+
+

पहराको ढुंगामा बुद्ध मूर्ति : नेपाली ललितकलाको ऐतिहासिक काम

मञ्जुल सहित ६ नेपाली मूर्तिकारले जापानको एउटा पहरामा भगवान् गौतम बुद्ध कुँदिसकेका छन् । ८ वर्षदेखि जापानी पहरामा मूर्ति कुँदिरहेका मञ्जुल भन्छन्, ‘यहाँको प्रतिष्ठानले दिएको सबै जिम्मेवारी पूरा गर्न हाम्रो टोलीलाई अझै ७ वर्ष लाग्छ ।’

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०८१ मंसिर १ गते १५:५२

१ मंसिर, टोकियो । मोरङ उर्लाबारीका मञ्जुल मितेरी (बराइली) ले कक्षा–६ मा पढ्दा राष्ट्रिय विभूति अरनिकोको जीवनी पढे । अरनिकोले चीनमा गएर धेरै देवी–देवताका मूर्ति बनाएको विषयले उनलाई प्रभावित पार्‍यो ।

त्यही बेलादेखि उनी ढुङ्गामा मान्छेको आकृति कुँद्न थाले । अरनिकोको जीवनी पढ्दा उनी अरनिको जस्तै बन्ने सपना बुन्थे । आज उनै मञ्जुलको सपना केही हदसम्म पूरा हुँदैछ । मञ्जुल सन् २०१६ देखि जापानको क्युसु क्षेत्रस्थित कुमामोतो केनको खामीआमाकुसाको पहरामा भगवान् गौतम बुद्ध, मञ्जुश्री सहितको जापानी र चिनियाँ शैलीमा विभिन्न मूर्ति कुँदिरहेका छन् ।

मञ्जुल सहित ६ जना नेपाली मूर्तिकारको टोली अहिले जापानमा मूर्ति बनाउन सक्रिय छ । टोलीमा चतुरलाल राजवंशी, जीवन पौडेल, गणेशकुमार राई, रामकुमार राई र सुवास विश्वकर्मा छन् । जापानको ओसिमा सेकी बुचुयामा प्रतिष्ठान मार्फत यो नेपाली टोली मूर्ति निर्माणको काम गरिरहेको छ ।

विगत ८ वर्षदेखि जापानको खामीआमाकुसाको पहरामा मूर्ति कुँदिरहेका मञ्जुल भन्छन्, ‘यहाँको प्रतिष्ठानले दिएको जिम्मेवारी पूरा गर्न हाम्रो टोलीलाई थप ७ वर्ष लाग्छ ।’ मञ्जुलको टोलीले पहराको ढुङ्गामा बुद्धको मूर्ति निर्माण सम्पन्न गरिसकेको छ । उक्त मूर्ति ६५ फिट अग्लो छ ।

‘बुद्धको मूर्ति निर्माण सम्पन्न भए पनि सोही क्षेत्रमा अन्य मूर्ति निर्माणको काम भइरहेकाले पर्यटकका लागि भने यो क्षेत्र खुल्ला गरिएको छैन ।’ कहिलेकाहीं अग्रिम अनुमति लिएर विभिन्न क्षेत्रका व्यक्तिहरू नेपाली कला हेर्न हाम्रो कर्म क्षेत्रमा आउनुहुन्छ’, मञ्जुलले भने ।

प्रतिष्ठानले मञ्जुल मितेरी सहितको टोलीलाई जिम्मेवारी थप गरिरहेको छ । प्रतिष्ठानले गत महिना मात्रै खामीआमाकुसा क्षेत्रमा जापानमा नै सबैभन्दा ठूलो (५१ मिटरको) निर्वाणा बुद्ध (सुतेको बुद्ध)को मूर्ति नेपाली मूर्तिकारबाट नै बनाउने सम्झौता गरेको छ । जापानिज प्रतिष्ठान नेपाली मूर्तिकारको कलादेखि प्रभावित बनेको छ । ‘हाम्रो काम देखेर नै प्रतिष्ठानले थप जिम्मेवारी प्रदान गरेको हो’, मितेरी भन्छन् ।

नेपाली मूर्तिकारको जापानसम्मको यात्रा

तत्कालीन समयमा जापानमा अध्ययनरत चितवनका दिलीप लामिछानेको सम्पर्क मार्फत नेपाली मूर्तिकारको टोली जापान आइपुगेको हो । लामिछाने मार्फत ओसिमा सेकी बुचु प्रतिष्ठानले मञ्जुललाई मूर्ति निर्माणका लागि जापान आउन निमन्त्रणा गरेको थियो ।

प्रतिष्ठानले एक दशक अघिबाट खामीआमाकुसाको पहरामा मूर्ति बनाउन मूर्तिकार खोजिरहेको थियो । प्रतिष्ठानका लगानीकर्ता रहेका जापानी नागरिक ओसिमा शिजुकीलाई पनि भगवान् गौतम बुद्धकै जन्मभूमिबाट मूर्तिकार ल्याएर मूर्ति निर्माण गर्ने मन थियो ।

मूर्ति निमार्णका लागि जापान आउने प्रस्ताव आएसँगै नेपाली ललितकलाको महिमा विश्वलाई देखाउन पाउने कुराले आफूलाई थप उमंग थपेको मञ्जुल सुनाउँछन् । ‘मूर्ति बनाउने काम सहज छैन । घण्टौं चट्टान फोड्नुपर्ने हुन्छ, धुलोले स्वास्थ्यमा असर पार्छ, मेसिनको आवाजसँगै काम गर्नु जोखिमपूर्ण छ’ मञ्जुलले अनलाइनखबरसँग भने, ‘तर पनि बहादुर नेपालीको कला विश्वका नागरिकले हेर्न पाउँछन् भनेर यी सबै जोखिम बिर्सेर काम गरिरहेका छौं । समग्र नेपाली ललितकलाका लागि यो एक ऐतिहासिक काम हो ।’

कला देशका लागि समर्पण गर्ने सपना

मोरङको मिक्लाजुङ गाउँपालिकाको सामान्य परिवारमा जन्मिएका मञ्जुललाई ललितकलामा नै औपचारिक अध्ययन गर्ने रहर थियो । तर, रहरको अगाडि आर्थिक अवस्था बाधक बनेको उनी सुनाउँछन् । औपचारिक अध्ययन गर्न नपाए पनि मञ्जुलले यस क्षेत्रलाई आफ्नो व्यवसाय भने बनाएरै छाडे । उनले २०५८ सालमा मोरङकै उर्लाबारीमा मञ्जुल मूर्तिकला केन्द्र सञ्चालनमा ल्याए । ‘सम्भवतः पूर्वमा दर्ता गरेर मूर्तिकला व्यवसाय सञ्चालनमा ल्याउने म नै पहिलो व्यक्ति होला’, मञ्जुलले भने ।

‘त्यसबेला व्यावसायिक रूपमा मूर्तिकला व्यवसाय सञ्चालन गर्न बहुत गाह्रो थियो’ मञ्जुल सम्झन्छन्, ‘चोक, पार्कमा राख्ने मूर्ति लिन मानिसहरू काठमाडौंदेखि भारतसम्म पुग्थे ।’ व्यवसाय सुरु गरेको ६ वर्ष पछि मात्र मूर्तिको अर्डर आउन थाल्यो र अन्ततः व्यावसायिक रूप दिन सफल भएको उनको भनाइ छ ।

काठमाडौंको रामकोट डाँडामा रहेको मूर्ति, ताप्लेजुङको घुन्सामा भएको हवाई दुर्घटनामा ज्यान गुमाउने तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई सहित टोलीको शालिक मञ्जुलले नै बनाएका हुन् । जसलाई ताप्लेजुङको भिन्तुना डाँडामा राखिएको छ ।

मूर्तिकार मञ्जुलको अनौठो सपना छ । उनी आफ्नो कला देशका लागि समर्पण गर्न चाहन्छन् । जस अनुरुप मञ्जुलले विश्वप्रसिद्ध व्यक्तिका हजार वटा मूर्ति बनाएर सरकारलाई हस्तान्तरण गर्ने घोषणा गरिसकेका छन् ।

‘सरकारका लागि अहिलेसम्म १३८ वटा मूर्ति निर्माण गरिसकेको छु । मैले १० वर्षअघि उक्त घोषणा गरेको थिएँ । बीचमा जापान आउनुपर्ने भयो । समय–समयमा नेपाल गएको बेला यो कामलाई निरन्तरता दिंदै आएको छु’ मितेरी भन्छन्, ‘यस कामका लागि मेरी श्रीमतीले पनि सहयोग गरिरहेकी छन् । म अहिले जापानमा व्यस्त भए पनि मेरो घोषणालाई सफल बनाउनका लागि नेपालमा ढुङ्गा संकलन गर्ने, ताछ्ने काम श्रीमतीले गर्दै आएकी छन् ।’

मञ्जुलले मोरङ मिक्लाजुङकै कौशिला राईसँग २०५७ सालमा प्रेमविवाह गरेका थिए । विवाह पछि मञ्जुलकै व्यवसायमा साथ दिएकी कौशिला अहिले आफैं मूर्तिकार बनिसकेकी छिन् । मोरङको उर्लाबारीमा रहेको मञ्जुल मूर्तिकला केन्द्रलाई कौशिलाले व्यावसायिक रूपमा सञ्चालन गर्दै आएकी छन् ।

व्यवसायमा उनले २३ वर्षीय छोरा प्रतीक मञ्जुल बराइलीको साथ पनि पाएका छन् । ‘अहिले त छोरो पनि मूर्ति बनाउन थालेको छ । यही व्यवसाय अँगालेको छ’, मञ्जुल भन्छन् ।

 

लेखकको बारेमा
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?