१२ असोज, काठमाडौं । संसारभरि विकिनी किलरका रुपमा चिनिएका अन्तराष्ट्रिय अपराधी चाल्र्स गुरुमुख सोभराज
विरुद्ध चलिरहेको क्यानेडियन नागरिक अरमाण्ड क्यारियरेको हत्यासंग सम्बन्धित मुद्दामा कात्तिक १७ गते फैसला हुने भएको छ ।
पुनरावेदन अदालत पाटनमा चलिरहेको उक्त मुद्दामा भएको मंगलबारको सुनुवाइपछि अदालतबाट कात्तिक १७ गते अन्तिम सुनुवाइ तोकिई अदालतबाट सोही दिन फैसला गर्ने तय भएको हो ।
मुख्य न्यायाधीश शंभुबहादुर खड्का र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासबाट सो आदेश भएको सोभराजका वकिल अधिवक्ता अनन्तराज लुईटेलले अनलाइनखबरलाई बताए ।
सोभराजका तर्फबाट मंगलबारको बहसमा अधिक्ताद्वय लुइँटेल र सकुन्तला थापाले बहस गरेका थिए भने अभियोजन तर्फबाट अधिवक्ता विश्वलाल श्रेष्ठले बहस गरेका थिए ।
गत बर्ष भक्तपुर जिल्ला अदालतबाट सर्वस्व सहित जन्मकैद भएपछि सोभराजले पुनरावेदन गरेका हुन् ।
भक्तपुरको साँगामा ४० बर्षअघि क्यानेडियन नागरिक क्यारिअरेको मृत शरीर फेला परेपछि क्यारिअरेको हत्या सोभराजबाट भएको दावीसहित सरकारले उनीविरुद्ध मुद्दा चलाएको हो । सोभराज अहिले केन्द्रीय कारागारमा बन्दी जीवन बिताइहरेका छन् ।
अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिचको हत्यामा समेत दोषी ठहर भएका सोभराज सर्वाेच्च अदालतको फैसला बमोजिम १२ बर्ष अघिदेखि केन्द्रीय कारागारमा जेल जीवन विताइरहेका छन् ।
प्रतिक्रिया 4