१४ असार, काठमाडौं । व्यवस्थापिका संसदको अवरोध हटाउनेबारे सहमति जुटाउन प्रमुख चारदलीय कार्यदल असफल भएको छ । अब दिउँसो शीर्षतहमै छलफल हुने भएको छ ।
भूकम्प प्रभावितलाई एकमुष्ट दुईलाख रुपैयाँ दिनुपर्ने माग गर्दै प्रमुख विपक्षी दल कांग्रेसले संसद अवरुद्ध पारेपछि सहमति खोज्न सोमबार कार्यदल बनेको थियो ।
मंगलबार विहानै बसेको कार्यदलको बैठकमा दलहरुले आ- आफ्नै अडान दोहोर्याएपछि कुनै सहमति हुन सकेन ।
कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गरेको छ । तर, सरकारको नेतृत्व गरिरहेको एमालेले भने किस्तामा मात्रै रकम दिन सकिने बताएको छ ।
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेसमेत भूकम्प पीडित परिवारलाई ३ लाख दिनुपर्ने माग गरेपछि कांग्रेसले अडान नछाड्ने संकेत दिएको छ ।
बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने, ‘किस्तामै दिने हो भने अहिले २ लाख दिऔं, पछि एक किस्ता थपौं भनेर हामीले भनेका छौं ।’
सरकारले दिने भनेको ५० हजार रुपैयाँ र १५ बोरा सिमेन्ट पनि नआउने भन्दै कांग्रेस नेताहरुले सरकारले सक्छ भने थप एक लाख दिनुपर्ने बताएका छन् ।
प्रतिक्रिया 4