२८ भदौ, काठमाडौं । नेपाली काग्रेससम्वद्ध नेपाल महिला संघमा निर्वाचनमा पनि संस्थापन र कृष्ण सिटौला समूहको संयुक्त प्यानल बनेको छ ।
मंगलबार साँझ भएको छलफलमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट अध्यक्ष र सिटौला समूहबाट महासचिव लिने समझदारी भएको छ । अध्यक्षमा उमा रेग्मी अधिकारी र महासचिवमा धना खतिवडालाई उम्मेदवार बनाइएको छ ।
कोषाध्यक्ष र सदस्यहरुको उम्मेदवार टुंगिन बाँकी छ । यसअघि नेपाल विद्यार्थी संघमा पनि संस्थापन र सिटौला समूहको संयुक्त प्यानल बनेको थियो ।
अध्यक्षकी उम्मेदवार रेग्मी पूर्व अध्यक्ष समेत हुन् । उनी २०५८ सालमा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट महिला संघको अध्यक्ष निर्वाचित भएकी थिइन् ।
रामचन्द्र समूहबाट मीना पाण्डे उम्मेदवार
रामचन्द्र पौडेल पक्षले पूर्व अध्यक्ष मीना पाण्डेलाई उम्मेद्वार बनाएको छ । पौडेल समूहले मंगलबार विहान भेला गरेर उम्मेदवार घोषणा गरेको थियो । पाण्डे पनि पूर्व अध्यक्ष हुन् ।
महिला संघको अधिवेशन भोलि बुधबारदेखि काठमाडौं भृकुटीमण्डपमा सुरु हुनेछ । जसको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
महाधिवेशनमा २ हजार २ सय प्रतिनिधि सहभागी हुने छन् । रुपन्देहीले भने यो अधिवेशनमा सहभागी हुन नपाउने भएको छ ।
प्रतिक्रिया 4