वर्षायाम सकिए पनि वर्षा थामिएको छैन । दशैं नजिकिँदै गर्दा समेत पानीझरी उस्तै छ । तर यो प्रसंग मनसुनी वर्षाको होइन । अभिनेत्री वर्षा सिवाकोटीको हो ।
वर्षाको यो याममा उनी पसिना बगाइरहेकी छिन् । आफूलाई चुस्त र तन्दुरुस्त राख्न जिम धाइरहेकी छिन् । भर्खरै मात्र उनले जिमको फोटो सार्वजनिक गरेकी थिइन् । फोटोसुट गराएकी हुन् वा जिम ? त्यो चाहिँ दैव जानून् । आफू कहाँ छु, के गर्दैछु ? हल्लीखल्ली नगरे प्रशंसकहरूले भन्लान्, ‘कहाँ हरायौ ?’
केही समययता उनी फुर्सदमै छिन् सायद । त्यही भएर कहिले गर्ल्फ कोर्समा देखिन्छिन्, कहिले जंगल सफारीमा देखिन्छिन् । भनिहालौँ, केही महिनाअघि उनले एउटा फिल्ममा अनुबन्धित भएको कुरा सार्वजनिक गरेकी थिइन् । फिल्म हो, ‘गंगा रानी’ ।
त्यसअघि पनि उनका थुप्रै फिल्ममा नाम जोडियो । जस्तो कि, ‘टिका’, ‘महाराजधिराज’, ‘कस्तूरी’, ‘कार्की साइला’ । यी फिल्म कति निर्माण भए, कति प्रदर्शनमा आए ? दर्शकले हिसाब–किताब राखेका होलान् ।
यद्यपि, यसअघि वर्षा अभिनीत फिल्म ‘छक्का पञ्जा ५’ र ‘परेदेशी २’ हिट भए । ‘नाइ नभन्नु ल २’, ‘पशुपतिप्रसाद’, ‘वीर विक्रम २’ उनका सम्झनलायक फिल्महरू हुन् ।
आखिर जे भए पनि वर्षा मिहिनेती अभिनेत्री गनिन्छिन् । शालीन र सन्तुलित पनि । उनी अभिनयका साथसाथै स्वास्थ्य र सौन्दर्यमा बढी ध्यान दिने गर्छिन् । अहिले मात्र होइन, विगत लामो समयदेखि उनले शारीरिक स्वास्थ्यका लागि अनुशासित दिनचर्यामा आफूलाई अभ्यस्त गराएकी छिन् ।
पोषिलो खानेकुरा खानु, व्यायाम गर्नु, पर्याप्त निद्रा लिनु उनको दिनचर्याभित्र पर्छ । खानपानमा उनी निकै सतर्क रहेको बताउने गर्छिन् । सेतो चामल कटौती गरेकी उनलाई माछा र कुखुराको मासु बढी मनपर्छ । सही खानपान र शारीरिक तन्दुरुस्ती भएपछि अनुहारमा चमक आउने उनको भनाइ छ ।

प्रतिक्रिया 4