+
+
अनुभूति :

पत्रकारको दुःख

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८१ मंसिर १ गते १७:१०

अब त घरहरूमा पिंढी छैनन्, बरण्डा पनि देखिंदैनन् । आधुनिकताको नाममा कंक्रिटको शहर थपिंदै गएपछि हाम्रा नेपाली कला क्रमशः हराउँदै गएका छन् । विभिन्न आकृति कुँदिएका झ्याल–ढोका, फल्याक, खर र ढुंगाले छाएका घर, कमेरो र रातो माटोले लिपेका आँगन… यी सबै सम्झनामा मात्र रहेका छन् । हामीले परम्परागत कलाकृतिलाई आधुनिक प्रविधिमा फ्युजन गर्नै सकेनौं ।

खासमा मलाई यतिबेला पिंढीमा बसेर टोलाउन मन छ । बरण्डामा उभिएर पुर्खाको कलाकृतिको स्पर्श र क्षितिज पारिका प्राकृतिक सुन्दरता नियाल्दै मनमा गुजुल्टिएको अजङ्गको पीडा भुलाउन मन छ । त्यसैले म बाल्यकालमा पिंढीमा रमाउँदै चुङ्गी र भलचौरी हानेको तर्कनामा हराउन खोजिरहेको छु । बरण्डामा झुण्डिएर लुकामारी खेलेको सुखद् स्मृतिमा हराउन खोजिरहेको छु ।

पत्रकारितामा रमाएको ३० वर्ष नाघ्यो । सँगै पढेका धेरै साथी सरकारी जागिरबाट रिटायर्ड भए । गाउँबाट शहर र शहरबाट राजधानी उक्लिए । घर बनाए, खेतबारी जोडे अनि कतिले राम्रै व्यवसाय पनि गरे । पत्रकारिताबाट मुलुक परिवर्तनमा सहयोग पुर्‍याउने भनेर लाग्ने म भने रिपोर्टिङमै जान पनि अरूको मुख ताक्नुपर्ने बाध्यतामा छु ।

आमाले छोडेर जानुभएको एउटा घर पनि ऋणको बोझमा थिचिएर धर्मराइरहेको छ । आमाको निशानी मेरो घरले विनाशकारी भूकम्पका ठूला दुई झट्का खप्यो तर ऋणको बोझलाई खप्न मुश्किल मान्दैछ । कहिलेकाहीं मनमा विस्मात्को ज्वारभाटा निस्कन्छ । ऋणको बोझ खेप्न सकिएन भने आमाको निशानी र स्नेहको आश्रयले मलाई कति द्रवित गरिदिन्छ होला !

पत्रकारिताको पीडामा समस्याको शिखर उक्लने म एउटा प्रतिनिधि पात्र हुँ । म जस्ता धेरै पत्रकार छन् जसको हविगत मेरोभन्दा कम छैन । उद्देश्य समान, समस्या समान र पीडा समान भएका धेरै पत्रकार छौं । तर दोष कसलाई दिने ? आरोपको गुन्टा अरूको काखमा मिल्काएर हाइसञ्चो मान्ने चरित्र पत्रकारको हैन । कसैको चरित्र त्यस्तै छ भने ‘पत्रुकार’ भनेर लाग्ने आरोपको प्रतिवाद गर्न सकिन्न । तर नेपालको ग्रामीण भेग (मोफसल)मा बसेर पत्रकारिता गर्ने पत्रकारहरूलाई पत्रुकार भनेर गाली गर्नु भनेको चाहिं यो पेशाको समस्या र पीडा बुझ्न नसक्नुको परिणाम हो भन्दछु म । किनभने मोफसलमा पत्रकारिता गर्दाको पीडा ३० वर्षभन्दा बढी समयदेखि मैले प्रत्यक्ष भोगिरहेको छु । मोफसलका अधिकांश पत्रकारले मेरो जस्तै पीडा भोगेका छन् ।

इमान हराएको अहिलेको समाजमा पत्रकारको बाध्यतालाई अनुग्रहको मल्हम लगाउँदै स्वार्थको चक्रव्यूहमा धकेल्ने कथित उपल्लो दर्जाका मानिसहरू नै टिकिरहेका छन् र जताततै बिकिरहेका छन्

पत्रकारिता पेशालाई खुशीको पगरी मानेर टाउकोको बोझको पर्वाह नगरी अहोरात्र अक्षरको खेती गर्नु पो अपराध थियो कि ! कहिलेकाहीं कहाली लाग्छ भविष्य सम्झिएर । अनि रिपोर्टिङका क्रममा देखे/भोगेका समाजका चित्रले आफ्नो चरित्रलाई धैर्य गर्न हौसला पनि दिन्छ । पीडा त प्रकृति र हरेक प्राणीले भोगेकै छन् नि ! मानिसका आफ्नै दुःख छन्, जलवायु परिवर्तनले प्रकृतिलाई छुट्टै तनाव दिएको छ, पशुपक्षी र जनावरहरूको समस्या छुट्टै छ, किसानको अलाप अर्कै छ ।

फेरि अरूको पीडा पस्केर समाधान खोज्ने पत्रकार नै यति चाँडो हतोत्साही बन्न मिल्छ र ? मन बुझाउने बहाना बनिदिन्छ समाज ।

समाजमा साँच्चै समस्या छ, पीडा छ, कोलाहल र कलह छ । अलिअलि खुशी र उत्साह पनि छ । तर समाजको यथार्थ चित्र बाहिर आउन सकेको छैन । राजनीतिक द्वन्द्व, सरकारको कार्यशैली, जनप्रतिनिधिको भूमिका, कर्मचारीको दायित्व, नागरिकको सहकार्य र सहयोग केही कुरा बाहिर आउँदैन । धेरथोर बाहिर आएका कुरामा पनि सत्यता कति हो भन्ने मापन विधि विश्वास भन्दा अरू देखिंदैन । किनभने मिडियामा आउने त्यस्ता अधिकांश खबर आग्रह र अनुग्रह प्रेरित हुने गरेका छन् । समाजको खुशी र उत्साह भन्दा तिकडम, आरोप–प्रत्यारोप, समस्या, गुनासा र अनावश्यक गनगनका अक्षर खेतीले पत्रकारलाई बोधो बनाइरहेको छ । पत्रकारलाई पत्रुकार बनाइरहेको छ ।

हाम्रो समाजको चरित्र पनि त्यस्तै छ । समाजले वास्तविकता खोज्दैन, पक्षधरता रुचाउँछ । एउटा पक्षलाई गाली गर्दा अर्को पक्षले हाई–हाई गर्ने र सन्तुलित सामाजिक यथार्थता दर्साउँदा सबैले वाई–वाई गर्ने परिस्थिति छ । सकारात्मक र सन्तुलित लेखाइमा तगडा पत्रकार बनिंदैन । तथ्य विनै कसैको चरित्रहत्या हुने, आक्रोश उत्पन्न हुने र अल्पिल्टो सूचना दिने समाचारमा दम देख्छन् समाजका उपल्लो दर्जाको नागरिक ठान्नेहरू । अनि यस्तै समाचार पस्कने पत्रकारलाई ‘खतरा’ ठानिन्छ । अर्थात् पत्रुकारलाई नै पत्रकार मान्न अभ्यस्त छन् समाजका अधिकांश बौद्धिक वर्ग ।

बेफ्वाँकको स्कूप मार्ने पत्रकारले राजधानी कब्जा गर्ने अवस्था बन्छ । तथ्य खोजेर घरखेत डुबाउँदै स्रोतको पछि दौडने पत्रकारहरू सामाजिक गिन्तीमा दोस्रो दर्जाको नागरिक ठानिन्छ । यो दुर्भाग्य बेहोर्नेमा मोफसलका पत्रकारहरूको गिन्ती बढी हुन्छ । जसलाई पत्रुकार भनेर गाली गर्छन् उसैको पाउ पुजनमा अभ्यस्त बन्छन् समाजको एउटा वर्ग ।

यो तथ्य हो । पत्रकारिताको लामो संलग्नतामा म र म जस्ता अरू धेरै पत्रकारले यो तथ्यसँग पटक–पटक लड्नु परेको छ । म हरेक विषयमा सत्य खोज्न स्थलगत जान रुचाउँछु । धेरै स्रोत र पीडक–पीडितसँग साक्षात्कार गर्न चाहन्छु । तर म सधैं, सबै अवस्थामा त्यसो गर्न असमर्थ हुन्छु । किनभने आर्थिक रूपमा मसँग त्यो सामथ्र्य हुदैन, छैन । अनि समाजलाई सूचना दिन टालटुले रिपोर्टिङमै समाचार लेख्न बाध्य हुनैपर्छ ।

कतै स्थलगत नै जाँदा पनि सरकारी, गैरसरकारी तथा व्यक्तिगत सहयोग खोज्नुपर्ने बाध्यतामा हामी छौं । विगतमा कतिपय इस्युहरूमा स्थलगत जाँदा हामी केही पत्रकार मिलेर गाडीभाडा र खानाको व्यवस्थापन समेत गर्‍यौं । समयक्रममा पत्रकारहरूको यो सहकार्य पनि टुट्दै गएको छ । यसरी सहकार्यको संस्कृति टुट्दै जानुमा अलिअलि साथीहरूको स्वार्थ, अलिअलि आर्थिक अभावको बाध्यता र अलिअलि अल्छीपनले काम गरेको हुनुपर्छ । वा, कतै हामी पनि इमानलाई बन्धक बनाएर पत्रुकारको लाइनमा सामेल हुदैछौं कि !

पत्रकारको विषयमा मिडिया उद्योगहरूले राज्यसँग केही सहमति गरेका होलान् तर त्यो कार्यान्वयन गर्दैनन् । अनि सरकारले पनि त्यसको अनुगमन गर्दैन । राज्यको ध्यान पत्रकारको दुःखमा हैन, समाचारको विषयवस्तुमा मात्र केन्द्रित हुन्छ । कुन मिडिया वा कुन पत्रकारले सरकारको पक्षमा लेखेको छ, उसलाई सहयोग गर्ने, अरूलाई पाउने सहयोग पनि कटौती गरिदिने

मैले अनुुभव गरेको छु, जतिबेला हामी दोलखाली पत्रकार साथीहरू मिलेर व्यवस्थापन खर्च उठाउँदै समाचार स्रोतको खोजीमा गाउँ–गाउँमा स्थलगत जाने गथ्र्यौं समाचारमा दम थियो । कसैको आग्रह–पूर्वाग्रहमा नतमस्तक हुनुपर्ने अवस्था थिएन । नेता, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, सर्वसाधारण नागरिक सबैले पत्रकारको सम्मान गर्थे । विश्वास गर्थे । पत्रकारको लिडरले यो हुन्न भनेपछि सबै पत्रकारले त्यो विषय वा व्यक्तिलाई बहिष्कार गर्थे । अब त एउटाको कुरामा अर्कोले अत्तो थाप्ने र आफूभन्दा अग्रजलाई खुइल्याएर मजा लिने झुण्ड हावी हुन थालेको छ पत्रकारितामा । किनभने अहिले पत्रकारिता क्षेत्रमा निगाहको पल्ला भारी हुँदै गएको छ ।

जब हामी निगाहको चक्रव्यूहमै रमाउन थाल्यौं अनि हाम्रा समाचारहरू फितलो हुनथाले । अग्रजको सम्मान र मिहिनेती सक्रियता स्खलित हुँदै गए । अब त अवस्था यस्तो बनिसकेको छ, न हामी चक्रव्यूह तोडेर बाहिर निस्कन सक्छौं, न चक्रव्यूहमै ज्यान गए जाओस् भनेर मुकाविला गर्न सक्छौं । यस्तो अवस्थामा हामीप्रतिको सम्मान र विश्वास गुम्दै जानु स्वाभाविक छ । ‘भाइ फुटे, गवार लुटे’ भने झैं निगाहले थलिएको हाम्रो एकता संस्कृति खण्डित हुँदै गएपछि अरूले सम्मान र विश्वास गर्ने अपेक्षा कहाँ पूरा हुन सक्छ र !

पत्रकारिताको लामो अनुभवमा कसैले मलाई यो लेख वा यो नलेख भनेर व्यक्तिगत रूपमा धम्क्याएको, फकाएको वा लोभ्याएको महसुस त भएन तर समाचारको स्रोत पहिल्याउन सहकार्य छोडेर सहयोगको पछि दौडन थालेपछि मानसिक रूपमा गलेको महसुस भने पक्कै भएको छ । र, मलाई लाग्छ इमानलाई लक्ष्य ठाने पनि बाध्यतामा लतारिएका सबै पत्रकारहरूले आफूलाई गलेको महसुस गरेको हुनुपर्छ ।

तर यो दुःखलाई कसरी विसर्जन गर्ने ? ३० वर्षभन्दा बढी समयदेखि अल्झिएको यो पेशाबाट अलग हुने मन नै छैन । अनि यही पेशामा टिकिरहन कसैको अनुग्रहमा नलतारिई सुखै छैन । पेशाको माया र बाध्यताको दोसाँधमा कसैको अनुग्रहले काँधमा बुर्कुसी मारेको पत्तै हुँदैन पत्रकारहरूलाई ।

इमान हराएको अहिलेको समाजमा पत्रकारको बाध्यतालाई अनुग्रहको मल्हम लगाउँदै स्वार्थको चक्रव्यूहमा धकेल्ने कथित उपल्लो दर्जाका मानिसहरू नै टिकिरहेका छन् र जताततै बिकिरहेका छन् ।

राज्यले पत्रकारितालाई चौथो अंग ठान्छ । व्यवहारमा भने सरकारको सदासयता देखिंदैन । पत्रकारको विषयमा मिडिया उद्योगहरूले राज्यसँग केही सहमति गरेका होलान् तर त्यो कार्यान्वयन गर्दैनन् । अनि सरकारले पनि त्यसको अनुगमन गर्दैन । राज्यको ध्यान पत्रकारको दुःखमा हैन, समाचारको विषयवस्तुमा मात्र केन्द्रित हुन्छ । कुन मिडिया वा कुन पत्रकारले सरकारको पक्षमा लेखेको छ, उसलाई सहयोग गर्ने, अरूलाई पाउने सहयोग पनि कटौती गरिदिने ।

नत्र, सरकारले मिडिया उद्योगलाई सहयोग गर्ने र मिडिया उद्योगले आफ्ना रिपोर्टरहरूलाई आवश्यक सुविधा दिने हो भने सक्रिय पत्रकारहरू निगाहको चक्रव्यूहमा अलमलिनुपर्ने आवश्यकतै हुदैनथ्यो । तर, यो कुरा त ‘मनको लड्डु घिउसँग’ भन्ने नेपाली उखान जस्तै लाग्छ ।

समाजको यही परिवेश र चेतनाले त पत्रकारको दुःख पक्कै हट्दैन । चिन्ता यति हो ऋणको पीडादायी त्रासमा कहिलेसम्म यो पेशामा टिकिरहन सकिएला !

२०८१ कात्तिक १४ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?