१४ साउन, काठमाडौं । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिएको छ । राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो नजर गरेकी छन् ।
भोटो जात्रामा सहभागी हुने भण्डारी नेपालकै पहिलो महिला राष्ट्रप्रमुख हुन् । रातो मच्छिन्द्रनाथको भोटो सयौं वर्षदेखि पुरुष राष्ट्रप्रमुखले हेर्दै आएको परम्परा यस वर्षदेखि तोडिएको छ ।
शुक्रबार जाउलाखेल चोकमा राष्ट्रपति भण्डारीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका छन् ।
भोटो देखाउने जात्रामा सहभागी हुन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, न्यायाधीश लगायत विशिष्ट अतिथिहरु जावलाखेल पुगेका थिए । जात्रालाई ध्यानमा राख्दै ललितपुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा लिच्छवी कालदेखि सुरू भएको मानिन्छ । बहुमूल्य हिरामोती जडित भोटोलाई प्रदर्शन गरी सुरक्षित रुपमा राख्ने र हरेक वर्ष प्रदर्शन गर्ने परम्परा छ ।
भोटो देखाएसँगै नेपालकै सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा समाप्त हुन्छ । मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।
हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्।
यस्तो छ भोटो देखाउनुको कारण
लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हरायो । त्यसपछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्यो। दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्यो। सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन्।
उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको सँस्कृतिविदहरु बताउँछन् ।