News Summary
Generated by OK AI. Editorially reviewed.- भविष्य फिल्मस प्राली र थर्ड आई आट्र्सले निर्माण गर्न लागेको कथानक फिल्म 'टिका : स्टेटलेस सोल' को शुभसाइत कार्यक्रम पाटनस्थित बंगलामुखी मन्दिरमा सम्पन्न भएको छ।
- निर्माता भविष्य खड्काले 'टिका' सामाजिक विभेद खेप्न बाध्य महिलाको मर्मस्पर्शी कथा भएको र 'जेरी अन टप' बाट अनुभव लिएर निर्माण गरेको बताउनुभयो।
- अभिनेत्री वर्षा सिवाकोटी र प्रियंका कार्कीले यो फिल्म आफ्नो करिअरमा विशेष हुने र विषयवस्तु अनौठो भएको उल्लेख गर्नुभयो।
काठमाडौं । भविष्य फिल्मस प्राली र थर्ड आई आट्र्सको ब्यानरमा निर्माण हुन लागेको कथानक फिल्म ‘टिका : स्टेटलेस सोल’ को शुभसाइत कार्यक्रम सम्पन्न भएको छ । पाटनस्थित बंगलामुखी मन्दिरमा बिहिबार आयोजित कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्कृप्ट पूजा गरियो ।
हरितालिका तीजको अवसरमा २६ भदौलाई यसअघि नै प्रदर्शन मिति तोकिसकिएको यो फिल्म अर्को सातादेखि फ्लोरमा जाँदैछ ।
सो अवसरमा बोल्दै निर्माता भविष्य खड्काले सामाजिक रूपमा विभिन्न विभेद खेप्न बाध्य महिलाको मर्मस्पर्शी कथामा फिल्म बन्न लागेको बताइन् । गतवर्षको व्यवसायिक हिट फिल्म ‘जेरी अन टप’ निर्माता समेत रहेकी खड्काले सो फिल्मबाट प्राप्त अनुभव, भोगाइ र सिकाइले ‘टिका’ निर्माणमा जुटेको बताइन् ।
खड्का आउँदो दशैंमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बाटुलो जुन’ निर्माता समेत हुन् ।

शंकर कार्कीको निर्देशनमा बन्ने ‘टिका’ लाई निर्माण टिमले महिलाप्रधान चलचित्र भनेको छ । यसमा वर्षा सिवाकोटी, प्रियंका कार्की, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकाल प्रमुख अभिनयमा हुनेछन् ।
कार्यकारी निर्माता तेजविक्रम केसी हुन् । कथा शंकर कार्की र चन्दन झाले लेखेका हुन् । पटकथा विश्वास तिम्सिना (बिटी कान्छा) को छ । कालीप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत हुनेछ । छायांकारमा नरेन्द्र मैनाली हुनेछन् ।
कार्यक्रममा कलाकारले विषयवस्तु, टिमको ऊर्जा र आफ्नो भूमिकाबारे चर्चा गरे । अभिनेत्रीद्वय वर्षा र प्रियंकाले यो फिल्म आफूहरूको करिअरमा विशेष हुने बताए ।
‘मेरो जीवनको लागि यो चलचित्र, यो यात्रा र मेरो पात्र सबै विशेष छ, जुन विषयवस्तुमा कथा तयार गरेर यो चलचित्र बन्दैछ सायद आजसम्म प्रस्तुत नगरिएको र नदेखाइएको कथा हो, एकदमै उत्साहित छु’, प्रियंकाले भनिन् ।
वर्षाले ‘जेरी अन टप’ निर्मात्री खड्का, सहकर्मीद्वय प्रियंका र महेश त्रिपाठीसँगको सहकार्य सौहार्द र उपलब्धिप्रधान बन्ने विश्वास व्यक्त गरिन् । यो फिल्ममा वर्षालाई अहिलेसम्म देखिएको भन्दा भिन्न भूमिकामा देख्न पाइने जनाइएको छ ।
प्रतिक्रिया 4