नेपाली पात्रो अनुसार २ मंसिर २०८१ को दिन नेपालका एक तारा दमननाथ ढुङ्गानाको देहावसानको खबरले देश-विदेश तरङ्गित हुनपुग्यो। मैले बिहानीको पहिलो खबर हेर्ने क्रममा नै उनको देहावसानको खबर देखें। अनि केही खबरहरु हेरिसकेपछि लाग्यो, दमननाथ ढुङ्गानाको एक महत्वपूर्ण पक्ष- साहित्यिक पाटोको कतै उल्लेख छैन। उनी उम्दा राष्ट्रिय गीतका सर्जक हुन्। त्यसको पनि कतै सङ्केत छैन। दमननाथ ढुङ्गानाको देहावसानको खबरले मलाई २०३६ सालतिर पुर्यायो।
२०३६ साल नेपालको इतिहासमा एक नबिर्सिने विशेष वर्षको रुपमा अङ्कित छ। निर्विकल्प मानिएको पञ्चायतको परीक्षणका लागि पहिलोपल्ट राजाले प्रश्नचिह्न उठाउनु परेको थियो र जनमत सङ्ग्रहको घोषणा भएको थियो। त्यही घोषणाको प्रतिफल साहित्यकार तथा साहित्यिक पत्रकार भवानी घिमिरेले सडक कविता क्रान्तिको नेतृत्व गरेका थिए र म पनि सामेल भएको थिएँ। त्यही सडक कविता क्रान्तिले नै दमननाथ ढुङ्गानासँग मेरो परिचय गराएको थियो।
दमननाथ ढुङ्गानाले प्रत्यक्षतः सडक कविता क्रान्तिमा भाग लिने काम त गरेनन्, तर त्यसमा उनको सद्भाव थियो। किनभने त्यो कविता क्रान्ति प्रजातन्त्रको पक्षमा र पञ्चायतको विपक्षमा थियो। शायद कुनै दिनको कार्यक्रममा उनले पनि श्रोताको रूपमा सहभागी भए कि, टड्कारो सम्झना छैन।
त्यति नै बेला मैले थाहा पाएको थिएँ, उनी साहित्यकार पनि हुन्। साहित्य पनि सिर्जना गर्छन्। उनका रचनाहरु पनि प्रकाशित छन्। तर त्यो बेलासम्म भने उनी पूरै राजनीतिमा होमिइसकेका थिए र साहित्यिक गतिविधिमा सक्रिय थिएनन्। उनी नेपाली काङ्ग्रेससँग आवद्ध थिए। हो, उनकी धर्मपत्नी भुवन ढुङ्गाना भने पूरै साहित्यमा थिइन् र अद्यापि पनि छिन्।
दमननाथ ढुङ्गानाको एक गीत रेडियो नेपालमा बज्थ्यो। राष्ट्रिय दिवसका अवसरमा रेडियो नेपालले झण्डै दिनभरिजसो राष्ट्रिय गीतहरु बजाउने गर्थ्यो, यो बेग्लै कुरा हो ती राष्ट्रिय गीतहरुमा राजगान पनि मिसिएका हुन्थे। तर दमननाथ ढुङ्गानाको गीत पूरै राष्ट्रको गान थियो। राष्ट्रको महिमा गान गाएका थिए उनले आफ्नो गीतमा। उनको यो एक गीत नै सर्वकालिक र उनको पहिचानको लागि, उम्दा गीतकारको परिचयको लागि पर्याप्त छ।
यही हो नेपाल, नेपालीको घर
उत्तरतिर चाँदीको पर्खाल चाँदीको दरबार
दक्षिणतिर बगैंचा जस्तो चौकिला बजार
मेची र काली शान्तिका सधैं गाउने समाचार
यो ठाउँको नाउँ भन न साथी मलाई एकबार
पहाड जस्ता दरिलो मुटु मैदानी छातीमा
हिमाली छायाँ तापेर बस्ने पृथ्वी माथिमा
शान्तिका दैव बुद्धले बसी गोडेर गएको
पृथ्वी जस्ता अमर वीरले जोडेर गएको
विश्व त यसलाई नेपाल भन्छ नाम त स्वर्ग हो
बुझ लौ साथी गुन लौ साथी यही त नेपाल हो
चन्द्र र सूर्य ध्वजाको मुनि
यो माटोलाई सम्झेर बस्ने
एकताभित्र हाँसेर बस्ने
वीरतादेखि संसार डर्ने
कला र कौशल संसार भर्ने
हरियो वारी कोइली गाउने
संसारैसँग मितेरी लाउने
हँसालु उति दयालु उति
पवित्र जाति नेपाली बस्ने
यही हो नेपाल, नेपालीको घर।
राष्ट्रिय भावनाले ओतप्रोत यस गीतलाई उस्ताद गोविन्दलालको संगीतमा प्रेमध्वज प्रधान र गङ्गा राणाले गाएका थिए। यो उनको अजरअमर गीत हो। नेपाल र नेपाली जाति रहुन्जेल यो गीतको भाव, यो गीतको महत्व कदापि घट्दैन।
मैले दमन ढुङ्गानालाई उनको अमेरिका भ्रमणको क्रममा पनि भेटेको हुँ। र भेट्दा यो गीतको चर्चा उनीसँग गरेको हुँ। उनकी धर्मपत्नी साहित्यकार भुवन ढुङ्गानासँग दमन ढुङ्गानाका छरिएका साहित्यिक रचनाको पुस्तक बनाउँ भनेर सुझाएको पनि हुँ। उनकी सुपुत्रीलाई पनि मैले यो कुरा भनेको हुँ।
२०७९ सालमा मेरो कृति ‘सुश्री पारिजात’ को विमोचनमा अतिथि वक्ताको रुपमा निम्त्याएको थिएँ भुवन ढुङ्गानालाई प्रकाशक फाइन प्रिन्टको तर्फबाट। सोही क्रममा उनको निवासमा जाँदा दमन ढुङ्गानालाई भेट गर्न पाएको थिएँ। तर खासै कुराकानी हुन पाएन। विमोचन समारोहका दिन भुवन ढुङ्गानालाई पुर्याउन उनी प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा आएका थिए र मेरो हात समातेर भनेका थिए, ‘गोविन्दजी, उनले त पढिन नै तपाईंको सुश्री पारिजात पुस्तक, मैले पनि पढें पूरै !’ मैले हाँसेर कृतज्ञता ज्ञापन गरें।
कतै अर्कै कार्यक्रममा जानुपर्ने हुनाले विदा हुन्छु भनेर उनी गए। उनीसँगको त्यही भेट र त्यही संवाद नै अन्तिम भयो।
राजनीति र मानवअधिकारको क्षेत्रमा अत्यधिक व्यस्त हुनाले साहित्य सिर्जनामा टाढा भए पनि पठनमा उनी टाढा रहेनछन् भन्ने त मेरो पुस्तक पढेकोबाटै पत्तो पाएँ। तर बेलाबेलामा फेसबुकमा भुवन ढुङ्गानाका साहित्यिक चर्चा र उनका कृति साझा गर्नमा उनको सक्रियता देखिन्थ्यो। त्यति मात्र होइन, उनले बेलाबेलामा साहित्यिक भावना पनि साझा गर्थे।
उनका केही साहित्यिक अभिव्यक्ति यस्ता छन्:
सब ज्यादती राष्ट्र-रक्षाका नाउँमा
अस्पताल हतियार केन्द्र गाजामा।
अस्पताल हमला नछोड्ने इजरायल।
कति मृगमरीचिका मानवीय हस्तक्षेप।
रूँदै होला कुनामा मानवअधिकार!
(१६ नोभेम्बर २०२३)
तिहारको शुभकामना-
आपत्–विपत्मा पनि मनोबल
उच्च होस्,
मानिस हिम्मती होस्,
मन उज्यालो होस्!
(१४ नोभेम्बर २०२३)
साँझतिर के देख्नु पर्यो यो-
अन्तरदलीय मतभेद पनि संसद्मा
अखिल र नेविसंघको मुठभेड जस्तो!
(१६ मे २०२३)
यस वर्षको दशैं रमाइलो यही भयो,
काठमाडौंमा कोरोना केही कम भयो!
(१६ अक्टोबर २०२१)
जेठान मन्त्री न्याय भो
तीनदिने मन्त्री अन्याय भो
ठूलो भाग म छोडुला के?
नत्र सत्ता जाने भो!
(११ अक्टोबर २०२१)
प्रतिनिधिसभा अनिश्चितकालीन अवरोध किन?
शीघ्र निर्वाचनका लागि।
शीघ्र निर्वाचन किन?
प्रधानमन्त्री वा सभामुख नपाए अवरोध जारी राख्न!
(२९ सेप्टेम्बर २०२१)
यो अनुगमन
यो आदर्शवाणी
नकराऊ प्लिज
गोकर्णको लिज!
(२७ डिसेम्बर २०१९)
न युद्ध पीडितलाई न्याय
न युद्ध सर्जकलाई भय
बेपत्ता झन् बेपत्ता आयोग
सत्यसत्ता, मेलमिलापको जय!
(७ डिसेम्बर २०१९)
यी अभिव्यक्तिहरुले दमन ढुङ्गानामा सुषुप्त रहेको कवि भावना प्रतिविम्बित गर्दछन्। कतै अन्त्यानुप्रासको सौन्दर्य, कतै व्यङ्ग्य, कतै देशको समसामयिक सामाजिक एवम् राजनीतिको अवस्था यिनमा प्रतिध्वनित भएको सहजै अनुभूत गर्न सकिन्छ।
यस्ता देशका सपुत, साहित्यका मर्मज्ञ र राष्ट्रवादी गीतकार दमन ढुङ्गानामा श्रद्धा सुमन !
भर्जिनिया, अमेरिका।
प्रतिक्रिया 4