रणवीर अल्लाहबादिया को हुन् ? पोडकास्टका पारखीलाई भनिरहनु पर्दैन । चर्चाको चुली र विवादको भुमरीमा परेका उनी चर्चित भारतीय युट्युबर एवं पोडकास्टर हुन् । भारतकै सर्वाधिक हेरिने पोडकास्टमध्येका एक हुन् उनी । खासगरी जीवनशैली, फिटनेस, सिनेमा र अध्यात्मजस्ता विषयमा कुराकानी गर्ने गरेका छन् ।
तर लोकप्रियताको ग्राफ आकाशिएको बेला उनलाई एउटा ठूलो झट्का लाग्यो । समय रैनाको चर्चित शो ‘इन्डियाज गट लेटेन्ट’ मा गेस्ट बनेर पुगेका उनी एक प्रश्नोत्तरको विषयलाई लिएर अत्यन्तै विवादित बने । कतिसम्म भने उनलाई भारतबाटै लखेट्नुपर्छ वा कडा भन्दा कडा सजाय दिनुपर्छ भन्नेसम्मका दबाबहरू आए । यो मुद्दाले सामाजिक सञ्जालदेखि अदालतसम्म हल्लाइदियो ।
त्यहीबेला एउटा अनौठो हल्ला पनि फैलियो । विवाद चर्किंदै गएपछि उनलाई प्रेमिकाले पनि छाडेकी छिन् । यसअघि उनीहरूको प्रेम जीवनले पनि निकै चर्चा पाइरहेको थियो । पछि ब्रेकअपको हल्ला त्योभन्दा ठूलो हुने नै भयो ।
तर, समय गुज्रियो । सबै कुरा झेलेर उनी फेरि आफ्नो लयमा फर्किए । उनी अहिले उसैगरी पोडकास्ट चलाइरहेका छन् । त्योभन्दा रमाइलो चाहिँ प्रेम जीवनको आनन्द पनि लिइरहेका छन् ।
केही वर्षअघि मुम्बईमा सञ्चालन भइरहेको आईपीएलमा उनी आफ्नी प्रेमिकासँगै पुगेका थिए । र, सोही बेला उनले आफू प्रेम सम्बन्धमा रहेको खुलाएका थिए ।
हुन त त्यसअघिको दीपावलीमा उनले सामाजिक सञ्जालमा घिब्ली शैलीको एउटा तस्बिर पोस्ट गरेका थिए । उक्त तस्बिरमा एक युवती र एक युवक देखिएका थिए ।
त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले रणवीर र जुहीबीच डेटिङ भइरहेको अनुमान गरेका थिए ।
उनकी प्रेमिका जुही भट्ट सामाजिक सञ्जाल इन्फ्लुएन्सर हुन् । जुही फेसन तथा जीवनशैलीसम्बन्धी सामग्रीका लागि परिचित छिन् ।
प्रतिक्रिया 4