्भव भएन।

शान्ति बजार, खाल्टे, नौबिसे, कैदलीटार हुँदै बाढी सोले बजार र बेत्रावतीसम्म पुग्यो।

‘बाढीको सूचना दिएर धेरैलाई त बचाउन सकिएन, तर सकेको गरिरहेको छु,’ रमेशले भने।

आफ्नो घर र सम्पत्ति गुमाएपछि रमेशले बुवा–आमाका लागि कोठा भाडामा लिए। आफू भने सशस्त्र प्रहरीको उद्धार टोलीसँगै प्रभावित क्षेत्रमा खटिए।

भदौ १२ गतेदेखि उनी बेपत्ताको खोजी र उद्धारमा सक्रिय थिए। सुरक्षाकर्मीको टोलीले प्रभावित क्षेत्रमा खोजी गर्दा नौ जनाको शव फेला पारेको थियो। बेत्रावतीमा एक वृद्ध महिलालाई भने घटनाको ११औँ दिन संयुक्त टोलीले जीवितै उद्धार गरेको थियो।

उद्धारका क्रममा रमेशको मनमा एउटा अर्को आशा पनि थियो। कतै आफ्ना आफन्त, छिमेकी वा चिनजानका मानिस जीवितै भेटिन्छन् कि भन्ने।

तर मृतक र पीडित परिवार भेटिँदा आफ्नै पीडा फेरि बल्झिन्थ्यो।

‘आफैं कमजोर भएर कसरी अरूलाई सम्झाउनु ?’ उनी भन्छन्, ‘पीडा लुकाएर सहानुभूति दिनु बाध्यता थियो।’

बिलायो बेंसीको सपना

रमेशको परिवार पहिलेदेखि सोलेमा बसेको थिएन।

परिवारको पुर्ख्यौली घर विदुरको डाँडाथोकमा थियो। चार भाइमध्ये बुवा शिवप्रसादसहित तीन भाइ तल झरेर सोलेतिर बस्न थालेका थिए।

बेंसीमा बस्दा बजार, सडक, विद्यालय र अन्य सुविधा नजिक हुने भएकाले परिवारले सोले रोजेको थियो। स्थानीयहरू यो क्षेत्रलाई त्रिशूली नदी किनारको ‘बेँसीखेत’ भनेर चिन्थे।

पछिल्ला चार दशकमा त्रिशूली किनारको उत्तरगया धाम आसपासको क्षेत्र बजारका रूपमा विकास हुँदै गयो। रसुवा र नुवाकोटका डाँडाकाँडाबाट मानिसहरू पनि बेंसीतिर झर्न थाले।

२०७२ सालको भूकम्पपछि यहाँ स्थायी र अस्थायी बसोबास थप बढ्यो। त्रिशूली नदीभन्दा माथिल्लो भूभाग भएकाले पनि मानिसहरूले यो ठाउँलाई तुलनात्मक रूपमा सुरक्षित ठाने। त्यससँगै जग्गाको मूल्य पनि बढ्दै गयो।

स्थानीय राजु लोप्चनका अनुसार अघिल्लो वर्ष आएको ठूलो बाढीले पनि सोले बजारमा ठूलो क्षति गरेको थिएन। त्यसैले यसपटक पानी यति माथिसम्म आउला भन्ने धेरैले कल्पना गरेका थिएनन्।

तर भदौ १० गते आएको बाढी उनीहरूले सोचेभन्दा बिल्कुलै फरक थियो।

‘यसपटक त सुनामी आएजस्तै भयो,’ लोप्चनले भने, ‘धुलो, हिलो र बादलले एकैछिनमा सबै ढाक्यो।’

सोले बजारमा ६२ जना बेपत्ता भएको विवरण छ। तीमध्ये दुई जनाको मात्रै शव फेला परेको छ।

नुवाकोट जिल्ला प्रशासन कार्यालयका अनुसार विदुर–७ अन्तर्गत सोले बजारसहितको क्षेत्रमा १७५ घर बाढीले बगाएको र १९२ जना बेपत्ता भएको विवरण छ।

बाढीले घर र सम्पत्ति गुमाएकाहरू अहिले अस्थायी आश्रयमा छन्। असोज १७ गतेसम्म जनजागरण महिला समूहको सामुदायिक भवनमा रहेको होल्डिङ सेन्टरमा ६७ जना विस्थापित बसेका थिए।

उनीहरूका लागि अबको प्रश्न केवल आज कहाँ बस्ने भन्ने होइन, भोलि कहाँ फर्किने भन्ने पनि हो।

विस्थापितहरू कसरी पुनर्स्थापित हुने भन्ने स्पष्ट योजना अझै उनीहरूका अगाडि छैन।

रमेशको परिवार पनि यही अनिश्चिततामा छ।

‘परिवारको सबै सम्पत्ति घरमा लगाइयो,’ रमेश भन्छन्, ‘घरलाई बाढीले खोलाको बीचमा लगेर रमिता बनाइदिएको छ।’

नयाँ घर कहाँ बनाउने, परिवारलाई कसरी पुनःस्थापित गर्ने र वर्षौंको कमाइबाट बनाएको सम्पत्ति गुमेपछि फेरि कसरी सुरु गर्ने भन्ने प्रश्नको उत्तर उनीसँग अहिले छैन।

तर एउटा कुरा भने रोकिएको छैन।

आफ्नो घर गुमाएको करिब एक महिना बितिसक्दा पनि रमेश उद्धारको कामबाट टाढिएका छैनन्।

सोले बजारको बगरमा उल्टिएर उभिएको उनको घरले उनले गुमाएको संसार सम्झाइरहेको छ। त्यही विनाशको बीचबाट रमेश भने अरूको जीवन खोज्दै हिँडिरहेका छन्।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?