Comments Add Comment

एक नर्सको अनुभूतिः बिरामीको सेवा गर्दा आफैं बिरामी भएको बिर्सन्छौं

कतिपय बिरामीका कुरुवाले नर्ससँग बिहे गर्ने प्रस्ताव राख्छन्

Barsha Staff Nurse_810४ भदौ, काठमाडौ । शहीद गंगालाल हृदय रोग केन्द्रमा कार्यरत वर्षा ओली नर्सिङ पेशामा आवद्ध भएको झण्डै तीन वर्ष हुन लाग्यो । यो छोटो अवधिमा उनले धेरै अनुभव बटुलेकी छिन् ।

उनले काठमाडौ विश्वविद्यालय अन्तगतको शिर मेमोरियल हस्पिटल, कलेज अफ नर्सिङ बनेपाबाट चार वर्ष बीएस्सी नर्सिङको अध्ययन पूरा गरेकी छिन् ।

शुरुवातबाटै गंगालालजस्तो प्रतिष्ठित अस्पतालमा नर्सको रुपमा काम गर्नु उनका लागि पनि कम चुनौतीपूर्ण थिएन । तर, उनी चुनौतिमा नै रमाइन् र आफ्नो जिम्मेवारीमा खरो उत्रिन् । उनै वषर्ासित नर्सिङ्ग पेशाका विविध आयामबारे गरिएको कुराकानीः

नर्सिङ्ग पेशाप्रति आकर्षण कसरी जाग्यो ?

नर्सिङ्ग भनेको सेवा गर्ने पेशा हो भन्ने सुरुदेखि नै थाहा थियो । घरमा हजुरबुवा, हजुरआमा तथा मम्मी-बाबाहरुले सेवाको भावना ममा जगाइदिनुभएको थियो । १० जोड २ सकिएपछि के पढ्ने भन्ने कुरा चलिरहेको बेलामा मेरो झुकाव नर्सिङ्ग पेशातिर ढल्किएको महसुस गरेँ । त्यसपछि यसैको प्रवेशिका परिक्षाको तयारी सुरु गरेर भर्ना भएँ ।

सुरुमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

सुरुमा काम गर्दा त हात काँप्थ्यो । औधि डर लाग्थ्यो । पछि बानी पर्दै गयो ।

सुरुमा काम गर्दा यो पेशा त्यति कठिन होला जस्तो लागेको थिएन । सेवा गर्ने हो भन्ने थाहा थियो । तर, काम गर्दै जाँदा कति कुराहरु सोचभन्दा फरक पाएँ ।

बाहिरबाट हेर्दा भन्दा यथार्थमा नर्सिङ पेशा फरक छ । बिरामीको उपचार गर्दागर्दै उनीहरुसित भावनात्मक सम्बन्ध बन्दो रहेछ । त्यसले कहिलेकाहीँ असहज बनाउँदोरहेछ ।

कुरुवाहरुले चाहिँ अनौपचारिक कुरा गर्न खोज्छन् । विरामीको स्याहार सुसार गरेको मन पर्‍यो भने उनीहरुका परिवारले ‘तिमी मान्छौ भने बुहारी बनाउछु’ सम्म भनेका छन्

असहज भन्नाले ?

भावनात्मक तरिकाबाटै हामी सबै विरामीको हेरचाह गरिरहेकै हुन्छौ । हेरचाहका क्रममा उनीहरुको रिपोर्ट राम्रो आइदिँदा हामीलाई पनि खुशी लाग्छ । तर, कहिलेकाहीँ लाखौं कोशिश गर्दागर्दै पनि उहाँहरुको स्वास्थ्यमा सुधार आएन, अवस्था झ्न नाजुक भयो, मृत्यु भयो भने चाहिँ त्यसले हामीलाई पनि कयौं दिनसम्म असर पर्ने गर्छ । बुढाबढी भन्दा पनि युवावस्थाका व्यक्तिलाई नराम्रो रोग लाग्दा हामीलाई पनि आघात हुन्छ ।

नर्सिङ्ग सुरु गरेयताका त्यस्ता अविस्मरणीय क्षण ?

मैले काम सुरु गरेको करिब डेढ वर्षपछि करिब २७/२८ वर्षका एकजना विरामी अस्पताल भर्ना भएका थिए । उनलाई कार्डियोमायोपाथी भन्ने रोग लागेको थियो । उनी आर्मीका मेजर थिए । दुर्भाग्यवश उनको मृत्यु भयो । त्यो सम्झदा चाहि अहिले पनि निकै दुःख लाग्छ । उनको परिवारको त्यो पीडा देख्दा मेरो मन पनि भक्कानिन्थ्यो ।

यस्ता घटनाले आफुलाई पनि कति दिनसम्म गहिरो असर पर्दो रहेछ । तनाव महसुस हँुदो रहेछ । कहिलेकाँही त ‘जीन्दगी भनेको केही हैन रहेछ भने जस्तो लाग्छ ।

त्यसो त हामीले दुखसँगै सुखको पनि अनुभुति गरिरहेका हुन्छौं ।  कतिपय बिरामीहरु सही समयमा अस्पताल आएर ठिक भएर गएको देख्दा मन आनन्दित हुन्छ ।

तपाईको अनुभवमा गंगालाल जस्तो संवेदनशील रोगसँग जोडिएको अस्पतालमा काम गर्नु कत्तिको चुनौतीपुुर्ण छ ?

यहाँ आइसकेपछि एक किसिमको प्रेसर त हुन्छ नै । फेरी मुटु भनेको शरीरकै मुख्य अंग हो । विरामीलाई अलिकति मात्र गार्‍हो भयो भने हामी दौडादौड गर्नुपर्छ । त्यतिबेला चिकित्सकलाई फोन गर्नेदेखि विरामीलाई हेर्ने, इमर्जेन्सीमा आवश्यक पर्ने सरसामानको जोरजाम गर्ने, विरामीको परिवारलाई सम्हाल्नेदगायत सबै एकैपटक गर्नु पर्ने हुँदा दिमाग धेरैतिर बाँडिइरहेको हुन्छ । अझ भनौं, विरामीदेखि उनीहरुको कुरुवासम्मको आश सबै आफैप्रति रहेको हुन्छ । त्यसबेला समयअनुसार आफुलाई नियन्त्रण गर्नु पनि उत्तिकै जरुरी हुँदो रहेछ । त्यस्तै, जिम्मेवार हुन पनि जरुरी हुन्छ ।

Barsha Oli
वर्षा ओली

तपाईहरुले रातदिन नभनी काम गर्दा पनि धेरै मानिसको गुनासो सुन्नुपर्छ, त्यसले कत्तिको दिक्दारी हुन्छ ?

यदी म विरामीको परिवारको ठाउँमा भएको भए शायद मलाई पनि त्यस्तै लाग्थ्यो होला । तर कहिलेकाहीँ उहाँहरुले पनि हाम्रो ठाउँमा आएर पनि सोच्नुपर्ने हुन्छ । उहाँका लागि एकजना विरामीको स्वास्थ्य महत्वपूर्ण हुन्छ ।

ड्युटीमा भएका बेला हाम्रा लागि त्यहाँ भएका सबै बिरामीको स्वास्थ्य उत्तिकै महत्वपूर्ण रहन्छ । उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्नेदेखि खाएका छन् कि छैनन् भनेर हेर्नु हाम्रो जिम्मेवारी हुन्छ ।

कतिपय कुरुवाहरु विरामीसित सम्बन्धित प्रश्नको जवाफ दिएन भनेर हामीसित रिसाइरहेका पनि हुन्छन् । तर, उहाँहरुले बोलाउँदा तुरुन्तै जाने, बिरामीको अवस्था हेर्ने गरिरहेकै हुन्छौं । त्यति गर्दा हामी पनि तनावमै हुन्छौ । उनीहरु झन् तनावमा रहन्छन्  । त्यतिबेला कम्युनिकेसन राम्ररी हुन नसक्दा विरामीका कुरुवाहरुलाई त्यस्तो महसुस हुनसक्छ । तर, त्यो सही हैन । विरामीहरुको लागि नै हामी कुदिरहेका हुन्छांै, सबै प्रयास गरिरहेका हुन्छाैं।

फेरि अस्पतालमा छिरिसकेपछि एकजना विरामीलाई मात्र समय दिने भन्ने कुरा आउँदैन । मुख्य कुरुवालाई त विरामीका अवस्थाबारे जानकारी दिई नै रहेका हुन्छौ । त्यस्तो अवस्थामा विरामीका परिवारले पनि बुझेर एउटाले नै विरामी भेट्न आउने सबैलाई जानकारी गराइदिए राम्रो हुन्थ्यो । एउटा बिरामीका धेरै आफन्तले बारम्बार एउटै कुरा सोधिरहेका हुन्छन् ।

शारीरिकरुपमा चैं कत्तिको थकान महसुस हुन्छ ?

कहिलेकाही उचित रुपमा आराम पाइरहेका हुदैनौं । विरामीको सेवा गर्दागर्दै आफै विरामी परेको पनि विर्सन्छौ । कहिलेकाहीँ बिरामीलाई बाथरुम लग्दालग्दै आफैंलाई हतार भइसक्छ, तर पनि रोकेर बस्छौं । बिरामीले खाना, औषधी खाए-नखाएको हेर्दाहेर्दै आफै कतिघण्टा देखि भोकै बसिरहेको हुन्छौं । हाम्रो पेशाको सुखदुख यही हो ।

एउटा विरामीको उपचारका निम्ति नर्स र डाक्टरको सम्बन्ध कस्तो हुनु जरुरी छ ?

एउटा विरामीको हेरचाहका लागि अस्पतालका सम्पूर्ण कर्मचारीको सम्बन्ध राम्रो हुन जरुरी छ । २४ सै घण्टा विरामीको साथमा रहने नर्स र डाक्टरको सम्बन्ध त राम्रो हुनु परिगो । नर्सहरुले विरामीको अवस्थाबारे वर्णन गरेपछि नै डाक्टरहरुले आवश्यकता अनुसारको उपचार गर्ने हो । दुईबीचकै सम्बन्ध राम्रो भएन भने विरामीको सही उपचार नहुन सक्छ ।

कतिपय अवस्थामा डाक्टरले नर्सलाई हेप्छन् भन्ने कुरा पनि आउँछ, त्यो सम्भव छ ?

आक्कल झुक्कल त्यस्तो भएको हुन सक्छ । तर, त्यो हेप्ने मनसायले भएको होइन होला । डाक्टर आफ्नो ठाउँमा जान्ने हुन्छन्, नर्स आˆनो ठाउँमा । दुईजनाको काम नै फरक भइसकेपछि यसमा ‘हेप्ने’ भन्ने कुरा नै आउँदैन । फेरि नर्स हेरचाहतर्फ उन्मुख भएका हुने भएकाले दुईबीच समझदारी हुनु आवश्यक छ ।

डाक्टर, विरामी वा कुरुवाहरुले नर्सलाई लाइन मार्ने वा प्रपोज गर्ने घटना पनि हुन्छन् होला नि ?

अस्पताल आफैंमा संवेदनशील स्थान हो । यहाँ काम गर्ने डाक्टरहरुलाई लाइन मार्नलाई फुर्सद नै हुँदैन । बिरामीहरुको हकमा अहिलेसम्म कसैले प्रपोज नै त हानेको छैन । तर, कुरुवाहरुले चाहिँ अनौपचारिक कुरा गर्न खोज्छन् । विरामीको स्याहार सुसार गरेको मन पर्‍यो भने उनीहरुका परिवारले ‘तिमी मान्छौ भने बुहारी बनाउछु’ सम्म भनेका छन् ।

पहिले त ‘ए नर्सिङ्ग पो पढेको’ भनेर नाक खुम्च्याउनेहरु अहिले ‘ओहो नर्सिङ्ग पढेको ? धेरै राम्रो गरेछौ’ भनेर हौसला दिन्छन्

कतिले ‘ए नानी, तिम्रो तिम्रो विवाह भएको छ कि छैन भनेर सोध्छन् । विवाह गर्ने हो भने घरमा छोरा, भतिजा, भाञ्जाहरु छन् । हुन्छ भन्छ्यौ भने कुरा अगाडि बढाउछौ’ भन्नेचाहि थुप्रै हुन्छन् । तर, अझ पहिले विद्याार्थी हुँदा त्यसरी सोध्ने धेरै थिए । यो कुरा मलाई मात्र नभएर अन्य नर्सहरुको जीवनमा पनि धेरै हुँदोरहेछ ।

तर, यस्ता कुरालाई हामी कहिल्यै नकारात्मक रुपमा लिँदैनौं । आफ्ना आफन्तलाई राम्ररी स्याहार-सुसार गरिदिँदा उनीहरुको मन पग्लिनु स्वभाविक नै हो ।

पछिल्लो समय समाजमा नर्सिङ्ग पेशाप्रतिको बुझाइ कस्तो छ जस्तो लाग्छ ?

पहिले-पहिलेका नर्सले कसरी काम गर्थे, त्यो त मलाई थाहा छैन । तर अहिले मानिसको सोचाइमा फरक आइसकेकोे छ । अझ पहिले त ‘ए नर्सिङ्ग पो पढेको’ भनेर नाक खुम्च्याउनेहरु अहिले ‘ओहो नर्सिङ्ग पढेको ? धेरै राम्रो गरेछौ’ भनेर हौसला दिन्छन् । यस अर्थमा पनि केही परिवर्तन भएजस्तो अवश्य नै लाग्छ ।

घर-घरमा नर्सको अवधारणा विकास हुन थालेको छ । यसबारे के भन्नु हुन्छ   ?

एक व्यक्तिले नर्स पढेको छ भने उसले घरमा मात्रै नभएर गाउँ, टोलमै सेवा पुर्‍याउन सक्छ । कुन समस्याका लागि कहाँ जाने, के गर्ने भनेर दिशानिर्देश गर्न सक्छ, जसले गर्दा रोगको समयमै पहिचान भएर मानिसलाई गम्भीर समस्या हुनबाट जोगाउन सकिन्छ । त्यसैले पनि बढ्दो शहरीकरणसँग अहिले रोगको समस्या फैलिरहेका बेला घरमा एउटा नर्स भयो भने विरामीको उपचार छिटो हुन्छ र सही तरिकाले हुन्छ भन्ने मानिसले पनि सोच्न थालेका छन् ।

तपाईको विचारमा नर्सिङ्ग पेशा रोज्नेले विशेष के कुरामा ध्यान दिन जरुरी हुन्छ ?

नर्सिङ्ग पेशा भनेको सेवा गर्ने पेशा हो । जहिले पनि नयाँ आउनेले दत्तचित भएर लाग्छु भनेर आउनुपर्‍यो, दबावमा आउँदा तनाव महसुस हुन सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा, सेवा गर्ने भावना हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment