+
+
Shares
स्थलगत :

कालीको कटान र पहिरोले क्षतविक्षत, मालढुंगा पुल छेउको क्षतिले हजारौंलाई सास्ती

मालढुंगा पुलमा दशैं अगाडि नै गाडी गुडाउने प्रयत्न भइरहेको छ : इन्जिनियर पोखरेल

कालीगण्डकीको बाढीले बस्ती नै सोहोर्‍यो, बाटो कटान गर्‍यो, मालढुंगा पुलको पहुँचमार्ग समेत बगायो । मध्यपहाडी राजमार्ग खण्डमा भएको यो क्षतिले पश्चिमी भूभागसम्मै असर परेको छ । 

अमृत सुवेदी अमृत सुवेदी
२०८३ असोज २० गते ९:४२

२० असोज, पोखरा । कुश्मा बजार हुँदै मालढुंगा र बेनी बजारसम्मै ठाउँ ठाउँमा पहिरो खसेका छन् । कुनै ठाउँमा पहिरोले सडकसमेत सोहोरेर लग्यो भने कुनै ठाउँमा सडक किनारमै ढुंगामाटो थुप्रिएका छन् । भीरका अडिएका ढुंगाहरु झर्न ठिक्क परेझैँ देखिन्छन् ।

पर्वतको कुश्मा नगरपालिकाको सहस्रधारा र मालढुंगा–बेनी सडकका ठाउँ–ठाउँमा क्षतविक्षत सडकमा गाडी चल्न त थालेका छन् तर टाउकै माथिबाट खस्लाजस्तो पहाड हेर्दै यात्रुहरु आउ–जाउ गरिरहेका छन् ।

असोज ८ गतेबाट परेको अविरल वर्षापछिको बाढी र पहिरोले गण्डकी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍यायो । कालीगण्डकी नदीको बाढीले जलजला गाउँपालिकाको पुरानो फर्से बजार नै सोत्तर पारेको । म्याग्दी सदरमुकाम बेनीदेखि पर्वत सदरमुकाम कुश्मासम्म कालीले ठाउँ–ठाउँमा कटान गरेको देखिन्छ ।

कालीगण्डकीले कटान गरेर बस्ती र जमिन क्षतविक्षत बनाएको देख्दा संरक्षण अभियन्ता आरके अदिप्त गिरी योभन्दा ठूलो विपत्तिबाट जोखिएको मान्छन् ।

‘कालीगण्डकीले यसरी बस्ती र जमिन कटान गरेको छ, मानौं हाम्रा बस्तीहरु बाल–बाल बचेका हुन् । ठूलो मानवीय क्षति टरेको हो,’ क्षतिग्रस्त ठाउँ हेर्दै गिरी जिब्रो टोक्छन् । अनौठो र अपत्यारिलोजस्तो दृश्य अझै पनि कुश्मादेखि जलजलासम्मै देखिन्छ ।

मालढुंगा पुलको पहुँचमार्ग भत्किँदा पश्चिमी भूभागसम्म असर

असोज ११ गते कालीगण्डकीमा आएको बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको पहुँचमार्ग नै कटान गरिदियो । मालढुंगा पुलको पर्वत तर्फको भागमा कालीले कटान गर्दा चाडबाडको मुखमा पर्वत पश्चिमका नागरिकले ठूलो समस्या बेहोरेका छन् ।

मालढुंगाको पुल कालीगण्डकीले कटान गरिदिँदा बागलुङ र बुर्तिबाङबाट रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम हुँदै सुदूरपश्चिमको बैतडी (झुलाघाट) सम्म यो मालढुंगामा कटान हुँदा सम्पर्क विच्छेद हुन पुगेको छ ।

मुख्य रूपमा बागलुङको बुर्तिबाङ क्षेत्र हुँदै यात्रा गर्दा वा यो राजमार्गले रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, डोल्पालगायतका पश्चिमी तथा मध्यपहाडी जिल्लाहरूसँग सीधा जोडिन पुगेको थियो । नदी कटानले मालढुंगामा पहुँच मार्ग लगिदिँदा चाडबाडको मुखमा हजारौं नागरिक प्रभावित बन्न पुगेको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको भनाइ छ ।

मालढुंगा पुल नेपालकै पहिलो आर्क ब्रिज हो । २०४८ सालमा चिनियाँ सहयोगमा धनुष आकारको पुल बनेको थियो । अहिले मुग्लिन, धोबीखोलामाथि बिजुलीबजार र कालीगण्डकी नदी माथि नै राम्दी पुल पनि यस्तै आकारमा बनाइएको छ ।

आर्क पुलको भार सिधै पिल्लरहरूमा मात्र नभई आर्कको बक्रता हुँदै दुवैतर्फका बलिया फाउन्डेसनमा पुग्ने गर्छ । यसको मुख्य विशेषता भनेको नदीको बीच भागमा पिल्लर राख्नु पर्दैन ।

लामो स्पानमा पिल्लर विना नै निर्माण गर्न सकिने भएकाले पनि बाढी आउँदा बगेर आएका काठपात, गेगर वा भलले पिल्लरमा क्षति पुर्‍याउने वा पुल नै जोखिममा पर्ने सम्भावना कम गर्ने विज्ञहरु बताउँछन् ।

दोहनका कारण पहुँचमार्गमा क्षति

तर, हरेक वर्षजस्तो आइरहने कालीगण्डकीको बाढीले यसपटक भने यही आर्क ब्रिज छेउको सडकको एउटा भागलाई नै कटान गरिदिएको छ । यसलाई इन्जिनियरहरुले नदी दोहनका कारण एक भागमा कटान गरेको बताउँछन् ।

‘११ असोजको बाढीले ठाउँ ठाउँमा धेरै क्षति भएको छ । ठाउँ ठाउँमा खोलाको अतिक्रमण भएको छ । क्रसरहरुले गरेको नदी दोहन पनि छ,’ सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी इन्जिनियर ध्रुव पोखरेलले भने, ‘खोलाको धारले पहुँच सडकमा क्षति पुगेको देखिन्छ । यसको अध्ययन होला र हुनु पनि पर्छ ।’

अहिले पनि स्काभेटरहरु नदीमै देखिन्छन् भने टिप्पर र डोजर–स्काभेटर नदीजन्य पदार्थ उत्खनन् र ओसार–पसार गरिरहेका भेटिन्छन् । यत्रो बिपत्ति आउँदा पनि क्रसर चलाइरहेका व्यवसायीले उत्खनन् नछाडेको स्थानीयको चिन्ता छ ।

उनीहरुले प्रशासनलाईसमेत गुमराहमा पार्ने काम गरिरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीकै भनाइबाट पुष्टि हुन्छ । ‘नदी किनारका बस्ती र पुललगायत संरचना दोहनकै कारण कटानमा परेको स्थानीयको गुनासो छ । नदीले धार परिवर्तन गर्दै बस्तीतिर छिर्नुमा उत्खनन्को कारण पनि देखिन्छ,’ सिडिओ क्षेत्री भन्छन्, ‘हामीले कडाइसाथ अनुगमन गर्ने, वैद्य, अवैध गर्ने र कारबाहीको दायरामा ल्याउने छौं । तर, यहाँ व्यवसायीले सबै सेटिङ मिलाएजस्तो देखिन्छ, हामी अध्ययनकै क्रममा छौं ।’

दशैं अगाडि नै मर्मत गरिसक्ने लक्ष्य

मालढुंगा पुलमा आइतबार अनलाइनखबरको टिम पुग्दा एउटा डोजर लगाएर कटान गरिएको ठाउँमा माटो सम्याउने काम भइरहेको थियो । दशैं नजिकिइसक्दा पनि पुल कहिले बन्ने हो भन्ने अन्योल नागरिकमा थियो । त्यहाँ आकस्मिक कोषमार्फत सडक डिभिजन कार्यालय पोखराले दशैं अगाडि नै खुलाउने प्रयत्नसहित काम गरिरहेको इन्जिनियर ध्रुव पोखरेलले बताए ।

‘नदीले कटान गरेर आकस्मिक रुपमा निर्माण थाल्दा सुरुका दिनमा कुनै ठाउँमा ८ देखि १० मिटरसम्म पानी हुँदा कठिनाइ भएकै हो । अहिले हामीले निर्माणका लागि उपयुक्त प्लाटफर्म बनाउँदै छौं,’ पोखरेलले अनलाइनखबरसँग भने, ‘जग निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । अब यसलाई १८ मिटर उचाइको बनाउनुपर्ने छ । कम्तिमा दशैं अगाडि नै खुलाउने गरी तयारी भइरहेको छ ।’

मालढुंगाको पुल नबन्दा पोखरा, नारायणगढ, काठमाडौंलगायतका प्रमुख सहरहरुमा आउजाउ गर्न पाएका छैनन् । कुश्मादेखि पर्वततर्फको बेनीसम्म ठाउँ ठाउँमा खसेका पहिरो पन्छाएर सवारी साधन चल्न थाले पनि दुर्घटना टरिनसकेको भन्दै त्रसित रहेको स्थानीय गणेश आचार्यको भनाइ छ ।

मध्यपहाडी राजमार्ग जोड्ने यो पुलले पश्चिम नेपालको जनजीवनलाई नै प्रभावित पारेको छ भने बेनी–जोमसोम सडकमा पनि बाढी पहिरोले क्षतविच्छेद बताउँदा मुस्ताङ जिल्ला नै स्थलमार्ग हुँदै सम्पर्क बिच्छेद छ । रसुवा नाकाको विकल्प बनेको कोरोला नाकासमेत सडककै कारण ठप्प छ ।

पुल सञ्चालनमा आउन अझै केही समय लाग्ने भएपछि खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्याँसको अभाव हुन थालेको स्थानीयहरुले बताइरहेका छन् । जसका कारण दशैंमा अभाव खेप्नुपर्ने त होइन भन्ने चिन्ता परिरहेको बागलुङका हरि खड्काले बताए ।

बागलुङ र पर्वतका बासिन्दाहरू हाल वैकल्पिक रूपमा एसियाकै लामो दाबी गरिएको गण्डकी गोल्डेन झोलुंगे पुल (बागलुङ–पर्वत) तथा कुश्माका अन्य अग्ला झोलुंगे पुलहरू प्रयोग गरिरहेका छन् । यात्रुहरू यी पुलहरूबाट पैदल नदी तरेर पर्वततर्फ पुगी त्यहाँबाट अन्य गाडी समातेर आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् ।

 

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?